धरानः पाँचथरको फालेलुङ गाउँपालिका–५ डाँडागाउँमा बिष्फोटमा परी १ जना बालक र १ जना बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा २ वर्षीया प्रिन्सा साँवा र ११ वर्षीय दिप्सन साँवा रहेका छन् । विगत १० वर्षदेखि आइतराज केरुङको ढुङ्गा माटोले बनेको घरमा ज्ञानबहादुर राईको स–परिवार बस्दै आइरहेको थियो । राईको छोरा १३ वर्षीय पवन राई, छिमेकी दिलीप साँवाको छोरा ११ वर्षीय दिप्सन, छोरी २ वर्षीया प्रिन्सा र दीपक राईको छोरा ७ वर्षीय दिप्सन राई भेला भई खेलिरहेका थिए ।
डाँडागाउँस्थित आइतराज केरुङको घरमा भेटिएको बम नाबालकहरूले खेलाउँदा विस्फोट भएको आशंका गरिएको छ । युद्धकालमा ल्याएर सो घरमा राखेको बम अहिले विस्फोट भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । विस्फोट भएको घरका एकजना पूर्वलडाकु हुन् । घरधनी त्यहाँ बस्दैनन् । छिमेकीलाई घरको रेखदेख गर्न भनेर उनीहरू घर छाडेर हिँडेका थिए ।
बम पहिलादेखि नै सो घरमा रहेको अनुसन्धानबाट खुलेको कोशी प्रदेशका डीआईजी चन्द्र कुबेर खापुङले रातोपाटीलाई बताए । डाँडागाउँस्थित सो घरमा अर्को पनि बम भेटिएको छ । डीआईजी खापुङ भन्छन्, ‘विस्फोट हुँदा टुक्रा नउछिट्टिएको हुनाले युद्धकालमा उज्यालोका लागि प्रयोग गर्न खरिद गरेको आशंका छ ।’
बिष्टफोटबाट घाइते भएका चारै जनालाई तत्काल प्रहरी चौकी प्राङवुङबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारार्थ स्थानीय स्वास्थ्य चौकी प्राङबुङमा लगिएकोमा ७ वर्षीय दिप्सनको अवस्था सामान्य भएको र अन्य ३ जना घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर ल्याइएकोमा दिप्सन र प्रिन्सा सावालाई थप उपचारको लागि लगिएकोमा प्रिन्साको जिल्ला अस्पताल इलाममा र दिप्सन सावाको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरको पछाडि बारीको काँल्लामा समेत संकास्पद डल्लो बस्तु फेला परेको हुँदा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी अधिकृत सहितको टोली र रणशेर गण ओदिन ब्यारेक पाँचथरबाट नेपाली सेनाको टोली घटना स्थलमा खटि गई डिस्पोज गरेको र शंकास्पद वस्तु ‘होम मेड सकेट’ रहेको पुष्टि भएको तथा घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनामा परी घाइते भएका दिपेशले बताएअनुसार घरछेउमा एउटा वस्तु भेटिएको थियो । सो वस्तुलाई नजिक ल्याएर हम्मर (ढुङगा फुटाउने) ले कुटेर फुटाउन खोज्दा पड्किएर उक्त घटना भएको हो ।