Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा भदौ १३ गतेदेखि महिला उद्यमी प्रदर्शनी मेला लाग्ने

हाम्रो कोशी आवाज
भाद्र १२ २०८१, बुधबार
धरानमा भदौ १३ गतेदेखि महिला उद्यमी प्रदर्शनी मेला लाग्ने

धरान स्थानीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यका साथ धरानमा प्रथम महिला उद्यमी प्रदर्शनी आयोजना हुने भएको छ । महिलाले उत्पादन गरेका वस्तुको व्यापार प्रवर्द्धन तथा बजारीकरणको लक्ष्यसहित प्रदर्शनी आयोजना हुन लागेको हो ।
सुनसरी उद्योग वाणिज्य सङ्घको ६१औँ स्थापना दिवसका अवसरमा पहिलो पटक महिला उद्यमी प्रदर्शनी मेला हुन लागेको आयोजकले जनाएको छ ।
मङ्गलबार आयोजक सङ्घको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष विजय श्रेष्ठले मेला भदौ १३ देखि १५ गतेसम्म सञ्चालन हुन लागेको जानकारी दिए । महिला उद्यमशीलतामा जोडिए पनि व्यवस्थित बजारीकरणको अभावले अघि बढ्न कठिन भएकाले प्रदर्शनी आयोजना गरिएको उनको भनाइ छ ।
मेलामा स्थानीय उत्पादन प्रवर्द्धनका लागि ४५ वटा प्रदर्शनी कक्ष राखिनुका साथै स्थानीय घरेलु उत्पादन, कृषिजन्य उत्पादन, हस्तनिर्मित सामान, दैनिक उपभोग्य सामान, गरगहना, सौन्दर्य सामग्रीलगायत राखिने सङ्घका सचिव महेन्द्र प्रधानले बताए ।
उनले भने, “महिला उद्यमीलाई प्रोत्साहन गर्दै स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो । यसबाट महिला उद्यमीको कार्यक्षमता, दक्षता र पेसा तथा व्यवसायमा उत्साह बढ्ने विश्वास लिइएको छ ।” मेला १० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: भाद्र १२ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend