Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा प्रधानमन्त्री ओली, बीपी प्रतिष्ठानको दीक्षान्त समारोह भव्य, ६५७ विद्यार्थी दीक्षित (३८ तस्वीर र भिडियोसहित)

हाम्रो कोशी आवाज
कार्तिक २६ २०८१, सोमबार
धरानमा प्रधानमन्त्री ओली, बीपी प्रतिष्ठानको दीक्षान्त समारोह भव्य, ६५७ विद्यार्थी दीक्षित (३८ तस्वीर र भिडियोसहित)

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह ८ वर्षपछि सोमबार भएको छ ।
सन् २०१६ मा १२ औं दीक्षान्त समारोह गरेको प्रतिष्ठानले सोमबार १३ औं दीक्षान्त गरेको हो । कार्यक्रममा प्रतिष्ठानका कुलपति एंवम् प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुन धरान आइपुगेका छन् । उनले विभिन्न संकायका ६५७ जना विद्यार्थीहरू दीक्षित गरेका छन् ।
सन् २०१० देखि २०१७ ब्याचका एमबीबीएस, बीडिएस, एमडी, एमएस, एमडिएस, डिएम, एमसिएच बिएससी नर्सिङ र २०१२ देखि २०१८ सम्म एएससी नर्सिङ, बिएमएलटी, बिएमआइटी, एपिएस र पिएचडी उपाधि विद्यार्थीहरूलाई उनले दीक्षित गरेका थिए । प्रतिष्ठानले प्रदान गदैं आएको मेडलहरु पनि वितरण गरिने भएको छ । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले हालसम्म एमबीबीएसमा २४ ब्याच र बीडिएसमा १८ व्याचका विद्यार्थीले शिक्षा हासिल गरेर निस्किएको बताए ।
भारतका शिक्षाविद् प्रा.डा ज्योतिर्मोय पलँ विशेष अतिथि भएको कार्यक्रममा सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल पनि सहभागी थिए ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाललाई बिरामीमुक्त देश बनाउन सरकार लागिपर्ने बताए । ‘नेपाललाई बिरामीमुक्त देश बनाउन राज्यले ध्यान दिनेछ’, उनले भने, ‘यसका लागि सबै पक्षको सहायता आवश्यक छ ।’ उनले बिरामीको उपचारका लागि नझर्किकन काम गर्न पनि चिकित्सकलाई सुझाव दिए । ‘चिकित्सकले राम्रो बोलेर उपचार गरे २५ बिरामीको प्रतिशत व्यथा निको हुन्छ’, कार्यक्रममा बोल्दै उनले भने, ‘हामी नेपाली कालाजार र मलेरियाविरुद्ध लडेर बाँचेका मान्छे हौ ं। अब अर्गानिक खानेकुरा खाएर र स्वच्छ खानेपानी पिएर सबै नेपाली रोग नै नलाग्ने हुनुपर्छ । त्यसैले नेपाललाई बिरामीमुक्त बनाउन चिकित्सकले मात्र नसक्ने भएकाले प्रत्येक नागरिकले आ–आफ्नो स्वास्थ्यमा ध्यान दिन जरुरी छ ।’
प्रधानमन्त्री ओलीले नेपालमा सिकलेसका रोगी थारु समुदायमा हुने गरेको बताउँदै छिमेकी मुलुक भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने समेत बताए । नयाँ चिकित्सकहरू सिकलसेलको औषधि वितरण गर्न तयार हुनुपर्ने उनको भनाइ छ । उनले नेपालका स्वास्थ संस्थामा चिकित्सक विद्यार्थीको कोटा थप्न, यस क्षेत्रलाई प्रभावकारी र सुशासनयुक्त बनाउन सरकार प्रतिबद्ध रहेकोे समेत बताए । उनले ध्यान दिएर मेडिकल शिक्षा क्षेत्रमा लगानी बढाउँदै काम गर्ने हो भने अन्य देशको शिक्षा प्रणालीभन्दा कमजोर नरहेको पनि बताए ।
कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले प्रतिष्ठान गौरवको प्रतिष्ठान भएको बताउँदै शिक्षा र स्वास्थ्य जनताको आधारभूत आवश्यकता भएकाले प्रत्येक नागरिकसम्म शिक्षा र स्वास्थ्यको पहुँच पुरयाउन सरकार लागिपरेको बताए । उनले पूर्वाधारलगायत थप गरेर उपचारात्मक प्रणालीलाई व्यवस्थित गर्न खोजिएको समेत बताए । उनले बीपी प्रतिष्ठानमा डाक्टर र नर्स अध्ययनरत विद्यार्थीको सिट घटेकाले आवश्यकताअनुसार वृद्धि गरिने पनि बताए ।
उनले प्रतिष्ठानलाई एमआरआई उपकरण खरिद, एमसीएच विल्डिङ बनिसकेपछि सञ्चालनका लागि आफू चिन्तित रहेको समेत बताए । आम जनतालाई स्वास्थ्य सेवाको सुविधा र पहुँचमा पुरयाउन बिमाको दायरा बढाउने कार्यमा सरकार लागि परेकोले स्वास्थ्य बीमाप्रति सरकार संवेदनशील रहेको उनले बताए । उनले सरकार स्वास्थ्य बिमाको उपचार सुविधा अहिले १ लाख रुपैयाँ सम्म भएकोमा अब ५ लाख रुपैयाँ सम्मको उपचार सुविधा पाउने गरी दायरा बढाउने नीति निर्माणमा सरका लागेको समेत बताए । तस्वीरहरूः हाम्रो कोशी आवाज

प्रकाशित मिति: कार्तिक २६ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend