Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

निरीक्षकले नियतबश नै विद्यार्थीलाई फेल पारे, बोर्डले पास गरायो

हाम्रो कोशी आवाज
कार्तिक २२ २०८१, बिहिबार
निरीक्षकले नियतबश नै विद्यार्थीलाई फेल पारे, बोर्डले पास गरायो

खोटाङ: माध्यमिक शिक्षा परीक्षा (एसईई)मा परीक्षा निरीक्षकको लापर्वाहीले अनुत्तीर्ण भएका एक छात्रलाई राष्ट्रिय परीक्षा बोर्डले उत्तीर्ण घोषित गरेको छ । खोटाङको केपिलासगढी गाउँपालिका– ५, सप्तेश्वरस्थित थर्पुडाँडा माध्यमिक विद्यालयका छात्र शिवकुमार राईको उत्तरपुस्तिका निरीक्षकले नियतवश केरमेट गरेर अनुत्तीर्ण गराएको आरोपसहित ती छात्रका आफन्तले बोर्डमा उजुरी दिएका थिए । उजुरीका आधारमा राष्ट्रिय परीक्षा बोर्डले पुनः उत्तरपुस्तिका परीक्षण गरी उनी उत्तीर्ण भएको सूचना सार्वजनिक गरेको छ ।
२० चैत २०८० मा पृथ्वी माध्यमिक विद्यालय बाक्सिला केन्द्रमा भएको अनिवार्य विज्ञान तथा प्रविधि विषयको परीक्षाको उत्तरपुस्तिकामा निरीक्षकले केरमेट गरिदिएका थिए । गत असोज– १३ गते उत्तरपुस्तिका पुनः परीक्षणका लागि निवेदन दिएपछि यही कात्तिक– ४ गते राष्ट्रिय परीक्षा बोर्डबाट प्रकाशित सूचनामा शिवकुमारको नतिजा सुधार भएर आएको उनका बुबा परशुराम राईले जानकारी दिए ।
हालै प्रकाशित नतिजाअनुसार शिवकुमार ३.४५ जीपीएसहित उत्तीर्ण भएका छन् । पूरक परीक्षामा भने शिवकुमारको जीपीए ३.५५ थियो । अब भने पछिल्लो नतिजा अर्थात् (३.४५ जीपीए) कायम हुने जनाइएको छ । परीक्षाको नतिजा सुधारपछि शिवकुमार गाउँपालिकाकै सबैभन्दा बढी ३.४५ जीपीए ल्याएर एसईई उत्तीर्ण गर्ने विद्यार्थी घोषित भएको गाउँपालिका प्रमुख समिर राईले जानकारी दिए ।
छात्रातर्फ थर्पुडाँडा माध्यमिक विद्यालयकै क्याल्सी राई ३.३९ जीपीए ल्याएर छात्रातर्फ उत्कृष्ट भएकी थिइन् । केपिलासगढी गाउँपालिकाले एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने छात्रछात्रालाई प्रोत्साहनस्वरुप १/१ लाख नगद पुरस्कार दिँदै आएको छ । गाउँपालिकाले पुरस्कार दिन थालेपछि थर्पुडाँडा माध्यमिक विद्यालयका विद्यार्थीलाई फेल गराउने नियतले उत्तरपुस्तिका कोरेको बुवा पर्शुरामको आरोप छ ।
ती निरीक्षकमाथि कारबाहीको माग गर्दै गत २२ असोजमा जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ र जिल्ला प्रहरी कार्यालयमा विद्यालय व्यवस्थापन समिति र अभिभावकले उजुरीसमेत दिएका थिए । तर, उनलाई हालसम्म कुनै कानुनी कारबाही गरिएको छैन ।

प्रकाशित मिति: कार्तिक २२ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend