Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तीब्र गतिले लियो तीनजनाको ज्यान

हाम्रो कोशी आवाज
कार्तिक १२ २०८३, बिहिबार
तीब्र गतिले लियो तीनजनाको ज्यान

धरानः कोशी प्रदेशका तीन जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
उदयपुरको बेलका नगरपालिका–९ झण्डा चोकमा बोलेरोको ठक्करबाट स्थानीय ५६ वर्षीया लक्ष्मीमाया राईको मृत्यु भएको छ । रामपुरबाट चतरातर्फ जाँदै गरेको प्रदेश १–०५–००१ ज ००२२ नम्बरको बोलेरोले बुधबार बिहान उनलाई ठक्कर दिएको थियो ।
ठक्कर दिएर चालक फरार भएका थिए । घाइते राईलाई रामपुरस्थित नगर अस्पतालमा सामान्य उपचार गराइएको थियो । त्यसपछि छोरी वर्षा राईले थप उपचारका लागि उनलाई मोरङको विराट टिचिङ अस्पताल लगेकी थिइन् । गम्भीर घाइते राईको उपचारका क्रममा बिहान ८ः०९ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि फरार भएका चालकले बोलेरो बेलका नगरपालिका–८ को लेम्लेमा लुकाएर राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो । भोजपुरको आमचोक गाउँपालिका–१ वासिङ घर भएका चालक ३७ वर्षीय प्रेम विश्वकर्मा इलाका प्रहरी कार्यालय इटहरीको सम्पर्कमा आएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनलाई बुधबार साँझ ७ः०५ बजेतिर इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला पुर्‍याइएको प्रहरीले जनाएको छ ।
विराटनगर महानगरपालिका–१० मा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालक २४ वर्षीय अंकित पोखरेलको मृत्यु भएको छ । बिहीबार बिहानका राति निर्मल जलबाट जतुवातर्फ जाँदै गरेको प्रदेश १–०४–००१ प ३३७७ नम्बरको पल्सर मोटरसाइकल दुर्घटनामा परेको थियो ।
टाउको र नाकमा चोट लागेका पोखरेललाई विराट नर्सिङ होम पुर्‍याइएको थियो । उपचारका क्रममा बिहानका राति १ः१० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । प्रारम्भिक अनुसन्धानबाट तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएको देखिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, झापाको दमक नगरपालिका–५ स्थित बजाज सोरुमअगाडि पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालक ५३–५४ वर्षीय मंगलप्रसाद साउदेनको मृत्यु भएको छ । पाँचथरको मेमेङ घर भई हाल मोरङको लेटाङ नगरपालिका–८ बस्दै आएका साउदेनलाई लेटाङबाट दमकतर्फ जाँदै गर्दा पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश १–०१–००१ ख ४२९२ नम्बरको बसले ठक्कर दिएको थियो ।
प्रदेश १–०२–०५३ प ७४३९ नम्बरको मोटरसाइकलमा सवार साउदेन छातीमा चोट लागेर घाइते भएका थिए । दमकस्थित निम्स अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि मोरङ रेफर गरिएको थियो । आफन्तले विराट टिचिङ अस्पताल पुर्‍याएका उनलाई उपचारकै क्रममा साँझ ६ः५५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाका बारेमा अस्पतालले राति १० बजेतिर इलाका प्रहरी कार्यालय दमकलाई जानकारी गराएको थियो ।
तीनवटै घटना सवारीसाधनको तीव्र गतिका कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: कार्तिक १२ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend