धरान- तिहार नजिकिएसँगै धरानमा मादलको बिक्री बढेको छ । नेपालीले प्रयोग गर्ने सांस्कृतिक बाजामध्ये मादल पनि एक महत्वपूर्ण बाजाको रुपमा लिने गरिन्छ ।
पछिल्लो समय नेपाली सांस्कृतिक बाजागाजालोप हुँदै गए पनि धरानमा चाडवाडको बेला भएपनि मादलको बिक्री बढ्ने गरेको छ ।
धरानको मुख्य बजार भानु चोकदेखि पूर्वको देसी लाइनमा मादल बिक्री गर्दै आएका यदुनाथ अधिकारी तिहार नजिकिएसँगै मादलको बिक्री बढेको बताउँछन्।
विगत १५ वर्षदेखि मादलसँगै खुकुरीको व्यापार गर्दै आएका अधिकारीले आफ्नो पसलमा एक हजार पाँच सयदेखि रु पाँच हजारसम्मका मादल बिक्रीका लागि राखिएको बताए ।
उनले भने, “मादल कहिले धेरै बिक्री हुने त कहिले बिक्री नै नहुने समस्या छ । तर, तिहारको समयमा राम्रै बिक्री हुन्छ । एकै दिनमा आठदेखि १० वटासम्म बिक्री हुने गरेको छ ।”
उनकाअनुसार लक्ष्मी पुजाको दिनदेखि मादल बेच्न भ्याइनभ्याइ हुन्छ । हाल उनले भोजपुर, धनकुटा साथै पश्चिममा बनाइएका मादलहरु बिक्री गर्दै आएका छन् ।
धरान उपमहानगरपालिका–२ छाता चोकका सुमन चौधरी अरु समयको तुलनामा तिहारमा मादल धेरै बिक्री हुने गरेको बताउँछन् । विगत २० वर्षदेखि उनले मादलसँगै गितारलगायतका बाद्यवादनको व्यापार गर्दै आएका छन्।