धरानः धरान उपमहानगरपालिका क्षेत्रमा बंगुरको मासुको मूल्यमा वृद्धि भएको छ ।
व्यवसायीहरूले आफूखुशी मनपरीरूपमा मासुको मूल्य बढाएका हुन् । धरान उपमहानगरपालिकाले यसअघि मासुको मूल्य ४ सय ६० रुपैयाँ तोकेको थियो तर व्यवसायीहरूले आफूखुशी ५६० रुपैयाँ पुरयाएका हुन् । अहिले व्यवसायी आफैंले मूल्यवृद्धि गर्दै कसैले ५ सय ६० त कसैले ६०० रुपैयाँसम्म लिने गरेका छन् । यो व्यवसायीले आफैंले मूल्य बढाउँदै मनपरी लिइएको मूल्य हो । यसअघि धरान उपमहानगरपालिकाले मूल्य निर्धारण गर्ने गर्दथ्यो । धरान उपमहानगरपालिकाले यसअघि ४६० रुपैयाँ मूल्य निर्धारण गरेको थियो तर व्यवसायी आफूखुशी हिसाबले ५ सयसम्म लिने गरेका थिए । मासु व्यवसायीले बंगुरको मासुको मूल्य एक केजीमा एक सय रुपैयाँ बढाएपछि उपभोक्ता भने मारमा परेका छन् । चाडपर्व नजिकिँदै जाँदा मासुको खपत बढी हुने गर्दछ तर पनि व्यवसायीले मासुको मूल्य बढाउँदा उपभोक्ताहरू मारमा परेको भन्दै धरान उपमहानगरपालिकासँग गुनासो गरेका छन् ।
गुनासोपछि धरान उपमहानगरपालिकाले छलफल चलाएको छ । छलफलमा उपमेयर अइन्द्रविक्रम बेघा, कार्यकारी अधिकृत भुपेन्द्र राई, कार्यपालिका सदस्य विकास भाटी र दिनेश गजमेर, बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटा, मासु व्यवसायी संघका पदाधिकारी, मासु व्यवसायीहरू सहभागी थिए ।
छलफलमा मूल्य समायोजन गर्ने निर्णय भएको छ । मासु मूल्य निर्धारण समिति गठन गरी समितिको प्रतिवेदनको आधारमा मूल्य समायोजन गर्ने निर्णय गरिएको बजार अनुगमन अधिकृत सापकोटाले जानकारी दिए । उनका अनुसार कार्यपालिका सदस्य दिनेश गजमेर संयोजकत्वमा सुनसरी उद्योग वाणिज्य संघका किसन मास्के, उपभोक्ता हित संरक्षण मञ्चका विजय अछामी, पशुशाखा प्रमुख महेन्द्र पैकार, मासु व्यवसायी संघका अध्यक्ष मदन तामाङ, कृषक विष्णुकुमार सुनुवार सदस्य र बजार अनुगमन अधिकृत सापकोटा सदस्य सचिव रहने गरी समिति गठन गरिएको छ । समितिले ५ दिनभित्रमा प्रतिवेदन पेश गरिसकेपछि अर्को बैठक बसी मूल्य समायोजन गरी निर्धारण गर्ने निर्णय भएको उनले जानकारी दिए ।
मासु व्यवसायी संघका अध्यक्ष मदन तामाङका किसानहरुलाई चारोको भाउ निरन्तर बढिरहँदा पनि मासुको भाउ नबढ्दा मारमा परेको बताउँदै मासुको मूल्य बढेको बताएका छन् ।
व्यवसायीले त्यसो भने पनि उपभोक्ता भने विश्वस्त छैनन् । उपभोक्ताले भने अस्वाभाविक हिसाबमा मूल्यवृद्धि भएपछि समस्या परेको र अझ चाडपर्वको समयमा अचानक मूल्यवृद्धि हुनुले समस्या थपिने बताउँदै आएका छन् ।
धरानका एक उपभोक्ता भन्छन्, ‘यहाँ मासु व्यवसायीको सिन्डिकेट छ । उनीहरूले विभिन्न बहानामा एकतर्फी रूपमा मूल्य बढाउँदै आएका छन् । यस्तो मनपरी सधैँका लागि अन्त्य हुनुपर्छ ।’
संघको तथ्याङकअनुसार धरानमा दैनिक ४ हजार ९ सय केजीसम्म बंगुरको मासु खपत हुने गरेको छ ।