धरानः धरान उपमहानगरपालिकाले नै चाडपर्वभरी बस्न छुट दिएको छ भन्दै बाटो नै ढाकेर फुटपाथ कब्जा गरी बसेका व्यवसायीलाई उपमहानगरले हटाउने तयारी थालेको छ । सोमबार साँझ प्रहरीले माइकिङ समेत गरेको छ ।
धरान उपमहानगरपालिकाले भानुचोकको घण्टाघर वरिपरी र आसपासमा रहेका फुटपाथ व्यवसाय हटाउने भएको हो । उपमहानगरपालिकाले फुटपाथ कब्जा गरी पैदल यात्रुलाई अवरोध पुग्ने गरी गरिने व्यवसायलाई हटाउन लागेको हो ।
सामाजिक सञ्जाल र मिडियामा समेत समाचार आउन थालेपछि उपमहानगरपालिकाले हटाउने तयारी थालेको हो । बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले नगर प्रहरी पठाएर भोलिदेखि सामान नराख्न सचेत गराइएको र भोलिदेखि सो क्षेत्रमा सामान राखेको पाइए जरिवानासहितको कारवाही गरिनुका साथै सामान जफत गर्ने तयारी भएको जानकारी दिए । ‘हामीले पहिल्यै राख्न हुँदैन भनेका थियौं तर उपमहानगरपालिकाले नै चाडपर्वभरी बस्न छुट दिएको भन्दै उनीहरू अटेर गरी बाटो नै ढाकेर बस्ने गरेको पाइएको छ’, उनले भने, ‘आजसम्म जे भयो भयो, भोलिदेखि त्यस्तो हुन दिन्नौं ।’
उपमेयर अइन्द्रविक्रम बेघाले बाटोमा फुटपाथ राख्दा दुर्घटना समेत हुने हुनाले यसको विकल्प पसलहरू रहेको बताउँदै यसलाई तत्काल हटाउन लगाइएको बताए । फुटपाथ व्यवसाय हटाएपछि उपमहानगरपालिकाको फुटपाथ क्षेत्रमा पैदल यात्रीले सुरक्षित यात्रा गर्न सकिने वातावरण सिर्जना हुने दाबी गरेको छ । पैदल यात्रुको सुरक्षाका लागि निर्माण गरिएको फुटपाथ क्षेत्रमा व्यवसायीहरुले व्यापार गर्ने थलोको रुपमा प्रयोग गर्ने गरेकाले फुटपाथ असुरक्षित हुने गरेको छ ।
फुटपाथमा पसल हुने गरेकाले पैदल यात्रु सडकबाट हिँड्नु पर्ने बाध्यता छ । जसका कारण सडक दुर्घटना निम्तिने गरेको छ । धरान उपमहानगरपालिका आफैंले सडक साँघुरो भएको कारण देखाउँदै एकतर्फी नियम समेत लगाएको छ ।




