बिर्तामोडः झापामा भएको दुर्घटनामा हजुरबुवा र नातिनीको मृत्यु भएको छ ।
यात्रु बोकेर काकडभिट्टाबाट काठमाडौं जाँदै गरेको प्र. १-०१-००१ ख ४३३१ नम्बरको रात्री बसको ठक्करबाट हजुरबुबा र नातिनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिकाको केरखा सडक खण्डमा भएको दुर्घटनामा परी कमल गाउँपालिका ३ निवासी ६० वर्षीय टेकबहादुर लिम्बू र मनोज लिम्बूकी अन्दाजी १२ वर्षीया छोरी कृपा लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि स्थानीयले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध पारेका थिए भने बसमाथि तोडफोड समेत गरेका छन् ।
ती बालिकाको जन्मदिन परेको र जन्मदिन मनाउन नातिनीलाई लिएर हजुरबुबाले बर्थडे लिन गएका थिए । बर्थडे केक र मासु लिएर हजुरबुवा र नातिनी इलेक्ट्रिक साइकलमा फर्किदै गर्दा रात्रिबसले ठक्कर दिएको पाइएको प्रहरीले जनाएको छ । बसको ठक्करले साइकल क्षतिग्रस्त छ भने बर्थडे केक र मासु पनि सडकभरि छरपष्ट बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका वरिष्ठ प्रहरी नायव निरीक्षक अर्जुन सोडारीले जानकारी दिए ।
बस र बस चालक झापा शिवसताषी नगरपालिका वडा नम्बर-१ बस्ने ३२ वर्षीय विशाल ठटाल प्रहरी चौकी केर्खाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । बस तीब्रगतिमा रहेको र दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटना भएपछि केहीबेर स्थिति तनावपूर्ण बनेको थियो । स्थानीयले बसमा आगजनीको प्रयास समेत गरेको प्रहरीले जनाएको छ ।