Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको निराजन वस्ती–कन्यापोखरी सडकः वर्षौ बित्यो बनेन, कालोसूचीमा राखेर कारवाहीको तयारी

हाम्रो कोशी आवाज
कार्तिक ११ २०८१, आइतबार
धरानको निराजन वस्ती–कन्यापोखरी सडकः वर्षौ बित्यो बनेन, कालोसूचीमा राखेर कारवाहीको तयारी

धरान–बाङ्गे सडकको हालत पनि उस्तै

धरानः धरान-१५ को निराजन बस्ती हुँदै कन्या पोखरीसम्म पुग्ने सडकको अनुगमन भएको छ ।
निर्माणमा भएको ढिलाइ, बाटोको गुणस्तर र आगामी निर्माणका विषयमा शनिबार कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राई, राज्यमन्त्री भूमि राजवंशी, मन्त्रालयका सचिव अशोककुमार साह, पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख सुशील श्रेष्ठ, प्रदेश सांसदहरू रमेश बस्नेत, विजय राई, धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघा, वडाका वडाध्यक्षहरू, निर्माण कम्पनी लुम्बिनी गजुरमुखी जेभी प्रतिनिधि सन्तोष गौतम, सहितको टोलीले अनुगमन गर्नुका साथै सार्वजनिक सुनुवाइ कार्यक्रम समेत आयोजना गरेको थियो ।
धरानको निराजन बस्तीबाट देवीगाउँ, पत्राङबारी, श्रीगाउँ, हर्दिया, दानाबारी हुँदै कन्यापोखरी जोड्ने यो सडक २०७६ सालमा निर्माण कार्य शुरु भएको तर निर्माणमा ढिलाइले जनताले सास्ती खेपिरहेका छन् । दुई वर्षभित्र निर्माण सक्ने लक्ष्य राखेको यो सडकको काम एक वर्षयता बन्द हुँदा अझै अधुरै छ । वर्षाका कारण पहिरो र भेलले सडक भत्किएका कारण सवारी साधन गुड्न सक्ने अवस्थामा छैनन् ।
अनुगमनपछि सडकको निर्माण कार्य यही कार्तिक महिनाभित्रबाट नै शुरु गर्ने र शुरु नगरेमा निर्माण व्यवसायीलाई कालोसूचीमा राखेर कारवाही गर्ने निष्कर्षमा पुग्नुका साथै सहमति पनि बनेको प्रदेश सांसद बस्नेत बताउँछन् ।
यो सडक निर्माणका लागि २०७६ असोजमा लुम्बिनी गजुरमुखी जेभीसँग सम्झौता भएको थियो । ३९ करोड २३ लाख ४१ हजार १ सय ६३ रूपैयाँ लागतमा बन्ने भनिएको सडकमा लगभग २२ करोड रूपैयाँ भुक्तानी भइसकेपनि माटोको काम, ग्याबिनको काम, नाला र सबबेसको काम भएपनि सडकको मुख्य काम भने धेरै ठाउँमा राम्रोसँग नभएको अनुगमनमा पुगेका सांसद बस्नेत बताउँछन् ।
२०७८ असोज १५ गतेसम्मको समयसीमा पाएको ठेकेदार कम्पनीले ५ वर्ष बितिसक्दा पनि ५९ प्रतिशत मात्रै काम भएको पाइएको छ । सडक आयोजना निर्माणका लागि ३ पटक म्याद थप भएको छ । पछिल्लो थप भएको म्याद अनुसार निर्माण सम्पन्न गर्नुपर्ने समयसीमा २०८२ असार ३० गतेसम्म छ ।
प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय मोरङको मातहत रहेको १६.८७ किलोमिटर लामो सो सडक निर्माणको ठेक्का लुम्बिनी गजुरमुखी जेभीले २०७६ असोज १५ गते लिएको थियो ।
मन्त्री राईले सम्बोधनकै क्रममा निर्माण व्यवसायी सन्तोष गौतमलाई सोधे, ‘तपाईंले कहिले काम सुरु गर्नुहुन्छ र कहिले सक्नु हुन्छ ? सक्नु हुन्न भने ठेक्का तोड्ने हो । ठाउँको ठाउँ निर्णय गर्ने हो ।’
जवाफमा निर्माण कम्पनीका प्रतिनिधि सन्तोष गौतमले छठपछि काम सुरु गर्ने र समयमै काम सम्पन्न गर्ने सबैसामू प्रतिबद्धता जनाए । त्यसपछि सचिव साहले त्यही माइन्युटमा सबैसामू निर्णय लेखे, ‘मंसिर १ गतेदेखि काम सुरु गर्ने र ०८२ असार मसान्तसम्मै काम सम्पन्न गर्ने ।’
सो निर्णय सुनाएपछि सर्वसाधारणले ताली पड्काए । स्थानीयका साथै सो कार्यक्रम स्थलमा धरानका उपप्रमुख आइन्द्रविक्रम बेघा, वडा नम्बर ४ का वडाध्यक्ष धनबहादुर राईलगायतले सडक नबन्दाको सास्ती बताएका थिए ।
धरानका उपमेयर बेघाले सडक बन्दाबन्दै अलपत्र पार्ने ठेकेदारलाई जति भुक्तानी गरिएको छ, त्यसको डबल बिगो जरिवाना तिराएर मात्रै छोड्नुपर्ने बताए ।
धरान–बाङ्गे सडकको हालत पनि उस्तै
धरान–बाङ्गे जोडिने सडकको हालत पनि उस्तै छ । १३.५ किलोमिटरको यो सडक अलपत्र पार्ने पनि ठेकेदार कम्पनी पनि लुम्बिनी गजुरमुखी जेभी नै हो ।
सुनसरी महेन्द्रनगरको बाङगे कालाबन्जार हुँदै धरान जोड्ने सडकमा जोड्ने यो सडक निर्माण नहुँदा स्थानीयले सास्ती भोगिरहेका छन् । अहिले सो सडकको केही ठाउँमा कालोपत्रे भएको छ, बाँकी स्थानमा धुलाम्मे सडक छ ।
२०७६ भदौ १२ गते दुई वर्षभित्र सक्नेगरी यो सडक निर्माणको सम्झौता भएको थियो । ३७ करोड २३ लाखमा ठेक्का लागेको यो सडकको लागत भेरियसनसहित पटकपटक म्याद थप हुँदा ४० करोड २७ लाख पुगेको छ ।
करिब ८० प्रतिशत काम सकिएको यो सडकको साइट अझै क्लियर भइसकेको छैन । निर्माण क्षेत्रमा पर्ने केही रुख कटान अनुमति नहुँदा ठेकेदारले बहाना बनाइरहेका छन् ।

प्रकाशित मिति: कार्तिक ११ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend