धरानः उपत्यका बाहिर पहिलोपटक चिकित्सा शिक्षा अध्ययन गर्न शुरु गरेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययन गरेका विद्यार्थीहरू अहिले नेपालका विभिन्न प्रतिष्ठानसँगै विदेशका अस्पतालहरूको नेतृत्व गरिरहेका छन् ।
प्रतिष्ठानको स्थापन भएको ३० वर्षमा प्रतिष्ठान भनेको विकास भने जस्ताको त्यस्तै छ । यसको विकास तथा प्रवद्र्धन तथा अनुभव आदान प्रदान गर्न उद्देश्यले प्रतिष्ठानका अध्ययन गरेका पूर्व विद्यार्थीहरू पहिलोपटक भेला हुने भएका छन् ।
पूर्व विद्यार्थी सङ्घ गठन गर्दै उनीहरूले प्रतिष्ठानको स्थापनाको ३० वर्षपछि पहिलोपटक पूर्व विद्यार्थी सम्मेलन गर्न लागेका हुन् । प्रतिष्ठानमा आइतबार कार्तिक २५ गते हुने सम्मेलनमा प्रतिष्ठानको मात्र नभई देशकै प्रतिष्ठानहरू तथा चिकित्सा क्षेत्रको विकास, अध्ययन अनुसन्धानको बारेमा समेत छलफल हुने पूर्व विद्यार्थी संघका महासचिव एडिसनल प्रोफेसर डाक्टर विकास साहले जानकारी दिए ।
‘सम्मेलनमा प्रतिष्ठानको विकास सँगै चिकित्सकहरूको समस्याहरूसँगै अनुभव आदानप्रदान हुनेछ’, उनले भने, ‘विदेशमा विभिन्न विश्वद्यालयमा छात्रवृत्तिबाट अध्ययन तथा अनुसन्धान गर्न जाने चिकित्सकहरूलाई त्यहाँ रहेका पुर्व विद्यार्थीहरूले सहजीकरण गर्नेछन् ।’
प्रतिष्ठानमा अध्ययन गरेका दुईजना चिकित्सकहरूले नेपालका दुई प्रतिष्ठानको नेतृत्व गरिरहेका छन् । भारतको एम्स मेडिकल कलेजको अवधारणामा नेपालमै पहिलोपटक धरानमा चिकित्सा शिक्षा अध्ययन, अनुसन्धान तथा विशेषज्ञ उपचार गर्ने उद्देश्यले पहिलो प्रतिष्ठानको रूपमा प्रतिष्ठानको स्थापना भएको थियो ।
प्रतिष्ठानका पूर्व विद्यार्थी डाक्टर मङ्गल रावल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको रूपमा काम गरिरहेका छन् भने मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत बीपीकै विद्यार्थी डाक्टर अङ्कुर शाह उपकुलपति भएर काम गरिरहेका छन् । त्यसो त कर्णालीका शिक्षाध्यक्ष डाक्टर डवल राज धामी, निर्देशक डाक्टर पुजन रोकाया पनि बीपीकै उत्पादन हुन् ।
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार प्राध्यापक श्याम लम्साल तथा मेडिकल काउन्सिल का रजिस्ट्रार डाक्टर शितस देव पनि प्रतिष्ठानकै उत्पादन हुन् भने बीपीका अस्पताल निर्देशक डा जगतनारायण पनि यहीका उत्पादन हुन् । यो सँगै बीपीको अध्ययन गरेका विद्यार्थीहरू भारतका विभिन्न अस्पतालसँगै अमेरिका, क्यानडा, अष्ट्रेलियालगायतका देशका अस्पतालहरूमा समेत नेतृत्वदायी भूमिकामा रहेका छन् । सम्मेलनले प्रतिष्ठानको सँगै देशकै चिकित्सा शिक्षा क्षेत्रमा देखिएका विकृति विसङ्गतिको अन्त्य गर्न महत्वपूर्ण सहयोग संघले जनाएको छ ।