Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

देउसीभैलोमा मौलिकता लोप हुँदै

हाम्रो कोशी आवाज
कार्तिक १९ २०८१, सोमबार
देउसीभैलोमा मौलिकता लोप हुँदै

-सुवास दर्नाल
तिहार भन्ने बित्तिकै देउसीभैलोको याद आइहाल्छ । तर पछिल्लो समय तिहारमा फाट्टफुट्ट खेलिने देउसीभैलोमा मौलिकता लोप हुँदै गएको छ । खोटाङको ऐंसेलुखर्क गाउँपालिका–६ ज्यामिरेकी मिना रसाइलीलाई आफू सानो छँदा खेलेको देउसीभैलोको याद खुब आउँछ । तर पछिल्ला वर्षहरुमा देउसीभैलो खेल्दा त्यो मौलिकता नभेटिएको उनले बताइन् । हरेक चाडपर्वको आफ्नै महत्व र विशेषता छ । तिहारको रमाइलो पक्ष झिलिमिली र देउसीभैलो हो । तर पछिल्लो समय देउसीभैलो खेल्ने शैली परिवर्तन भएको छ ।
आधुनिक प्रविधिले नेपाली मौलिक संस्कार ओझेलमा पारेको सिद्धिचरण नगरपालिका–७ ओखलढुङ्गाका राकेश श्रेष्ठ बताउँछन् । देउसीभैलो खेलिने प्रसङ्गमा बलिराजाको कथा जोडिएर आउँछ । ती कथनहरु तिहारको समयमा देउसीभैलोमा प्रकट गर्ने पुरानो संस्कार भएको बुढापाका बताउँछन् । तर आधुनिकताको प्रभाव बढ्दा देउसीभैलोको मौलिकता लोप हुन थालेको नेचासल्यानकी हरिमाया कटेलको बताउँछिन् ।
‘एक त गाउँघरमा युवा छैनन्, भएकाहरु पनि क्यासेट बजार नाच्छन् गाउँछन् मुखले भट्टाएर, मादल बजाएर देउसी खेल्ने चलन हरायो’, कट्टेलले भनिन् । मौलिक देउसीभैलोको सट्टा रेकर्ड गरिएका गीतमा नृत्य प्रस्तुत गर्दा देउसीभैलोको मौलिकता ओझेलमा परेको छ । हिन्दी, अङ्ग्रेजी तथा भड्किलो शैलीका गीतमा प्रस्तुत गरिने नृत्यलाई देउसीभैलो मान्ने जमात बढ्दो छ ।
‘पहिले–पहिले काग तिहारदेखि गाउँका ठिटाठिटी जम्मा हुन्थे । पाँच-छ दिनसम्म नाचगान र देउसी खेल्ने चलन हुन्थ्यो’, सोलु दूधकुण्ड नगरपालिका–११ तिङ्लाका ९९ वर्षीय टकबहादुर नेपालीले पुराना दिन सम्झिए, ‘तिहार लागेपछि गाउँको रौनक अर्कै हुन्थ्यो । अहिले त गाउँघरमा बुढापाका भन्दा कोही छैनन्, गाउँ नै शून्य छ देउसी र भैलो नै सुनिँदैन ।’
उनलाई यस वर्ष तिहार लागे जस्तै लागेन । अधिकांश युवा वैदेशिक रोजगारमा छन् । भएका युवा पनि कर्मथलोबाट गाउँ फर्किएनन् । जसले गर्दा तिहारमा गाउँघर सुनसान बनेको नेचासल्यानका राजीव शर्माले बताए । उनले भने, ‘गाउँघरमा पाका पुस्ताहरु मात्र बाँकी छन् युवा धेरै विदेशमा छन् । काठमाडौँ गएकाहरु पनि फर्किएनन् । त्यसैले तिहारमा गाउँघर रमाइलो छैन् ।’
युवा गाउँमा रित्तिएसँगै बुढापाका, बालबच्चा र असक्त मात्रै बाँकी रहेको स्थानीय बताउँछन् । सोताङका शिक्षक रामबहादुर बस्नेतका अनुसार गाउँघरदेखि जिल्लाका बजारमा देउसीभैलो खेल्ने खासै देखिएका छैनन् । केटाकेटीहरु छिटफुट देउसी खेल्न हिँडेको उनले बताए । विगतमा टोलैपिच्छे विभिन्न समूह तथा क्लबले दिउसी खेल्ने चलन भए पनि यस वर्ष देउसी खेल्ने मान्छे नभएपछि धेरै गाउँहरुमा सामूहिक देउसी खेल्नेक्रम बढेको छ ।
गाउँघरमा रमाइलो गर्ने मान्छे कम भएपछि गाउँका सबै एकै ठाउँमा जम्मा भएर ‘साउण्ड सिस्टम’ बाट गीत बजाएर देउसी खेलेको मुक्लीका स्थानीय गणेश विकले बताए । यस वर्षको तिहारमा सदरमुकाम सल्लेरी बजारमा विगतमाझैं चाडपर्वको रौनक देखिएन । सल्लेरी बजार सुनसान छ भने व्यवसायीमा व्यापार नभएको गुनासो छ । अघिल्लो वर्षसम्म तिहार आसपासमा दैनिक रू ९० हजारसम्मको व्यापार हुने गरेकामा यस वर्ष मुस्किलले रू १० हजारको व्यापार भएको सल्लेरीका व्यापारी निरकुमार नेपालीले बताए ।
‘आर्थिक सङ्कटले मुलुक ग्रस्त बनिसकेछ, पहिला जस्तो किनमेल गर्ने मानिस नै छैनन् । सल्लेरीमा मैले पसल गरेको पाँच÷छ वर्ष भयो तर यस वर्षको जस्तो तिहार कहिल्यै भएको थिएन’, उनले भने, ‘तिहारका लागि आवश्यक मसलादेखि फलफूलसमेत बिक्रीका लागि ल्याइयो तर किन्ने मान्छे नै आएनन् ।’ किराना होस वा अन्य पसलमा ग्राहकहरुको उपस्थिति थोरै छ ।
व्यवसायीमा निराशा छाएको देखिन्छ । ‘कोरोना कहरको समयमा योभन्दा राम्रो व्यापार भएको थियो, तर अहिले त्योभन्दा खस्कियो, खै किन हो सर्वसाधारणमा चाडवाडको उमङ्ग देखिँदैन’, बासाका स्थानीय व्यापारी उजीर कार्कीले भने । विगतमा सुरक्षाका कारण राति ९ बजेपछि देउसीभैलो खेल्न प्रशासनले प्रतिबन्ध लगाउने गरेको थियो । तर पनि रातभर देउसीभैलो खेल्नेको कमी नहुने सल्लेरीका स्थानीय बाबुराम श्रेष्ठले स्मरण गरे ।
यस वर्ष २४सै घण्टा देउसीभैलो खेल्ने व्यवस्था प्रशासनले मिलाएको छ । तर देउसीभैलो खेल्नेहरु भेटिँदैनन् । रातभर गुञ्जिने देउसे गीत साँझ ७ नबज्दै बन्द हुने गरेको स्थानीयको भनाइ छ ।
पहिले पहिले रोजगार, अध्ययन तथा काम विशेषले जिल्ला बाहिर जानेहरु तिहारअघि गाउँ फर्किन्थे । यस वर्ष चाडपर्वमा गाउँ फर्कनेको संख्या खासै नदेखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । चाडपर्वमा यात्रु नठगिउन् भनेर ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष सञ्चालन गरेर समन्वय गरेको छ ।
यद्यपि जिल्ला भित्रिनेको संख्या न्यून हुँदा कतिपय गाडीहरु खाली आउने गरेको दूधकुण्ड ज्वालामाइ यातयात समितिका सदस्य जीवन थापाले बताए । उनले भने, ‘अघिल्लो वर्ष काठमाडौँबाट सोलु आउने टिकट नपाएर हामीले रातारात राति नै गाडी काठमाडौँ फर्काउनु परेको थियो । यसपाली त्यस्तो छैन् । जिल्ला आउने यात्रु नहुँदा गाडी काठमाडौँ मै थन्किएर बसेका छन् ।’ रासस

प्रकाशित मिति: कार्तिक १९ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend