Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशी ब्यारेजको विकल्पमा ४३ अर्बमा लामो पुल बन्दै

हाम्रो कोशी आवाज
कार्तिक १२ २०८३, बिहिबार
कोशी ब्यारेजको विकल्पमा ४३ अर्बमा लामो पुल बन्दै

धरानः कोशी ब्यारेजको विकल्पमा सुनसरीको राजाबासदेखि सप्तरीको कञ्चनपुरसम्म तीन किलोमिटर लामो नयाँ पुल निर्माण गर्ने तयारी तीव्र पारिएको छ ।
एसियाली विकास बैंक (एडीबी) को सहयोगमा अघि बढाउन लागिएको उक्त परियोजना कार्यान्वयनमा आए पूर्व–पश्चिम राजमार्गको यात्रा दूरी घट्ने अपेक्षा गरिएको छ । एसियाली विकास बैंकको सडक निर्देशनालयका प्रमुख वरिष्ठ इन्जिनियर चुडाराज ढकालका अनुसार नयाँ पुल तथा सडक निर्माणसम्बन्धी तयारी भइरहेको छ । केही वर्षअघि तयार पारिएको प्रतिवेदनले परियोजनाको कुल लागत करिब ४३ अर्ब रुपैयाँ अनुमान गरेको उनले बताए । ढकालका अनुसार प्रस्तावित पुल र सडक निर्माण भएपछि राजमार्गको दूरी १४ किलोमिटर घट्नेछ ।
यद्यपि, परियोजनाअन्तर्गत थप ४३ किलोमिटर सडकसमेत निर्माण गर्नुपर्नेछ । पुल र सडकको समग्र संरचना निर्माणका लागि आवश्यक प्रक्रियागत काम अघि बढिरहेको उनले जानकारी दिए ।
कोशी टप्पु वन्यजन्तु आरक्षसँग सम्बन्धित विषयका कारण परियोजनाको प्रक्रिया अघि बढाउन केही ढिलाइ भएको ढकालले बताए । यस विषयमा सम्बन्धित पक्षसँग छलफल भइरहेको उल्लेख गर्दै उनले केही दिनपछि पुनः छलफल हुने जानकारी दिए ।
कोशी ब्यारेजको विकल्पका रूपमा नयाँ पुल निर्माण गर्ने योजना महत्त्वपूर्ण मानिए पनि वातावरणीय तथा प्रक्रियागत विषय टुंग्याउनुपर्ने भएकाले निर्माणको समयतालिका र कार्यान्वयनको अवस्था स्पष्ट हुन बाँकी छ ।
तोकिएको आयुभन्दा ११ वर्ष पुरानो ब्यारेज सुनसरी र सप्तरीलाई जोड्ने कोशी ब्यारेज पूर्व–पश्चिम राजमार्गको महत्त्वपूर्ण संरचना हो।
नेपालका तत्कालीन राजा महेन्द्र र भारतका तत्कालीन प्रधानमन्त्री लालबहादुर शास्त्रीले २०२२ वैशाख १२ गते उद्घाटन गरेको ब्यारेज सञ्चालनमा आएको ६१ वर्षभन्दा बढी भइसकेको छ ।
ब्यारेजको तोकिएको आयु ५० वर्ष मानिएको भए पनि त्यस अवधिभन्दा करिब ११ वर्ष बढी समय बितिसकेको छ । तर, यसको विकल्पका रूपमा अर्को पुल निर्माण हुन सकेको छैन ।
कोशी नदीमा बनेको ब्यारेजले पूर्वी नेपालका विभिन्न जिल्लालाई सडक सञ्जालमार्फत जोड्नुका साथै पूर्व–पश्चिम राजमार्गको आवागमनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
यही मार्ग भएर दैनिक ठूलो संख्यामा यात्रु तथा मालवाहक सवारीसाधन आवतजावत गर्छन् । ब्यारेजको निर्धारित आयु समाप्त भइसकेको अवस्थामा यसको विकल्प निर्माणलाई पूर्वाधार विकास र सडक सुरक्षाका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।
प्रस्तावित तीन किलोमिटर लामो पुल निर्माणले हालको ब्यारेजमाथिको सडक निर्भरता कम गर्ने तथा राजमार्गको दूरी घटाउने अपेक्षा गरिएको छ । यद्यपि, करिब ४३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको परियोजना कहिलेदेखि निर्माणमा जाने, लगानीको व्यवस्था कसरी हुने र निर्माण सम्पन्न हुन कति समय लाग्ने भन्ने विषय अझै स्पष्ट भइसकेको छैन ।

प्रकाशित मिति: कार्तिक १२ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend