Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

खाँदबारी-किमाथाङ्का सडकखण्ड निर्माणले पायो तीव्रता, यो वर्ष जोगवनी–विराटनगर–किमाथाङ्का जोडिने

हाम्रो कोशी आवाज
कार्तिक ९ २०८१, शुक्रबार
खाँदबारी-किमाथाङ्का सडकखण्ड निर्माणले पायो तीव्रता, यो वर्ष जोगवनी–विराटनगर–किमाथाङ्का जोडिने

संखुवासभा: उत्तरी क्षेत्र जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको खाँदबारी–किमाथाङ्का सडकखण्ड निर्माणले तीव्रता पाएको छ ।
भौगोलिक रूपमा विकट मानिएको खाँदबारी–किमाथाङ्का सडकको आठ किलोमिटर ट्र्याक नेपाली सेनाले खोलिसकेको छ । उत्तरी क्षेत्रमा पर्ने किमाथांका नाका भौगोलिक हिसाबले दुर्गम क्षेत्र मानिन्छ । उक्त खण्डको १० किमीमध्ये आठ किमी ट्र्याक खोल्ने काम सम्पन्न भएको नेपाली सेनाले जनाएको छ । किमाथाङ्का–जोगवनी खण्ड छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो सडकका रूपमा मानिन्छ ।
ट्र्याक खोल्न बाँकी दुई दशमलव शून्य एक किमी पनि यही वर्ष जोडिने तयारी भइरहेको आयोजना कार्यालयले जनाएको छ । यो ट्र्याक खुलेसँगै यो वर्ष जोगवनी–विराटनगर–किमाथाङ्का जोडिने आयोजना प्रमुख शमशेर सिंहले जानकारी दिए ।
उनका अनुसार भोटखोला गाउँपालिकाको च्याम्ताङ–घोङगोप्पाको करिब १० दशमलव पाँच किमी खण्डमा नेपाली सेनाले ट्र्याक खोल्ने काम गरिरहेको छ । कडा चट्टान फोर्न विस्फोटक पदार्थ आवश्यक पर्ने भन्दै २२ भदौ २०७६ को मन्त्रिपरिषद् बैठकले सेनालाई सडक निर्माणको जिम्मेवारी दिएको थियो । हालसम्म नेपाली सेनाले आठ किमी सडकको ट्र्याक खोलिसकेको प्रमुख सिंहले बताए । सडक निर्माणका लागि दैनिक एक सय ४० जनशक्ति परिचालन गरिएको छ ।
सो सडकबाट धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । च्याम्ताङसम्म ट्र्याक खुले पनि खाँदबारीबाट बरुण दोभानसम्मको खण्डमा हिउँदको समयमा मात्रै गाडी सञ्चालन हुने गरेको छ । सडक विस्तारसँगै यस क्षेत्रमा व्यापार, व्यवसाय पनि विस्तार हुने स्थानीयको अपेक्षा छ । सडकसँगै सीमामा भन्सार कार्यालय स्थापना हुनुपर्ने स्थानीयको माग छ ।
राष्ट्रिय गौरवको आयोजना खाँदबारी–किमाथाङ्का सडक निर्माणमा हालसम्म ५३ करोड रुपैयाँ खर्च भइसकेको अयोजना कार्यालयले जनाएको छ । नेपाली सेनाले हेलिकोप्टरमार्फत निर्माण साम्रगी ढुवानी गरेर ट्र्याक खोल्ने काम गरिरहेको हो ।

प्रकाशित मिति: कार्तिक ९ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend