धरानः धरानमा हवाई फायर गरी गाँजासहित पक्राउ गरिएको छ । पक्राउ गर्ने क्रममा गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरी नियन्त्रणमा लिइएको हो । गाँजा बोकेर भाग्न लाग्दा सानो पेस्तोलबाट दुई राउण्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धरानबाट साधा पोशाकमा खटिएको प्रहरी हवल्दार हेमराज सुवेदीको प्रहरी टोलीले ८ पोका गाँजा लोड गरिरहेको अवस्थामा फेला पारेको थियो ।
धरान उपमहानगरपालिका २० चिहानडाँडामा दुईवटा स्कारपियो गाडीमा गाँजा लोड गर्दै गरेका पाँचजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
सोमबार बिहान करिब ३ बजे बा१च ५०३८ र को१च ८१८२ नम्बरका स्कारपियो गाडीमा गाँजा लोड भइरहेको भन्ने गोप्य सूचनाका आधारमा सो गाडीमा ८ वटा पोकामा राखिएको करिब २ सय १० किलो गाँजा लोड गरिरहेको अवस्थामा फेला परेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
पक्राउ पर्नेमा बा१च ५०३८ नम्बरको स्कारपियो गाडीका चालक सप्तरी डाक्नेश्वरी नगरपालिका–१० बस्ने २४ वर्षीय रामसागर कुमार यादव जिल्ला सप्तरी, राजगढ गाउँपालिका–१ बस्ने ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल र भारत, बिहार प्रान्त, मधुवनी जिल्ला बस्ने ३८ वर्षीय सन्तोष ठाकुर रहेका छन् । त्यस्तै, जिल्ला सप्तरी, छिन्नमस्ता गाउँपालिका–६ बस्ने वर्ष ५९ का राजकुमार शाह (को.१ च ८१८२ का चालक) र जिल्ला सुनसरी, धरान उपमहानगरपालिका–११ बस्ने वर्ष २१ का अमृत बिशुङखेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । गाँजा तस्करीमा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा कारोबारको सञ्जालबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।