धरानः वर्षातको समयमा परेको अविरल वर्षाले धरानका खहरे खोला उर्लिँदा धेरै क्षति गरेको छ । धरानको सेउती खोला उर्लिँदा धरान–१५ र धरान–५ जोड्ने बगरकोटस्थित पुल समेत जोखिममा परेको छ ।
पुल आसपासमा समेत ठूलो क्षति गरेको छ । बाढी एकातर्फ मोडिँदा धरान–१५ बगरकोट आसपासका वस्ती समेत जोखिममा परेको छ । यसैबीच अहिले जोखिममा रहेको पुलको रक्षार्थ साथै जोखिममा परेका वस्ती बचाउनका लागि बजेट आउने लगभग पक्कापक्की भएको छ ।
चुनावमा हारेका नेता माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बो सुब्बाले केन्द्रबाट पहल गरेर धरानमा बजेट ल्याएका हुन् । उनी २०७९ मंसिरमा भएको सुनसरी क्षेत्र नम्बर १ को निर्वाचनमा पराजित उम्मेदवार हुन् ।
उनी एमाले र जसपा तालमेलका बीच भएको निर्वाचनमा जितेका जनता समाजवादी पार्टी (जसपा) का नेता अशोककुमार राईसँग चुनाव लडेका थिए । त्यतिबेला सत्ता गठबन्धनको तर्फबाट उठेका उनले धरान र बराहक्षेत्रबाट १३ हजार ८७ मत पाएका थिए । सांसद बनेका अशोक राईले १७ हजार ५९ मत ल्याएका थिए ।
चुनाव जितेपछि धरानमा खासै देखा समेत नपर्ने सांसद अशोक समेत बाढीले सेउती पुललाई जोखिममा पारेपछि निरीक्षणमा पुगेका थिए । तर बजेटको विषयमा उनले खासै पहल नगरिरहेको अवस्थामा चुनाव हारेका सुब्बाले बजेट ल्याएर हारेकाले पनि विकास गर्न सक्छन् भन्ने उदाहरण पस्किएका हुन् । उनी आफैं भन्छन्, ‘चुनाव हारेपछि धेरै नेता दुलो पस्छन्, मैलेचाहिँ चुनावताका चुनाव हारेपनि जनतासँग गरेका प्रतिबद्धता गर्छु भनेरै वाचा गरेको थिएँ, सोहीअनुसार जनताले दिएको मतको सम्मान गर्दै लागिरहेको छु ।’ उनी थप्छन्– म हारेपनि जितेपनि यो क्षेत्रको विकासको निम्ति म निरन्तर खट्नेछु, डट्नेछु ।’ उनले हारेकाले पनि जितेका पनि जनताको काम गर्नुपर्ने समेत बताउँदै जनताले एकदिन समीक्षा गर्ने समेत बताए ।
उनले हारेपनि विकासमा लाग्दा धरानको मुहार फेरिने ठानेको बताउँछन् । केन्द्रमा सिधै पहुँच राख्ने नेता धरानमा नभएकोले पनि धरान विकासमा पछि परेको उनको बुझाइ छ । उनले आएको बजेट सही सदुपयोग गर्दै केन्द्रको पहुँचलाई धरानसँग जोडिरहने समेत बताए । उनी खासमा भन्ने हो भने माओवादी केन्द्रका नेता प्रचण्डसँग सिधै कुरा राख्न सक्ने हैसियत बनाएका नेतामा पर्छन् ।
माओवादी केन्द्रका नगर इन्चार्ज फोक्वाहाङ सुब्बा चोत्लुङले यस्तो आयोजनामा केन्द्रले नसमेटेको अवस्था रहेको तर यसपटकचाहिँ मुक्सामहाङको पहलबाट समेटिएको बताउँदै भने, ‘यो सिधैं प्रधानमन्त्री कार्यालयमा उहाँले निवेदन पेश गरेको योजना हो, तत्कालीन मन्त्री शक्तिबहादुर बस्नेतलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छौं ।’
उनले मेयर हर्कराज राई साम्पाङ, उपमेयर अइन्द्रविक्रम बेघा साथै धरानबाट चुनाव जितेका सांसदहरुलाई पनि विकासे योजनामा पहल गर्दै बजेट ल्याउन माग गरे । उनले सेउती खोलाले बढीजसो वितण्डा मच्चाएको र त्यहाँ रहेका सुकुम्बासी वस्तीहरूमा बाढी बसेर क्षति गर्ने अवस्था रहेकोले तत्कालै यसतर्फ स्थानीय सरकार तातेर लाग्नुपर्ने अवस्था आएको समेत बताए । ‘हामी जनप्रतिनिधिबाहेका नेताले गर्ने पहल छँदैछ, तपाईहरू पनि अब लाग्नुहोस् ।’ उनले भने ।
कुन-कुन स्थानका लागि कति बजेट ?
रातो किताबमै परिसकेको बजेट उनकै पहलमा बर्खे खोला नियन्त्रणका लागि जलस्रोत तथा ऊर्जा मन्त्रालयबाट बजेट व्यवस्था भएको हो ।
जोखिममा परेको सेउती पुलको संरक्षण र त्यसआसपासका संरचना बनाउन १ करोड बजेट आएको उनले जानकारी दिए । यस्तै, सेउती खोलाकै खोरिया आसपासमा रहेको पुलका लागि १ करोड व्यवस्था भएको छ भने सेहारा, धरान–६ भएर बग्ने अँधेरी र बुढी खोला नियन्त्रणका लागि पनि १–१ करोड गरी जम्मा ५ करोड बजेट व्यवस्था भएको उनले जानकारी दिए ।
अहिले सेउती पुलको दाँयाबाँया किनारा भत्किन थालेको छ । यस वर्षको भारी वर्षाले पुल जोखिममा परेको हो । यस वर्षको अविरल वर्षाले गर्दा आएको बाढी एकोहोरीएर बग्दा पुलपुनिको जमिनमा झण्डै १५ फिट गहिरो खाडल बनेर पुल जोखिममा परेको हो । बाढीका कारण पुल छेउको खाडल बढेकोले पुल भत्किले सम्भावना बढेपछि स्थानीय बासिन्दा चिन्तित बन्न पुगेका छन् । कुनै पनि बेला पुल खस्ने र धरान–१५ र ५ को सम्बन्ध विच्छेद हुने पक्का थियो ।
यसैबीच खर्च गर्नको निम्ति भन्दै सोमबार नै स्थानीय जनप्रतिनिधिको उपस्थितिमा जलस्रोत तथा ऊर्जा मन्त्रालय कोशी तथा बक्राहा नदी व्यवस्थापन आयोजना प्रमुख रञ्जन भट्टराईसहितको प्राविधिक टोलीले अनुगमन र निरीक्षण समेत गरेको छ ।
प्रमुख भट्टराईले यी क्षेत्रको स्थलगत अनुगमन पश्चात् टेण्डर आहवान गरेर काम थालिने बताए । ‘योजना प्रमुखसहितको टोलीले तीनवटै खोलाको अनुगमन र निरीक्षण गरिसकेका छौं, अब टेण्डर आहवान गरेर चाँडै काम शुरुवात गर्नेछौं ।’ उनले भने ।
धरान–५ का वडाध्यक्ष मनप्रसाद लिम्बूले चुनाव हारेका नेताले पनि बजेट ल्याएर विकास गर्न खोज्नु खुशीको कुरा भएको बताए । ‘केन्द्रसम्म पहल गर्ने नेता, नेतृत्वमा खाँचो धरानमा देखेको छु तरपनि व्यक्ति आफैं लागेर केन्द्रमा पहुँच पुरयाएर यसरी बजेट आउनु सारै खुशीको कुरा हो,’ उनले थपे, ‘उनको यो सह्रानीय काममा धरानकै विकासमा ठूलो टेवा पुग्नेछ भन्ने आशा राख्न सकिन्छ ।’








