धरानः २०८२ फागुन २१ गतेको निर्वाचनबाट देशभरमा पाँचौं र कोशी प्रदेशमा दोस्रो ठूलो दलको रुपमा उदाएको श्रम संस्कृति पार्टी (श्रसपा)ले स्थानीय तह निर्वाचन लक्षित अभियानलाई तीब्र बनाएको छ ।
फागुन २१ को निर्वाचनमा कोशी प्रदेशमा मात्रै २ लाख ९२ हजार ४९ मत प्राप्त गर्दै सो पार्टीले पूर्वी नेपालमा आफ्नो बलियो राजनीतिक जग स्थापित गरेको थियो । सो पार्टीले सुनसरीको १, खोटाङ र भोजपुरमा प्रत्यक्ष निर्वाचन नै जितेको थियो ।
पार्टी अध्यक्ष हर्क साम्पाङको श्रम संस्कृति एजेन्डालाई अनुमोदन गर्दै कोशीका मतदाताले परम्परागत काँग्रेस, एमाले र नेकपाको शक्ति सन्तुलनलाई भत्काइदिएका थिए । अरु पार्टीहरु सुस्त बनिरहँदा पुनः सो पार्टी भने आगामी वैशाखसम्ममा हुनसक्ने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै तीव्र अभियान चलाइरहेको छ । फागुन २१ मा कोशीमा पनि पहिलो पार्टी बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई टक्कर दिनेगरी तयारी गरिरहेको सो पार्टीले जनाएको छ ।
असोज ४ गतेदेखि सुरु भएको ‘केचनादेखि सगरमाथासम्म हातेमालो तथा पार्टी विस्तार अभियान’मार्फत पार्टीले एक लाखभन्दा बढी नागरिकसँग प्रत्यक्ष संवाद गरेको छ भने एक महिनाकै अवधिमा ३ हजार ५०० भन्दा बढी विभिन्न पार्टीका कार्यकर्तालाई आफ्नो पार्टीमा भित्र्याउन सफल भएको जनाएको छ ।
पार्टीका अध्यक्ष हर्क साम्पाङको नेतृत्व र वरिष्ठ नेता सुदन किराँतीको प्रत्यक्ष कमान्डमा प्रदेशका विभिन्न जिल्लामा श्रमदान, भेटघाट, भेला तथा सभाहरू निरन्तर भइरहेका छन् । मोरङमा मात्रै फागुन २१ को निर्वाचनयता साना–ठूला गरी १ सयभन्दा बढी कार्यक्रम सम्पन्न भइसकेको सुरक्षा स्रोतले जनाएको छ ।
अभियानका क्रममा सोलुखुम्बु पुगेका श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले यो अभियान विगतका राजनीतिक दलहरूको जस्तो औपचारिक र परम्परागत नभएको स्पष्ट पारेका छन् । नेता किराँतीले अभियानको समीक्षा गर्दै भने, ‘अब यो परम्परागत ढङ्गले यो बाटो हिँडेर यता निक्लिने भन्ने प्रकारको हाम्रो अभियान होइन । यो तीन–चार महिने अभियान घोषणा गरेर आ–आफ्नो तरिका र आ–आफ्नो कमिटीले सम्बन्धित ठाउँहरूमा कामहरू गर्दै जाने, श्रमदान र हातेमालो गर्दै जाने भन्ने छ,’ उनले भने, ‘नेताहरू पनि यो बाटो हिँडेर यहाँ पुग्ने भन्दा पनि नेताहरू यहाँको ठाउँसम्म सबैतिर जाने भन्ने छ । त्योअन्तर्गत हामी हिँडिरहेका छौँ र म आज सोलुखुम्बुमा छु । तीन दिने कार्यक्रम छ सोलुखुम्बुमा, त्यो सकेर म फर्किन्छु ।’
नेता किराँतीले राजनीतिक पार्टीको अन्तिम प्रतिस्पर्धा निर्वाचनमै हुने भए पनि अहिले आफूहरू संगठन निर्माणमा केन्द्रित रहेको बताए । ‘हरेक राजनीतिक पार्टीहरू निर्वाचनमा प्रतिस्पर्धा गरेर अब्बल बन्नुपर्छ । आज हामीले गरेको काम सङ्गठनको काम हो । त्यो सङ्गठन भोलि निर्वाचन… त्यसैले अहिले हामीले निर्वाचन लक्षित भनेर भनिरहनु पर्दैन । त्यो त स्वतः त्यहाँ पुगिहाल्छ नि,’ किरातीले भने ।
कोशी प्रदेशमा श्रम संस्कृति पार्टीको जनआधार र अवस्थाबारे मूल्यांकन गर्दै नेता किराँतीले पूर्वमा पार्टीको स्थिति निकै बलियो बन्दै गएको दाबी गरे । जनतामा परम्परागत र नयाँ भनिएका दलहरूप्रति निराशा छाएको उल्लेख गर्दै उनले भने, ‘हाम्रो त राम्रै छ पूर्वमा त । पुरानो पार्टीहरूप्रति चरम अविश्वास छ, नयाँ जसले सरकार चलाइराखेका छन्, त्यहाँ भरोसा टुट्दै जाँदै छ । त्यो कारणले यसलाई राम्रोसँगले स्पष्ट गरेर लान सक्दा, अलिकति हाम्रो संरचनागत ढङ्गले हाम्रा केही कुराहरूलाई विकास गर्दाखेरि हाम्रो पार्टी त राम्रो छ पूर्वमा ।’ कोशी प्रदेशमा पार्टीलाई ‘पहिलो शक्ति’ बनाउने तयारी हो त भन्ने जिज्ञासामा किराँतीले आत्मविश्वास व्यक्त गर्दै भने, ‘फस्र्ट पार्टी त अब सबैले नै बनाऊँ भनेर लाग्छ, हामी हाम्रो राम्रै छ, हाम्रो हुन्छ ।’
श्रम संस्कृति पार्टी कोशी प्रदेशका अध्यक्ष प्रताप राईका अनुसार असोज ४ गते नेपालको सबैभन्दा होचो भूभाग झापाको केचनाकवलबाट सुरु भएको अभियान संसारकै अग्लो शिखर सगरमाथाको फेदीसम्म पुग्ने लक्ष्यका साथ अघि बढेको हो ।
राईले दिएको जानकारीअनुसार हालसम्म खोटाङ, भोजपुर, उदयपुर, धनकुटा, ताप्लेजुङ, इलाम, पाँचथर, झापा, मोरङ र सुनसरी गरी १० जिल्लाका विभिन्न पालिकामा साना–ठुला गरी ७० स्थानमा औपचारिक तथा अनौपचारिक कार्यक्रम सम्पन्न भइसकेका छन् । यस अभियानमा ३ हजार ५०० भन्दा बढी व्यक्ति विभिन्न दल परित्याग गरी पार्टी प्रवेश गरेका छन् भने १ लाखभन्दा बढी सर्वसाधारणको उपस्थिति रहेको छ । उनका अनुसार जनताले अब भाषणभन्दा काम खोजिरहेको बताए । ‘आश्वासनभन्दा परिणाम चाहिरहेका छन् । वर्षौंदेखि राजनीतिका नाममा जनतालाई सपना बाँड्ने होइन, जनताकै बीचमा रहेर पसिना बगाउने नेतृत्व खोजिरहेका छन् । श्रमदानमार्फत गाउँ–टोलमा पुगेको अभियानले श्रमको सम्मान, सामाजिक एकता, भ्रष्टाचारविरुद्धको आवाज र परिवर्तनको आशा जगाएको छ,’ उनले भने, ‘श्रम संस्कृति पार्टीको पहिचान केवल चुनाव र भाषणमा सीमित छैन । श्रम गर्ने, जनताको दुःखमा साथ दिने, प्रकृति र संस्कृतिको संरक्षण गर्ने तथा पछाडि पारिएका वर्ग र समुदायलाई अगाडि बढाउने सोचसँग जोडिएको छ ।’
श्रम अभियानको चर्चा गाउँ–गाउँमा फैलिदै गएको र जनताले यसलाई नयाँ राजनीतिक अभ्यासका रूपमा हेर्न थालेको उनले बताए ।