Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मनमोहनमा बिबिए, एलएलवी र अपराध शास्त्रमा कक्षा शुरु गर्ने तयारी

हाम्रो कोशी आवाज
कार्तिक २५ २०८१, आइतबार
मनमोहनमा बिबिए, एलएलवी र अपराध शास्त्रमा कक्षा शुरु गर्ने तयारी

धरानः मनमोहन प्राविधिक विश्वविद्यालयले कानुनतर्फ पनि स्नातक र स्नातोकोत्तरमा पढाइ शुरु गर्ने भएको छ ।
विश्वविद्यालयले विराटनगरमा कलेज स्थापना गरेर यही मंसिरदेखि पठनपाठन शुरु हुने गरी स्नातकतर्फ बिबिए एलएलबी र स्नातकतर्फ अपराध शास्त्रमा एलएलएम कक्षा शुरु गर्ने तयारी पूरा गरेको हो ।
स्नातकतर्फ नेपालमै पहिलोपटक बिबिए एलएलबीको पाठयक्रम निर्माण गरेर पढाई शुरु गर्न लागेको विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले जानकारी दिए । ‘व्यवस्थापन विषयसँगै कानुनमा दक्ष जनशक्ति उत्पादन गर्न हामीले नयाँ नमूना कोर्ष निर्माण गरेर पठनपाठन सुरु गराउन लागेका हौं’, उपकुलपति पोखरेलले भने ।
उपकुलपति पोखरेलका अनुसार बिबिए एलएलबीको कोर्ष ५ वर्षको हुनेछ । विद्यार्थीहरुले अति न्यून शुल्क ४ लाख ५० हजारमै कोर्ष पुरा गर्न पाउनेछन् । मनमोहनले नयाँ कोर्ष अनुसार कानुन पढ्न चाहने विद्यार्थीहरुलाई विशेष छात्रवृत्तिको व्यावस्था पनि गरेको छ । महिला, दलित लगायतलाई ४५ सिटको कोटा मध्येबाट १० प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ ।
बिबिए एलएलवी कोर्षमा सैद्धान्तिक नभएर बढी प्रयोगात्मक शिक्षामा जोड दिइनेछ । यो विषय पढने विद्यार्थीहरुले आफै अनुसन्धान र सर्वे गर्नेदेखि डिजिटल अपराधका बारेमा पनि प्रयोगात्मक ज्ञान पाउनेछन् । यसैगरी खरिद प्रक्रियाबारे पनि विद्यार्थीहरुलाई प्रयोगात्मक ज्ञान दिइनेछ ।
विश्वविद्यालयका कानुनी सल्लाहकार कोषराज न्यौपानेका अनुसार नयाँ कोर्ष अनुसार विविए एलएलबी र एलएलएमतर्फ कानुनी शिक्षा पढाउन विदेशबाट समेत विज्ञ शिक्षकहरु ल्याइनेछ । कानुन पढन चाहने विद्यार्थीहरुले यही कार्तिक मसान्तभित्र अनलाइनमार्फत आवेदन दिइसक्नुपर्नेछ ।
कोशी प्रदेश सरकारले स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनमा हालसम्म सिभिल र ईलेक्टोनिक्स एण्ड इलेक्टिक इन्जिनियरिंगमा स्नातक, विफर्मातर्फ स्नातक र अस्पताल व्यावस्थापनतर्फ स्नातोकोत्तरको पढाई सुरु गरिसकेको छ ।
२०७६ मा स्थापना भएको यो विश्वविद्यालयले १० वर्षभित्र तीन वटा स्कुल अन्र्तगत विभिन्न २८ विषयमा पिएचडीसम्मको पठनपाठन गराउने लक्ष्य लिएको छ ।

प्रकाशित मिति: कार्तिक २५ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend