धरानः धरानमा १ हजार ४ सय २० किलोग्राम गाँजासहित समात्ने र अन्य ठाउँबाट पनि गाँजा समात्ने प्रहरी जवान टिकाराज खापुङ भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
उनले धरानमा त्यतिका मात्रामा गाँजा समात्दै २ जनालाई पक्राउ गर्न भूमिका खेलेका थिए । साथै उनले इटहरी उपमहानगरपालिका–१ स्थितबाट २ सय ४३ किलो ५०० ग्राम तयारी गाँजा बोकेको कारसहित चालकलाई नियन्त्रणमा लिनुका साथै धरान–१३ निशाने स्थितबाट ४ वटा बोरामा ९८ किलोग्राम गाँजा बोकेको कार नियन्त्रणमा लिएका थिए ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले उनलाई २०८१ साल भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूहमा कार्यरत प्रहरी जवान खापुङले विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेका थिए ।
गत भदौ ६ गते धरान–१३ स्थित कोशी लोकमार्गमा धनकुटाबाट आउँदै गरेको ट्रकमा ४४ वटा बोरामा रहेको १ हजार ४ सय २० किलोग्राम गाँजासहित २ जनालाई र इटहरी उपमहानगरपालिका–१ बाट २ सय ४३ किलो ५०० ग्राम तयारी गाँजा बोकेको कारसहित चालकलाई नियन्त्रणमा लिएको थिए भने गत भदौ १७ गते धरान–१३ निसानेबाट ४ वटा बोरामा ९८ किलोग्राम गाँजा बोकेको कार नियन्त्रणमा लिएका थिए ।
यस्तै, उनले गाउँपालिकाका पूर्वअध्यक्ष पक्राउ पनि सफल बनेका थिए । गत भदौ २९ गते मोरङको ग्रामथान गाउँपालिका–४ स्थित जुवा खालबाट ग्रामथानकै पूर्वअध्यक्ष शिवनारायण माझीसहित ९ जनालाई प्रहरीले नियन्त्रण लिएको थियो । समातिएका ‘जुवाडे’हरू भने पछि जनही ३० हजार रुपैयाँ धरौटीमा छुटेका थिए । भदौ २९ गते मोरङको ग्रामथान गाउँपालिका–४ बाट जुवा खेल्ने ९ जनाको समूहसहित जुवाको खालबाट १६ थान कौडा र १८ लाख ४९ हजार ५ सय रुपैयाँ समेत बरामद गर्न सुक्ष्मरुपमा सूचना सङ्कलन तथा निगरानी गरी अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुँदा उनलाई उत्कृष्ट कार्यहरुको उच्च मूल्याङ्कन गर्दै कोशी प्रदेशभरको सर्वोत्कृष्ट प्रहरी घोषणा गरी घोषणा गरी पुरस्कृत गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए ।