Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भोलिदेखि भारी वर्षा हुने, सुनसरीसहित पूर्वका धेरै जिल्ला ‘रेड अलर्ट’ मा

हाम्रो कोशी आवाज
असोज ९ २०८१, बुधबार
भोलिदेखि भारी वर्षा हुने, सुनसरीसहित पूर्वका धेरै जिल्ला ‘रेड अलर्ट’ मा

धरानः भोलिदेखि भारी वर्षा हुने भएको छ । पूर्वका सुनसरीसहित झापा, मोरङ, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, उदयपुर, भोजपुर, इलाम र पाँचथरलाई ‘रेड अर्लट’ मा राखिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आइतबार बिहानसम्म सात वटै प्रदेशमा ठूलो वर्षा हुने र केही ठाउँमा अति ठूलो वर्षाको चेतावनी दिएको छ । वर्षा गराउने प्रणाली नेपाल नजिक झन् शक्तिशाली बनेकाले वर्षा हुने क्षेत्र र असर बढी पर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताए ।
यो अवधिमा बाढी पहिरोका घटनासमेत बढ्नसक्ने भएकाले महाशाखाले सात प्रदेशका ५६ वटा जिल्लालाई उच्च सावधानी अपनाउनुपर्ने अर्थात् ‘रेड अलर्ट’ मा राखेको हो ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । ‘बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावको कारण २०८१ असोज १० गते बिहीबार दिउँसोदेखि असोज १३ (आइतबार) सम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही अधिकांश स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ’, महाशाखाले जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ ।
बङ्गालको खाडीबाट र अरब सागर दुवैतिरबाट उच्च जलवाष्पसहितको वायु नेपालतिर आइरहेकोले देशभर उच्च वर्षाको सम्भावना रहेको हो । मनसुनको न्यून चापीय रेखा नेपालतर्फ नसरे पनि मनसुन सक्रिय गराउने न्यून चापीय प्रणाली सघनरूपमा विकास भएको हो । यस्तै उपल्लो वायुमण्डलमा पनि न्यून चापीप प्रणाली विकास भएको छ ।
विशेषगरी भोलि दिउँसोपछि ठूलो वर्षाको सम्भावना छ ।
नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख हो । तर यस वर्ष अक्टोबर ७ अर्थात् असोज २१ गतेसम्म रहने अनुमान रहेको मौसमविद्ले बताएका छन् ।
रेडअलर्टमा सिरहा, सप्तरी, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप रहेका छन् ।
यसैगरी म्याग्दी, बाग्लुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा, मनाङ, रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, बाँके र बर्दिया, जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान तथा कैलाली, डोटी र अछाम रहेका छन् ।

प्रकाशित मिति: असोज ९ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend