Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बराहक्षेत्रमा भुइँकटहर खेती गरेर १४ लाख चोखो बचत

हाम्रो कोशी आवाज
कार्तिक २१ २०८१, बुधबार
बराहक्षेत्रमा भुइँकटहर खेती गरेर १४ लाख चोखो बचत

बराहक्षेत्र : बराहक्षेत्र नगरपालिका-६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवाबाट निवृत्त भएपछि शुरूमा वैदेशिक रोजगारीमा जाने सोच बनाएका थिए । तर पछि विदेशमा गर्ने दुःख यही गर्न सके केही उपलब्धि हुन्छ कि भन्ने सोचले उनी कृषि क्षेत्रमा सक्रिय भए ।
अहिले उनलाई तत्कालीन समयमा आफूले लिएको निर्णय सही लागेको छ । तत्कालीन समयदेखि भुइँकटहर खेतीकोमा लागेका उनले यसैबाट मनग्गे आम्दानी गरिरहेका छन् ।
हाल उनले एक विघामा भुइँकटहर लगाएका छन् । यसबाट वार्षिक १५ लाख आम्दानी हुने गरेको उनले सुनाए । वार्षिक एक लाख खर्च खर्च कटाउँदा १४ लाखसम्म सजिलै बचाउन सकिने उनको भनाइ छ ।
उनले भने, ‘भुइँकटहरको माग राम्रो छ र बजारमा भनेको मूल्य पनि पाइन्छ । गत वर्षभन्दा अझ केही विरुवा थप गरेको छु अर्को वर्ष आम्दानीमा अझै बढ्छ ।’
उनका अनुसार भुइँकटहरको खेतीमा वर्षपिच्छे ठूलो मेहनत पनि चाहिन्न । वर्षमा एक पटक गोडमेल गर्दा पनि राम्रो आम्दानी लिन सकिन्छ । उनले भुइँकटहर प्रतिगोटा एक सयदेखि रु एकसय ५० सम्म बिक्री गर्दै आएका छन् । भुइँकटहर लिन कतिपय व्यापारीहरु फर्ममै आइपुग्ने उनको भनाइ छ ।
अहिले सुनसरीको बराहक्षेत्रमा भुइकटरको खेती गर्ने किसानको सङ्ख्या सीमित भएकाले बिक्रीका लागि समस्या नभएको उनले सुनाए । उनका अनुसार विरुवा बिक्रीबाट मात्रै वार्षिक एक लाख ५० हजारसम्म आम्दानी हुने गरेको छ ।
उनले एउटा विरुवालाई १० देखि २० सम्ममा बिक्री गर्दै आएका छन् । उनको व्यावसायिक भुइँकटहरका लागि नगरपालिकाले अनुदान स्वरूप ७७ हजार उपलब्ध गराइसकेको छ ।

प्रकाशित मिति: कार्तिक २१ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend