Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक १३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान र इटहरीका व्यवसायी फूल किन्न खेतमै पुग्छन्

हाम्रो कोशी आवाज
कार्तिक १३ २०८३, शुक्रबार
धरान र इटहरीका व्यवसायी फूल किन्न खेतमै पुग्छन्

सुनसरी : तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले पाँच कट्ठा जग्गामा सयपत्री फूलको व्यावसायिक खेती गरेका छन् । विगत पाँच वर्षदेखि तिहारका लागि फूलखेती गर्दै आएका विष्टले यस वर्ष ‘टेबल टेनिस’ जातको सयपत्री लगाएका छन् ।
गत वर्ष काठमाडौँबाट ल्याएका बिरुवा अग्ला हुने तर फूल कम फुल्ने समस्या देखिएपछि यस पटक बुटवलस्थित एग्रो कम्पनीबाट बिरुवा ल्याएर खेती गरेको उनले बताए । बिरुवाको जात र खेती गर्ने तरिका परिवर्तन गरेकाले यस वर्ष उत्पादन राम्रो भएको उनको भनाइ छ ।
गत वर्ष १० कट्ठाभन्दा बढी जग्गामा फूलखेती गरेका विष्टले वर्षाका कारण ठूलो नोक्सानी व्यहोर्नुपरेको बताए । थोरै फूल मात्रै जोगिए पनि बजारमा राम्रो मूल्य पाएकाले गत तिहारमा दुई लाख रुपैयाँभन्दा बढीको फूल बिक्री गरेको उनले जानकारी दिए ।
‘यस वर्ष गत वर्षको तुलनामा फूलको उत्पादन राम्रो भएको छ । तर तिहार नजिकिँदै गर्दा मौसममा परिवर्तन भइरहेकाले वर्षा र तीव्र हुरीबतासले पुनः खेतीमा क्षति पुर्‍याउने हो कि भन्ने चिन्ता छ’, विष्टले भने । यस पटक तिहार केही ढिला परेकाले फूलको माग तथा बिक्रीमा असर पर्न सक्ने उनको अनुमान छ ।
यस वर्ष फूल प्रतिकिलो ४०० देखि ५०० रुपैयाँसम्ममा बिक्री भइरहेको उनले जानकारी दिए । विष्टले खेतबाटै स्थानीय उपभोक्तालाई फूल बिक्री गर्दै आएका छन् । बराहक्षेत्र नगरपालिका–६, ७ र ८ का स्थानीय बासिन्दासँगै धरान र इटहरीबाट समेत ग्राहक फूल किन्न खेतमै आउने गरेका छन् । खेतमै आएर फूल खरिद गर्ने ग्राहकलाई बजारको तुलनामा प्रतिकिलो २० रुपैयाँसम्म सस्तोमा बिक्री गर्ने गरेको उनले बताए ।
भारतबाट आयात हुने फूलको समयमै क्वारेन्टाइन जाँच गरी गुणस्तर परीक्षणमा कडाइ गर्नुपर्नेमा विष्टले जोड दिएका छन् । उनका अनुसार भारतमा उत्पादित फूल करिब १५ दिनअघिदेखि नै दमक, धरान र विराटनगरलगायतका स्थानका शीतभण्डारमा ल्याएर राख्ने र पछि नेपाली बजारमा पठाउने गरिएको छ । यसरी आयातित फूल बजारमा आउँदा स्वदेशी किसानलाई आफ्नो उत्पादनको उचित मूल्य पाउन समस्या हुने गरेको उनको भनाइ छ ।
आयातित फूलको नियमन प्रभावकारी भए स्वदेशी उत्पादनले उचित बजार पाउने विष्टको विश्वास छ । स्वदेशी फूलको प्रयोग बढाउँदा किसानलाई प्रोत्साहन मिल्नुका साथै देशभित्रै रोजगारी र आयआर्जनका अवसर सिर्जना हुने तथा बेरोजगार युवालाई व्यावसायिक फूलखेतीतर्फ आकर्षित गर्न सकिने उनले बताए । -रासस

प्रकाशित मिति: कार्तिक १३ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend