धरानः सुनसरीको बराहक्षेत्र-३ मा मोटरसाइकलको ठक्करले एकजनाको मृत्यु भएको छ ।
बराहक्षेत्र-३ नडाहापुल चोकस्थित भित्री पक्की सडक खण्डमा पकलीबाट चतरातर्फ आउँदै गरेको प्र१–०२–०४३प ६६६२ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको पैदलयात्री ४५ वर्षीय लोकबहादुर पौडेललाई ठक्कर दिई दुर्घटना हुँदा पैदलयात्री लोकबहादुर पौडेलको टाउकोमा चोट लागी गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै विराटनगरस्थित टिचिङ अस्पताल पुरयाउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
मोटरसाइकल चालक इटहरी-२ का ४० वर्षीय राजन राजन धमलाको टाउको, मुख, नाकमा चोट लागेको छ भने मोटरसाइकलको पछाडि सवार २० वर्षीया बन्दना धमलाको हात, खुट्टामा चोट लागेको छ । उनीहरूको धरानस्थित बीपी प्रतिष्ठानमा उपचार भइरहेको छ ।
मोटरसाइकल र बस जुध्दा एकजनाको मृत्यु
मोटरसाइकल र बस एकआपसमा जुध्दा ठक्कर दिई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते बनेका छन् ।
मोरङको रतुवामाई-१० आमबारी-उर्लाबारी भित्री पक्की सडक खण्डमा आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको ना४ख ४०१३ नम्बरको बस र उर्लाबारीबाट आमबारीतर्फ आउँदै गरेको प्र.१–०१–०१४ प २४४३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक झापाको कमल गाउँपालिका ५ बस्ने २८ वर्षीय सन्देश गौतम रहेको प्रहरीले जनाएको छ । दाहिने हातको जोर्नीको भागमा गम्भीर चोट, मुख तथा पेटमा चोट लागेका उनको उपचारका लागि आर्या न्यूरो अस्पताल विराटनगरपुरयाउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
ट्याक्टरबाट झरेर जना मृत्यु
संखुवासभा मादी-६ मा टयाक्टरबाट झरेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मादी-६ बस्ने ४५ वर्षीय लोकबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । पिलुवाबाट ओखरबोटेतर्फ जाँदै गरेको चालक सोही स्थानका ४० वर्षीय ज्ञानु तामाङले चलाएको को४त ७७६५ नम्बरको ट्याक्टरमा सवार उनको धरानस्थित बीपी प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको ठक्करले मृत्यु
झापामा मोटरसाइकलको ठक्करले एकजनाको मृत्यु भएको छ ।
कन्काइ-५ चप्रमारीमा मे११प ३३८ नम्बरको मोटरसाइकलले बाटोमा खेल्दै गरेका ७ वर्षीय सोहन पाठकलाइ ठक्कर दिँदा घाइते बनेका उनको बिर्तासिटी अस्पताल पुरयाउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।