महिलाको घरकोठामै भेटियो लागूऔषध
धरानः धरानको तीनकुनेबाट प्रहरीले मिनी ट्रकसहित तीनजनालाई पक्राउ गरेको छ ।
धरान-८ स्थित तिनकुनेमा भन्सार छली गरेर ल्याइएका करिब १० लाख रुपैयाँ मूल्यका किराना तथा खाद्यान्न सामान बरामद पनि गरिएको प्रहरीले जनाएको छ । प्रहरीले सामान ओसारपसारमा प्रयोग भएको मिनी ट्रकसहित तीनजनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए ।
प्रहरीले मिनी ट्रकका चालक मोरङको विराटनगर महानगरपालिका–४ निवासी २५ वर्षीय प्रदीपकुमार शाह, सहचालक जहदा गाउँपालिका–१ निवासी ४२ वर्षीय भुपेन्द्र राजवंशी र सोही स्थानका ४२ वर्षीय कात्तिक राजवंशीलाई पक्राउ गरेको जनाएको छ ।
गत कार्तिक १० गते साँझ ६ः३० बजे धरान उपमहानगरपालिका-८ तीनकुनेमा इटहरीबाट धरानतर्फ आउँदै गरेको को.प्र.–०२–००२ख१६१८ नम्बरको मिनी ट्रकलाई प्रहरीले चेकजाँच गरेको थियो ।
इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी तिनकुनेबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले ट्रक जाँच गर्ने क्रममा भन्सार छली गरेर ल्याइएका किराना तथा खाद्यान्न सामान फेला पारेको हो । बरामद सामानको अनुमानित मूल्य ९ लाख ८२ हजार ५०० रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
बरामद सामान र मिनी ट्रकसहित तीनैजनालाई इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच धरान उपमहानगरपालिका–८ अरुण टोलस्थित फलामे पुलमा लागूऔषध बिक्री वितरण भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले स्थानीय ३१ वर्षीया सलिना राईको घरकोठा खानतलासी गरेको थियो ।
अस्थायी प्रहरी चौकी बरगाछी र तीनकुनेबाट संयुक्तरूपमा खटिएको टोलीले उनको साथबाट ०.८५ ग्राम ब्राउन सुगर (खैरो हिरोइन) बरामद गरेको छ ।
यसैगरी, धरान–५ गैरीगाउँमा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र अस्थायी प्रहरी चौकी देउरालीबाट खटिएको संयुक्त टोलीले स्थानीय ३६ वर्षीय अमिर सार्कीलाई पक्राउ गरेको छ । उनको कोठा खानतलासी गर्दा ०.४ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।