Hamro Koshi Aawaj

मंगलबार, कार्तिक ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशी प्रदेशमा रास्वपाबाट मेयर, उपमेयर, अध्यक्ष बन्न आवेदन दिनेको ओइरो

हाम्रो कोशी आवाज
कार्तिक ११ २०८३, मंगलबार
कोशी प्रदेशमा रास्वपाबाट मेयर, उपमेयर, अध्यक्ष बन्न आवेदन दिनेको ओइरो

धरानः आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्तरिक तयारी थालेको छ । रास्वपाले उम्मेदवार छनोटको गृहकार्यलाई आक्रामक रूपमा अगाडि बढाएको हो ।
परम्परागत राजनीतिक दलहरूमा निर्वाचनको मुखमा मात्रै उम्मेदवार छनोट गर्ने र शीर्ष नेताको तजबिजमा टिकट बाँड्ने प्रवृत्ति रहँदै आए पनि रास्वपाले निर्वाचनभन्दा निकै अगाडिदेखि नै ‘क्यान्डिडेट क्लब’ मार्फत आकाङ्क्षीहरूको खोजी, परीक्षण र प्रशिक्षणको प्रक्रिया थालेको हो ।
विराटनगर महानगर समितिले सोमबार आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित अन्तरक्रियात्मक कार्यक्रममा १९ वटै वडाका सभापति लगायत नगरपालिका, गाउँपालिका, जिल्ला, प्रदेश, केन्द्रीय नेता, सांसद तथा पार्टीका नेता कार्यकर्ताको सहभागिता थियो । विराटनगर बसपार्कस्थित आरके पार्टी प्यालेसमा सम्पन्न उक्त कार्यक्रममा करिब ६ घण्टाभन्दा लामो समयसम्म स्थानीय निर्वाचन, उम्मेदवार छनोटको विधि र पार्टीको रणनीतिका बारेमा छलफल भएको थियो ।
रास्वपाका सचिवालय सदस्य लिमा अधिकारी, सचेतक प्रकाशचन्द्र परियार, केन्द्रीय सदस्य रोहन कार्कीलगायतका नेताले अन्तरक्रियात्मक कार्यक्रमको नेतृत्व गरेका थिए ।
विराटनगर महानगरपालिकामा आयोजित कार्यक्रममा १९ वटै वडाका सभापति, महानगर, जिल्ला, प्रदेश तथा केन्द्रका नेताहरूको बाक्लो सहभागिता थियो । विराटनगर महानगरको मेयर पदका लागिमात्रै पार्टीभित्र ५० भन्दा बढीले आन्तरिक आकाङ्क्षा देखाएको चर्चा छ ।
‘सबैलाई राखेर निर्वाचनको तयारीका लागि उहाँहरूको मनमा के रहेछ, उहाँहरूका गुनासा के रहेछन् र उहाँहरूको तयारी के रहेछ भनेर बुझ्न कार्यक्रम राखेका थियौँ । कार्यक्रम एकदमै राम्रो भयो,’ केन्द्रीय सचिवालय सदस्य लिमा अधिकारीले भनिन् ।
अन्तरक्रियाका क्रममा विभिन्न वडाका आकाङ्क्षीहरूले परम्परागत राजनीतिक गफभन्दा बाहिर निस्किएर आफ्ना स्थानीय योजनाहरू सुनाएको अधिकारीले बताइन् । ‘धेरै आकाङ्क्षी साथीहरू आउनुभएको रहेछ । उपमेयरका आकाङ्क्षी, मेयरका आकाङ्क्षी, वडाध्यक्षका आकाङ्क्षीहरूको भिजनहरू पनि सुनियो,’ अधिकारीले भनिन्, ‘कसरी काम गर्ने भन्ने विषयमा केही साथीहरूको एकदमै स्पष्ट भिजनसहितको प्रस्तुति थियो, तर केही साथीहरूको भने अलिकति तयारी पुगेको थिएन । आज हामीले सबै हेर्दै थियौँ । उहाँहरूको वास्तविक तयारी के रहेछ भन्ने जाँच्न र आगामी दिनका लागि उहाँहरूलाई वार्मअप गराउनु नै पार्टीको मुख्य उद्देश्य हो ।’
रास्वपाले खुला रूपमा सक्षम व्यक्तिहरूलाई पार्टी राजनीतिमा आकर्षित गर्न ‘ल्याटरल इन्ट्री’ को नीति पनि अगाडि सारेको छ । पार्टी बाहिर रहेका तर समाजमा स्थापित विज्ञ, क्षमतावान र इमानदार व्यक्तिहरूलाई समेत स्थानीय तहको नेतृत्वमा ल्याउने नीति रहेको अधिकारीले बताइन् । ‘हाम्रो त फेरि ल्याटरल इन्ट्री पनि छ,’ अधिकारीले भनिन्, ‘त्यहाँ क्षमता र योग्यता भएकाहरू को–कस्ता छन् भनेर यस्तै अन्तरक्रियामा हेर्ने हो नि । हामीले पनि हेर्ने हो, नेतृत्वले पनि बुझ्ने हो । किनभने मेयर हाँक्ने कुरा, महानगरको मेयर वा उपमेयर भनेको त साधारण क्षमता, साधारण योग्यता र साधारण मेहनतले त पुग्दैन नि !’
पार्टीभित्रका सम्भावित उम्मेदवारलाई आफ्नो योजना प्रस्तुत गर्दा व्यवस्थित ‘ब्लुप्रिन्ट’ बनाएर आउनसमेत उनले सुझाव दिइन् ।
अन्तरक्रियाका क्रममा सहभागी कार्यकर्ता तथा स्थानीय आकाङ्क्षीहरूले पार्टी नेतृत्वसमक्ष उम्मेदवार छनोट प्रक्रिया निष्पक्ष र विधिसम्मत हुनुपर्नेमा जोडदार माग राखेका थिए । उनीहरूले नीति एउटा बनाउने र अन्तिम समयमा निर्णय अर्कै गर्ने परम्परागत दलहरूको रोग रास्वपामा दोहोरिन नहुने चेतावनी दिएका थिए ।
‘उहाँहरूले विशेषगरी क्यान्डिडेट क्लबकै विषयमा विभिन्न जिज्ञासा र आफूलाई लागेका कुराहरू राख्नुभयो । पार्टीले यस्तो गरिदिए हुन्थ्यो, उस्तो गरिदिए हुन्थ्यो भन्ने सल्लाह पनि दिनुभयो । अर्को मुख्य कुरा, उम्मेदवार छनोट प्रक्रिया एकदमै विधिसम्मत होस् भन्ने उहाँहरूको माग थियो,’ अधिकारीले भनिन्, ‘एउटा रूपरेखा बनाएर फेरि अन्तिममा अर्कै किसिमको निर्णय नगरियोस्, पार्टी यसमा पूर्ण प्रतिबद्ध हुनुपर्छ र इमानदारीपूर्वक लागु गर्नुपर्छ भन्ने कुरा कार्यकर्ता पंक्तिबाट आयो । हामीले पनि पार्टी यसमा दृढ रहन्छ र विधिअनुसार नै अघि बढ्छ भनेर आश्वस्त पारेका छौँ ।’
आवेदन दिनेको ओइरो
रास्वपाले स्थानीय तहको उम्मेदवार बन्न चाहने आफ्ना संगठित सदस्यहरूका लागि सुरु गरेको ‘क्यान्डिडेट क्लब’ मा तल्लो तहबाटै व्यापक आकर्षण देखिएको जनाएको छ । केन्द्रीय सचिवालय सदस्य अधिकारीका अनुसार गाउँपालिका तहमा मात्रै हालसम्म करिब २० हजारभन्दा बढीले उम्मेदवारीका लागि आवेदन दिइसकेका छन् । ‘गाउँपालिकामा २० हजार आवेदन पर्‍यो । अहिले नगरपालिकाको आवेदन प्रक्रिया जारी छ, त्यो अझै बन्द भइसकेको छैन,’ उनले भनिन् ।
नगरपालिकाको प्रक्रिया सम्पन्न भएपछि अन्य ठुला तहमा पनि आवेदन खुला गरिने उनले बताइन् । ‘उपमहानगरपालिकाको खुल्छ, त्यसपछि महानगरपालिकाको पनि खुल्छ । सबैको आवेदन संकलन भइसकेपछि लिडरसिप एकेडेमीमा प्रशिक्षण हुन्छ,’ अधिकारीले भनिन्, ‘लिडरसिप एकेडेमी अन्तर्गत आवेदन दिने सबैको प्रशिक्षण हुन्छ, त्यसपछि बल्ल प्राइमरी (आन्तरिक निर्वाचन) हुन्छ ।’
रास्वपाले यसपटक स्थानीय तह निर्वाचनमा टिकट वितरण गर्दा कुनै नेताको सिफारिस वा भनसुन नचल्ने दाबी गरेको छ । उम्मेदवार छनोटका लागि पार्टीले चार वटा मुख्य खम्बा तय गरेको छ, जसमा राजनीतिक सामीप्यता, नेतृत्व क्षमताको तालिम, समावेशिता र आन्तरिक प्राइमरी निर्वाचनलाई निश्चित प्रतिशत भाराङ्क छुट्ट्याइएको छ ।
‘प्राइमरीमा चार वटा कम्पोनेन्ट छन्, एउटा संघमा भएजस्तै हो । एउटा पोलिटिकल प्रोक्सिमिटी (राजनीतिक सामीप्यता) को २५ प्रतिशत भाराङ्क हुन्छ । लिडरसिप एकेडेमी (पार्टी नेतृत्व प्रतिष्ठान) को २५ प्रतिशत हुन्छ । त्यसपछि १० प्रतिशत समावेशिताको हुन्छ अनि बाँकी ४० प्रतिशतचाहिँ प्राइमरी इलेक्सन (आन्तरिक निर्वाचन) को हुन्छ,’ अधिकारीले भनिन् ।
अधिकारीका अनुसार ४० प्रतिशत भाराङ्क रहेको ‘प्राइमरी निर्वाचन’ मा सम्बन्धित भूगोलका पार्टी सदस्यहरूले प्रत्यक्ष मतदान गर्नेछन् । ‘पार्टी पंक्तिले भोट हाल्ने हो । पार्टी पंक्तिले भनेको सम्बन्धित वडामा मतदाता नामावली भएका, पार्टीको सदस्यता र मतदाता परिचयपत्र भएकाहरूले मतदान गर्छन्,’ उनले भनिन् ।
सो ४० प्रतिशतको प्राइमरी निर्वाचनलाई पनि १०० प्रतिशत मानेर तल्लो तहका कार्यकर्तालाई निर्णायक शक्ति दिइएको छ । केन्द्रीय नेतृत्वको हस्तक्षेपलाई घटाएर स्थानीय तहलाई अधिकार सम्पन्न बनाइएको अधिकारीले दाबी गरिन् । ‘त्यो ४० प्रतिशतलाई पनि फेरि भित्र डिभाइड गरिएको छ । त्यसलाई फेरि टुक्राएर १०० प्रतिशत बनाउँदा ६० देखि ७० प्रतिशत सबैभन्दा धेरै भाराङ्क वडालाई दिइएको छ । त्यसपछि पालिका, जिल्ला, निर्वाचन क्षेत्र र प्रदेशहरूलाई बाँडिएको छ । केन्द्रका केन्द्रीय सदस्य र सांसदहरूलाई त त्यसको जम्मा १० प्रतिशत मात्रै भाराङ्क दिइएको छ, त्यसरी मिलाइएको छ,’ उनले भनिन् ।
यो व्यवस्थाले गर्दा केन्द्रमा नेताको चाकडी गरेर टिकट फुत्काउने परिपाटी पूर्ण रूपमा बन्द हुने र स्थानीय स्तरमै लोकप्रिय व्यक्ति मात्र उम्मेदवार बन्न सक्ने रास्वपाको विश्वास छ ।
विराटनगरको कार्यक्रम सफल र प्रभावकारी भएपछि यही मोडेलका अन्तरक्रियात्मक कार्यक्रमहरू देशभरका सबै पालिका र प्रदेशहरूमा लैजाने गरी गृहकार्य सुरु गर्न आफूले पार्टी नेतृत्वलाई सुझाव दिने अधिकारीले बताइन् । ‘कार्यक्रम सकिएपछि हाम्रो प्रमुख सचेतक, महानगर सभापति र प्रदेश सभापतिसँग मेरो निरन्तर संवाद भइरहेको छ । यस्ता किसिमका अन्तरक्रिया सातै वटा प्रदेशमा हुनुपर्छ । महानगर भएका ठाउँमा महानगरले गर्नुपर्‍यो, उपमहानगरले गर्नुपर्‍यो र पालिकाहरूले गर्नुपर्‍यो । धेरै अन्तरक्रिया भएपछि मात्रै हामी निर्वाचनको वास्तविक तयारीमा छौँ भन्ने सन्देश तल्लो तहसम्म पुग्छ,’ उनले भनिन् ।
नेपाली राजनीतिको पुरानो कार्यशैली बदल्न रास्वपाले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउनैपर्ने उनको जिकिर छ । ‘नेपालको राजनीतिलाई अझै पनि खल्तीको तजबिज र भनसुनकै आधारमा अगाडि बढाउने कि साँच्चिकै मेरिटोक्रेसी (क्षमता र योग्यता) का आधारमा लैजाने भन्ने मूल प्रश्न हो,’ उनले भनिन्, ‘त्यसका लागि पार्टी नेतृत्वले कार्यकर्ता र सम्भावित उम्मेदवारहरूलाई अझ बढी वार्मअप गराउनुपर्छ, प्रशिक्षण दिनुपर्छ र सिकाउनुपर्छ । यो पार्टी के हो र यसको राजनीतिक डीएनए के हो भन्ने कुरा बुझाउन पनि यस्ता कार्यक्रमहरू देशव्यापी बनाउन जरुरी छ ।’

प्रकाशित मिति: कार्तिक ११ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

  • फुटबलमा जित्नेलाई साढे ४ लाख बढीको अलैंची दिइने

    धरानः फुटबल प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नगदको सट्टा अलैँची पुरस्कार प्रदान गरिने भएको छ। मिक्वाखोला गाउँपालिकाले आगामी मंसिर २ देखि ६ गतेसम्म आयोजना गर्न...

    • ४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • बराहक्षेत्रमा झयासघारीमा भेटियो पेस्तोल र गोली

    धरानः सुनसरीको बराहक्षेत्रमा झ्यासघारीमा पेस्तोल फेला परेको छ । बराहक्षेत्र नगर पालिका वडा नं. ५ अमाहा सामुदायिक वनमा हातहतियार लुकाइछिपाई राखेको छ भन्ने विशेष सूचनाको...

    • १ हप्ता अगाडी
    • १ मिनेट पाठ
  • कोशी प्रदेशबाट १८ विद्यालय छानिए

    धरानः दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर कार्यान्वयनमा ल्याइएको बेला सो योजनाका लागि कोशी प्रदेशका १८ वटा विद्यालय छनोटमा परेका...

    • २ हप्ता अगाडी
    • २ मिनेट पाठ
  • धरानका दिदीबहिनीले प्याडभित्र लुकाएर लगे लागूऔषध

    धरानः मोरङको विराटनगरस्थित कारागारमा भेटघाटका लागि आएका दुई महिलाबाट ४८० थान लागूऔषध बरामद भएको छ । बुधबार विराटनगर महानगरपालिका–८ हाटखोलास्थित कारागार कार्यालयको मुख्य प्रवेशद्वारमा...

    • २ हप्ता अगाडी
    • १ मिनेट पाठ
  • विद्यार्थीले देखाए पेट्रोल र ब्याट्री दुवैबाट कुदने मोटरसाइलकल

    धरानः मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकका विद्यार्थीहरुले आफूले निर्माण गरेका विभिन्न प्राविधिक परियोजनाहरू प्रदर्शन गरेका छन् । पोलिटेक्निकको सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रिक एण्ड इलेक्ट्रिोनिक्स,...

    • २ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • इटहरीमा खुल्दैछ १ अर्ब ६६ करोड लगानीमा रिसोर्ट

    धरानः होटल तथा आतिथ्य व्यवसायमा लगानी विस्तार गरिरहेका व्यवसायी देशबन्धु बस्नेतले सुनसरीको इटहरीमा १ अर्ब ६६ करोड ४० लाख रुपैयाँ लागतको लक्जरी रिसोर्ट निर्माण...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend