Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

२२ वर्षपछि कुशको शव बनाएर छोरीको दाहसंस्कार, काजकिरियामा बसे ८३ वर्षीय बुबा

हाम्रो कोशी आवाज
भाद्र २५ २०८१, मंगलबार
२२ वर्षपछि कुशको शव बनाएर छोरीको दाहसंस्कार, काजकिरियामा बसे ८३ वर्षीय बुबा

-अर्जुन आचार्य
विराटनगरः माओवादी जनयुद्धको समयमा वेपत्ता भएकी मोरङ पथरीशनिश्चरे नगरपालिका ५ की लक्ष्मी खतिवडाको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ । गत भदौ १७ गते उनको दाहसंस्कार गरिएको हो । उनका ८३ वर्षीय बुबा जनकलाल खतिवडा काजकिरियामा बसेका छन् ।
जनकलालले आफ्नी छोरी लक्ष्मीको मृत्युको न्यायिक घोषणा गर्न माग गदै २०८० साउन १४ गते जिल्ला अदालत मोरङमा निवेदन दिएका थिए । अदालतले २०८० भदौ २५ गते तत्कालिन शाही नेपाली सेनाले पक्राउ गरेर वेपत्ता बनाएको दिनलाई आधार मानेर न्यायिक मृत्युको घोषणा गरिदिएको थियो । सोही आधारमा वडा कार्यालयमा मृत्यु दर्ता गरेर उनको दाहसंस्कार गरिएको लक्ष्मीका भाइ प्रेम खतिवडाले जानकारी दिए ।
‘अदालतले वेपत्ता भएको मितिलाई आधार मानेर मृत्युको घोषणा गरिदियो । त्यही अनुसार हामीले काज किरिया गरेका हौं । हामीले भने गत भदौ १७ गते अन्तिम संस्कारको मिति राखेर काजकिरिया गरेका हौं,’ उनले भने ।
लक्ष्मी खतिवडा २०५८ साल मंसिरमा माओवादी जनयुद्धमा पूर्णकालिन कार्यकर्ता भएकी थिइन् । युद्धकै क्रममा उनलाई २०५९ भदौ १७ गते सुनसरी खनारको नहर पूर्वको सर्वसाधरणको घरमा बसिरहेको अवस्थामा उनी पक्राउ परेकी थिइन् । ‘दिदी पक्राउ परेको १५ दिनपछि हामीले खबर पायौं । त्यसपछि खोजीका लागि हामी त्यहाँ पुग्यौं । त्यहाँ पुग्दा पक्राउ परेको पुष्टि भयो । त्यसपछि इटहरी ब्यारेक गएर बुझ्यौं । कहाँ लगे भन्ने कुनै पत्ता लागेन,’ लक्ष्मीका भाई प्रेमले भने, ‘इटहरीमा रहेको सेनाको ब्यारेककै कार्यक्षेत्र भएको स्थानबाट पक्राउ परेको हो । वेपत्ता बनाएको पनि त्यहीँबाट होला ।’
दिदीको अवस्थाबारे बुझ्न जाँदा पक्राउ परेका घरका मानिसलाई पनि तत्कालिन शाही सेनाले निर्घात कुटपीट गरेको पाएको उनले बताए । काँही नपाएपछि उक्त परिवारले माओवादीलाई नै वेपत्ताको अवस्था सार्वजनिक गर्न पहल गरिदिन माग गर्दै आएका थिए । ‘सरकारमा पनि पार्टी गयो । दिदीको अवस्थाबारे पार्टीले नै खोजी गर्नुपर्छ भन्ने थियो । तर, कुनै पत्ता नलागेपछि बुबाले अदालतमा मृत्युको घोषणा गर्न माग गर्दै निवेदन दिनुभएको हो । अदालतले घोषणा गरेपछि दाहसंस्कार गरिएको हो,’ प्रेमले भने ।
सत्यनिरुपण तथा वेपत्ता छानविन आयोग सम्बन्धी ऐन पनि जारी भइसकेको छ । उक्त ऐन जारी भएपछि उनको अवस्थाबारे केही जानकारी आउँथ्यो कि भन्ने प्रश्नमा उनले भने, ‘अदालती प्रक्रिया अगाडि नै सुरु भएको कारण, अदालतको मृत्युको न्यायिक घोषणापत्रको आधारमा काजकिरियिा गरेका हौं ।’
२०३६ साल पुस २२ गते भोजपुरको खार्तम्छास्थित सानो दिङ्लामा जन्मिएकी उनी परिवारसँगै २०४८ सालमा सुनसरीको बौकामा बसाइँसरी आएकी थिइन् । त्यहाँबाट २०५१ सालमा साविक हसन्दह गाविस १ चिलाझारमा बसोबास गरिरहेका खतिवडा २०५८ साल मंसिरमा जनयुद्धमा हिंडेकी हुन् । उनका ८३ वर्षकी वृद्ध बुबा र ७८ वर्षीय आमा रत्नकुमारीका साथै पाँच दाजुभाई र दुईजना दिदीबिहीनी रहेका छन् । उनको अन्तिम संस्कार चिलाझार पथरीमै गरिएको हो ।

प्रकाशित मिति: भाद्र २५ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend