संखुवासभाः संखुवासभामा मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा भल्भो टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी अरुण तेस्रो जलविद्युत परियोजनामा कार्यरत २ जना भारतीय मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ । मकालु –५ फ्याक्सिन्दा दोभानमा एचपी ११–४९३३ नम्बरको टिपर बुधबार साँझ दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।
दुर्घटनामा परेर अरुण तेस्रो परियोजनामा कार्यरत टिपर चालक भारतीय नागरिक ५७ वर्षीय शैलेन्द्र प्रताप सिंह र टिपरमा सवार २९ वर्षीय सारुक महमद रहेको डिएसपी बस्नेतले बताए ।
ड्याम साइडमा काम गरेर फर्किने क्रममा साँझ ७ बजेतिर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको हो । टिपर सडकबाट करिब ५० मिटरजति तल खसेको थियो । दुर्घटनामा परेर २ जना घाइते भएका छन् । घाइते हुनेहरु पनि भारतीय नागरिक नै हुन् ।
दुर्घटनामा परेर टिपरमा सवार भारतीय नागरिक २८ वर्षीय योगेन्द्र पाल र ४० वर्षीय ईश्वर पासवान घाइते भएको डिएसपी बस्नेतले बताए । घाइतेमध्ये गम्भीर अवस्थाका पासवानलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाइएको छ । सामान्य अवस्थाका पालको खाँदबारी अस्पतालमै उपचार भइरहेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।