Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मानसिक बिरामीको उपचार गर्दै पुरुष नर्सहरू

हाम्रो कोशी आवाज
भाद्र ५ २०८१, बुधबार
मानसिक बिरामीको उपचार गर्दै पुरुष नर्सहरू

-गणेश लम्साल
विराटनगरः मोरङको बुढीगंगा २ स्थित विराट मेडकल कलेज शिक्षण अस्पतालको मानसिक विभागमा दैनिक ३० जना बिरामी उपचारका लागि भर्ना हुन्छन् । ती बिरामीहरुलाई सेवा गर्र्ने त्यहाँ महिला नभएर सबै पुरुष नर्सहरु छन् । उनीहरु नझर्की, धैर्यपूर्वक, शान्त, नम्र बोलीले भर्ना भएका बिरामीको उपचार सेवामा सहयोग गर्ने गर्दछन् । उनीहरु दैनिक साँझ बिरामी मात्र नभएर आकस्मिकरुपमा अबेर राति पनि बिरामीको नियमित जाँच गर्ने, समयमा औषधि खुवाउने, रगत तान्ने, हिस्ट्री लिने, रेकर्ड राख्नेदेखि, इसिजी गर्ने र शौच गरेको नगरेको विभिन्न जाँचहरू पठाउने र रिर्पोट अभिलेखीकरण गरेर राख्नेदेखि डाक्टरहरूलाई बिरामीको अवस्था ब्रिफिङ गर्नेदेखि बिरामी र उनीहरूका कुरुवालाई काउन्सिलिङ गर्ने काम जिम्मेवारीपूर्वक गर्ने गर्दछन् । यति मात्र नभएर कति सिकिस्त बिरामीहरूलाई दिशा–पिसाब गराउन शौचालय लानेदेखि लुगा फेरिदिने मात्र नभएर औषधि नखाने बिरामीहरू कसैलाई फकाएर त कसैलाई चूर्ण बनाएर औषधि खुवाउने काम पनि गर्ने गर्छन् । बिरामीको प्रभावकारी सेवा गरेकै कारण विराट अस्पतालको मानसिक विभागमा आजकल महिला नर्सहरू छैनन् । त्यहाँ सबै काम स्वास्थ्य सहायक पढेका तालिम प्राप्त पुरुष नर्सहरूले नै सेवा दिइरहेका छन् ।
उसैपनि नर्स भएर बिरामीको सेवा गर्नु सजिलो काम भने होइन । यसका लागि शिक्षाको डिग्री र मात्र भएर पुग्दैन । नर्स हुनका लागि मृदृभाषी, लगनशील र जिम्मेवार पनि हुनुपर्छ । अझ मानसिक बिरामीहरुको सेवा गर्ने काम कष्टकर र जोखिमपूर्ण हुन्छ । उपचार गर्न भर्नाका भएका बिरामीहरू कोही मानसिकरूपले विक्षिप्त भएका हुन्छन् भने कोही चिच्याउने, कराउने, होल्हल्ला गर्ने कुटपिट गर्ने खालका पनि हुन्छन् । प्रायःले आफूलाई बिरामी मान्दैनन् र औषधि र खाना पनि पनि खान चाहँदैनन् झगडा गर्छन् । कतिपय त अस्पतालबाट भागेर पनि जान्छन् ।
बिरामी जाँचेर औषधि लेख्ने दक्षता हासिल गरेपनि आफूहरू थप अनुभव हासिल गरेर दक्ष स्वाथ्यकर्मी बन्नका लागि जोखिम मोलेर भएपन नर्स भएर विरामीको उपचार गर्न लागिपरेको विराट अस्पतालमा मानसिक विभागमा कार्यरत नर्स निरजकुमार देव बताउँछन् । निरज जस्तै तीन वर्षे स्वास्थ्य सहायक (एचए) कोर्ष गरेर तालिम लिएका विजय राजवंशी, मनोज मेहता, प्रशासन्त ठाकुर नितेशकुमार मेहता र सिकन्दर यादवहरू पुरुष नर्स बनेर मानसिक रोगीहरुको निरन्तर सेवा गरिरहेका छन् । ‘हामीहरु पुरुष मात्र नभएर अशक्त महिला बालबालिका र जेष्ठ नागरिक सबै अशक्त बिरामीहरूलाई कुनै भेदभाव नगरी कडा र जटिल खाले सबै बिरामीहरूको झर्को नमानी सेवा गर्छौ’, मानसिक विभागमा दुई वर्षदेखि नर्स भएर बिरामीको सेवा गर्दैै आएका नर्स मनोज मेहता बताउँछन् । सन्तुष्ट हुनेगरी सेवा गरेकै कारण आजसम्म कोही पनि बिरामी र कुरुवाहरूले असन्तुष्टि नजनाएको बरु सबैले प्रशंसा नै गरेको उनी बताउँछन् ।
कार्यरत नर्स प्रशान्त ठाकुरका अनुसार मानसिक वार्डमा उपचार गराउन आएका कति बिरामीहरु होस नै नभएका पनि हुन्छन् भने कति चाहिँ कुटपिट गर्ने र आफूमाथि हिंस्रक व्यवहार गर्नेहरु पनि हुन्छन् । कतिपयले मौका खोजेर आफूलाई घात गर्नेदेखि आत्महत्या गर्नेसम्मको प्रयास पनि गर्दछन् । यसैले सेवामा खटिएका नर्सहरूले चौबिसै घण्टा सर्तक हुनुपर्दछ । आफूहरुको सजगता र धैर्यताकै कारण आजसम्म कुनै अप्रिय घटना हुनपाएको र बरु उपचारमा आएका बिरामीहरू पनि निको भएर अस्पतालबाट डिस्चार्ज भएको नर्स सिकेन्द्र यादव बताउँछन् ।
मानसिक विभागमा भर्ना भएका बिरामीको सेवामा स्वास्थ्य सहायक पढेका पुरुषहरूले पनि महिला नर्सहरुले भन्दा प्रभावकारी सेवा दिइरहेकोले उपचार सेवा प्रभावकारी बनाउन भरपर्दो सहयोग पुगिरेहको मानसिक विभागका रेसिडेन्सियल इन्चार्ज डाक्टर शीर्षकदीप श्रेष्ठ बताउँछन् ।

प्रकाशित मिति: भाद्र ५ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend