धरानः सुनसरी प्रहरीले एक युवाको हत्या गरी फरार रहँदै आएका एकजनालाई पक्राउ गरेको छ ।
उनलाई छठ मनाउन सुनसरी आएको मौका पारी प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए । पक्राउ पर्नेमा इनरुवा–१० विनायककुमार यादव रहेको उनले जानकारी दिए ।
उनी भारतबाट छठ मनाउन सुनसरी आएको सुइँको पाएपछि प्रहरीले निगरानी अघि बढाएको र बिहीबार नेपाल–भारत सीमानजिक कोशी गाउँपालिका ८ पथरचट्टान भन्ने ठाउँबाट जिÞल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी कोशी ब्यारेज सुनसरीको संयुक्त खटिएको प्रहरी टोलीले उनलाई गोली हानी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ‘पक्राउ गर्न खोज्दा भाग्न खोजेकोमा घुँडामुनि हुने गरी एक राउण्ड फायर गर्दा उनी आत्तिएर ढल्न पुगेका थिए’, प्रहरी प्रवक्ता तिमल्सिनाले भने, ‘त्यतिबेलै प्रहरीले उनलाई पक्राउ गरी ल्याइएको हो ।’
२०६५वैशाख १६ गते उनीसँगै श्यामकुमार यादवले प्रकाशपुर–६ बस्ने ३९ वर्षीय केशव कार्कीलाई गोली प्रहार गरी घाइते बनाएका थिए । घाइतेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो । उनलाई सो समयमा सिक्सर रिभोल्भर पेस्तोल र गोली ११ राउण्ड गोलीसहित पक्राउ गरिएको र अदालतले २० वर्ष ०८ महिना १४ दिन सजाय समेत तोकेको प्रहरीले जनाएको छ ।
उनी सजाय भुक्तानका लागि झुम्का कारागारमा रहँदा २०६९ कार्तिक २३ गते सुरुङ खनी भागेका थिए । ‘झुम्का कारागारवाट दक्षिण साइडको पर्खालको भित्री भागबाट सुरूंङ खनी भागेका १२ जनामध्ये यादव हुन् ।’ प्रहरी प्रवक्ता तिमल्सिनाले जानकारी दिए । उनलाई पुनः पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सप्तरीले गोबरगाड़ाबाट पक्राउ गरी सिन्धुपाल्चोक कारागारमा कैद भुक्तानीको लागि पठाइएकोमा पुनः २०७२ वैशाख १२ मा फरार रहँदै आएको प्रहरीले जनाएको छ । उनी त्यसपछि मधेशी मुक्ति टाइगरमा आवद्ध रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।
उनी भारतको विहार राज्य सुपोल जिल्ला शिवनगर ग्राम पञ्चायत रानीगञ्जमा बहिनीको घरमा बस्ने गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई राखिएको र कैद भुक्तानका लागि सुनसरी जिल्ला अदालत पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । पुनः पक्राउ परेपछि उनीमाथि थप कानुनी सजाय हुने व्यवस्था रहेको प्रहरीले जनाएको छ । कारागार ऐन, २०१९ (मिति २०७४ को संशोधन समेत) को दफा २४ को उपदफा ३ बमोजिम पक्राउ परेपछि बाँकी कैदको डेढ बढाइ सजाय हुने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ ।