Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लागूऔषधका थुनुवाले भरिन थाले प्रहरी हिरासत, मलद्वारमा समेत लुकाएर ल्याइन्छ

हाम्रो कोशी आवाज
मंसिर २ २०८१, आइतबार
लागूऔषधका थुनुवाले भरिन थाले प्रहरी हिरासत, मलद्वारमा समेत लुकाएर ल्याइन्छ

-चन्द्रकला भण्डारी
‘अरूको लहैलहैमा लागेर सुरुमा उनीहरू अर्काले दिएको लागुऔषध खान्छन् । केही समयपछि लत बस्छ । अनि, आवश्यकताले खोजीखोजी किनेर खान थाल्छन् । जब कुलत हाबी हुन्छ, उनीहरुलाई लाज, घिन र सरम भन्ने कुनै बोध हुँदैन । आफैँ कारोबारी बनेर अरूलाई बेच्न नयाँ प्रयोगकर्ता फकाउन थाल्छन्,’ दुई दशकभन्दा अघिदेखि लागुऔषध नियन्त्रण र क्षति न्यूनीकरण अभियानमा होमिएका मेचीनगर–६ का सामाजिक अगुवा सोमराज ढकालको भनाइ हो यो ।
पूर्वी नेपालको सीमावर्ती क्षेत्रमा अभियान सञ्चालन गर्दा एउटा प्रयोगकर्ता लागुऔषधको दुष्चक्रमा फसेर कसरी कारोबारीमा बदलिन्छ र समाजमा दुर्व्यसनको डढेलो फैलाउँछ भन्ने उदेकलाग्दो कैयाैँ दृष्टान्त आफूले देखेको उनले बताए ।
झापामा लागुऔषधको डढेलो कतिसम्म फैलिँदै गएको छ भन्ने थाहा पाउन प्रहरीले दिनहुँ सीमाक्षेत्रबाट लागुऔषध ओसारिरहेका युवालाई पक्राउ गरेको तथ्याङ्क हेरे पुग्छ । हरेक दिन जिल्लामा केही युवा खैरो हेरोइनसहित काँकडभिट्टा र भद्रपुर नाकाबाट पक्राउ परेकै हुन्छन् । पक्राउ परेकामध्ये अधिकांश युवा छन् । सामाजिक अभियन्ता ढकालले भने झैँ लतमा फसिसकेका युवा नै अवैध धन्दामा लागेर आफ्नो खुराक जुटाउने क्रममा सीमा क्षेत्रमा पक्राउ पर्ने गरेका छन् । किनेर खाने आम्दानीको अरू बाटो नभेटेपछि प्रयोगकर्ताहरू नै कारोबारी बन्ने गरेका हुन् ।
आर्थिक वर्ष २०७८ साउनदेखि २०८१ असार मसान्तसम्मको तीन वर्षे अवधिमा झापामा १ हजार १ सय ५ जना लागुऔषधसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले बताए । यो अवधिमा सात सय तीन जनाविरुद्ध लागुऔषध अपराधअन्तर्गत मुद्दा दर्ता भएका छन् । पक्राउपर्ने अधिकांशलाई लागुऔषध ओसारपसार गरेको अभियोग लाग्ने गरेको छ । जिल्लाभरमा पक्राउ पर्नेमा लगभग आधाजति पूर्वीनाका काँकडभिट्टाबाटै पक्राउपर्ने गरेको देखिएको छ ।
राजमार्गको निर्माण भएदेखि नै काँकडभिट्टाले पूर्वीप्रवेशद्वारका रुपमा जति चर्चा बटुलेको छ, त्यसमा अवैध कारोबारका कारण बद्नामी उत्तिकै कमाएको छ । चोरी तस्करीको अखडाको रुपमा बाह्य क्षेत्रबाट आउने व्यक्तिको अवैध गतिविधिका कारण यो सीमा क्षेत्रले बदनामी कमाउने गरेको छ । भारतको सिक्किम, दार्जिलिङ, सिलिगुढी, आसामलगायतका क्षेत्रबाट यहाँ आउने र अवैध धन्दा चलाउने गरेको स्थानीयवासीको आरोप छ । बाहिरी जिल्लाका मानिसले लागुऔषध लगायतको अवैध ओसारपसारका लागि काँकडभिट्टा नाका रोज्ने गरेका छन् ।
पूर्वीनाका काँकडभिट्टामा रहेको इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा मङ्सिरको पहिलो दिन ४५ जना रहेका थिए । तीमध्ये ३५ जना लागुऔषध अभियोगसँग सम्बद्ध थिए । काँकडभिट्टा मात्र होइन मुद्दा चलाउने अन्य इलाका र जिल्ला प्रहरी कार्यालयमा समेत लागुऔषध मुद्दाकै चाप बढेको देखिन्छ । कारागारमा समेत यही मुद्दाका कैदीबन्दी धेरै रहेका छन् ।
काँकडभिट्टा इप्रकामा महिला र पुरुष थुनुवाका लागि छुट्टाछुट्टै हिरासत कक्ष बनाइएको छ । महिला थुनुवा नभएका कारण दुबै थुनुवाकक्षमा पुरुषलाई राख्न थालिएको हो । म्याद थप्न जिल्ला अदालत लैजान र ल्याउन हरेक दिन सवारीसाधन प्रयोग गर्नुपर्ने र राज्यका तर्फबाट थुनुवालाई दैनिक १ सय २० सिदा दिनुपर्ने भएकाले थुनुवा बढ्दा इप्रका काँकडभिट्टा र राज्यलाई भार बढिरहेको छ ।
पछिल्लो समय मलद्वारमा खाँदेर सीमामा लागुऔषधको ओसारपसार गर्ने प्रवृत्ति बढेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी चन्दले बताए । ‘प्लास्टिकमा पोको पारेर मलद्वारमा राख्दा रहेछन्,’ उनले भने, ‘तालिम प्राप्त कुकुर समेत प्रयोग गरेर नाकामा निगरानी बढाएका छौँ । अभियुक्तहरू धमाधम पक्राउ परिरहेका छन् ।’
यही २७ कात्तिकमा रौतहट जिल्ला गरुडा गाउँपालिका–५ का २१ वर्षीय रमोधराय यादवलाई प्रहरीले चेकजाँच गर्दा साथमा केही भेटिएन । तर, प्रहरीको भरपर्दो सुराकीले निजसँग लागुऔषध रहेको जनाएपछि प्रहरीले यादवको मलद्वारबाट खैरो हेरोइन निकाल्यो । चन्दका अनुसार कात्तिक २४ गते अपरान्ह ३ः३० बजे भारतबाट सिटी रिक्सामा नेपाल आउँदै गरेका सिक्किमको सिंगेथान निवासी २१ वर्षीय विक्रम क्षेत्री १० ग्राम प्रतिबन्धित खैरो हेरोइनसहित पक्राउ परे ।
मोरङको पथरी शनिश्चरे नगरपालिका–८ मा अस्थायी बसोबास गर्दै आएका क्षेत्री पनि मलद्वारभित्र प्लास्टिकको थैलोमा खैरो हेरोइन लुकाएर ल्याउँदै गर्दा पक्राउ परेका थिए । ‘प्लास्टिकको पोका पारी मलद्वारमा राखी लुकाइछिपाई ल्याउँदै गर्दा मेची पुलमा खटिएको लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको टोलीले लागुऔषधसहित नियन्त्रणमा लिएको हो,’ उनले भने, ‘अभियुक्तलाई काँकडभिट्टा इप्रकामा राखेर थप अनुसन्धान भइरहेको छ ।’ कात्तिकको तेस्रो साता भद्रपुरस्थित मेची पुलमा ढाडमा लागुऔषधको पोका लुकाएर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा स्कुटर चालक युवती पक्राउ परेकी थिइन् । पक्राउ परेकी भद्रपुर नगरपालिका–९ निवासी २८ वर्षीया एसिया लिम्बुले लागुऔषध ओसार्न प्रदेश १–०१–०१४ प ९२६६ नम्बरको स्कुटर प्रयोग गरेकी थिइन् ।
लागुऔषधका कारोबारी र प्रयोगकर्ताहरुले पछिल्लो समय शरीरका गुप्ताङ्गमा लुकाएर भारतबाट लागुऔषध ल्याउने शैली अपनाएको पाइएको प्रहरीको भनाइ छ । प्रहरीले झापाको काँकडभिट्टा, भद्रपुरलगायत नाकामा लागुऔषधको ओसारपसारविरुद्ध निगरानी कडा तुल्याउँदै आएको छ । झापामा आव २०७८-७९, २०७९-८० र २०८०-८१ मा जम्मा ९७ केजी गाँजा र छ केजी खैरो हेरोइन प्रहरीले बरामद गरेको जनाएको छ ।
नाकाहरूमा नेपाल प्रहरीले लागुऔषध नियन्त्रण ब्यूरोको छुट्टै टोली खटाउने गरेको छ । टोलीले नाकामा बसेर लागुऔषधसम्बन्धी ओसारपसार नियन्त्रण र आरोपी पक्राउ गर्दै आएको छ ।
झापामा २० हजारभन्दा बढी खैरो हेरोइनका प्रयोगकर्ता रहेको ब्यूरोको जनाएको छ । भारतको सीमावर्ती बजार पानीट्याङ्की, गलगलिया र डिगलबैंकमा खैरो हेरोइन पाइने भएकाले नेपाली युवाहरू सीमा निगरानीको जोखिम मोलेरै त्यहाँ पुग्ने गर्छन् । ओसारपसारको क्रममा उनीहरू प्रहरीको फन्दामा पर्ने गरेका छन् ।
लागुऔषध नियन्त्रण ऐन २०३३ ले लागुऔषध भनी तोकिएका सामान ओसारपसार गर्नुलाई अपराध ठहर गरेको छ । कहिलेकाहीँ सेवनका लागि साथमा लागुऔषध राखेका प्रयोगकर्तासमेत यही कानुनी व्यवस्थाबमोजिम कारबाहीमा पर्ने गरेको अधिवक्ता मणी पराजुली बताउँछन् । लागुऔषधका प्रयोगकर्ता सहरजत्तिकै गाउँमा बढिरहेको र नियन्त्रणका ठोस उपायहरू कतैबाट नखोजिएको हुँदा समस्या भयावहरूपमा बढिरहेको पराजुलीको धारणा छ ।
‘प्रहरीका हिरासत मात्र होइन, कारागारहरु पनि लागुऔषध मुद्दामा पूर्पक्षका लागि थुना परेका र अभियोग प्रमाणित भई कैदी बनेकाहरूले भरिभराउ हुन थालिसकेका छन्,’ उनले भने, ‘प्रहरीले पक्रेर मुद्दा लगाउँदैमा यसको समाधान हुँदैन । सेवन गर्नु हुँदैन भन्ने जनचेतना नआएसम्म समस्या घट्ने देखिँदैन ।’
काँकडभिट्टा इलाका प्रहरी कार्यालयले आव २०८०-८१ मा पाँच महिला, एक बालक र एक तेस्रो लिंगीसहित ८२ जनालाई लागुऔषध मुद्दामा पक्राउ गरेको थियो । चालू आव २०८१-८२ को चार महिनामा सोही मुद्दामा ५६ जना पक्राउ परिसकेका छन् ।
लागुऔषधको सेवनकर्तामा हुने रोग सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि संस्थागतरूपमा कार्यक्रम सञ्चालन गर्दै आएको रिचमोन्ड फेलोसिप मोरङका परियोजना प्रमुख सोमराज ढकालले झापामा ९ सयजना प्रयोगकर्ता संस्थाको सम्पर्कमा रहेको बताए । ‘एचआइभीलगायतका कुनै सङ्क्रामक रोगको जोखिम नहोस् भनेर हामी उनीहरुको नियमित सम्पर्कमा हुन्छाैँ, ता कि लागुऔषधको लत न्यूनीकरण पनि होस्,’ ढकालले भने ।
भद्रपुरमा दैनिक १ सय २० जना लागुऔषधका प्रयोगकर्ताले मौखिक प्रतिस्थापन उपचार पद्धतिबाट कुलत छाड्ने प्रयास गरिरहेको समेत उनले बताए ।
नेपाल सरकारले पछिल्लोपटक २०७६ सालमा लागुऔषधका प्रयोगकर्ताका बारेमा राष्ट्रिय सर्वेक्षण गरेको थियो । यस सर्वेक्षणले मुलुकमा यसको डढेलो भयावहरूपमा फैलिइरहेको तस्बिर बाहिर ल्याएको थियो ।
सर्वेक्षणअनुसार २०७६ सालसम्ममा एक लाख ३० हजार चार सय २४ लागुऔषधका प्रयोगकर्ता थिए । त्यसमध्ये पुरुष १ लाख २१ हजार छ सय ९२ जना र महिला आठ हजार सात सय ३२ जना थिए । वि.सं २०६३ मा ४६ हजार तीन सय ९ जना मात्र रहेकामा २०६९ सालमा यो सङ्ख्या बढेर ९१ हजार पाँच सय ३४ जना पुगेको सर्वेक्षणले देखाएको लागुऔषधविरुद्ध विभिन्न परियोजनामा लामो समय नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका मेचीनगरका गोविन्द न्यौपाने बताउँछन् । नेपालमा लागुऔषध प्रयोगकर्ताको वार्षिक वृद्धिदर ५.६ प्रतिशत रहेको जनाउँदै उनले ९० प्रतिशत प्रयोगकर्ता ३० वर्षमुनिको रहेको जानकारी दिए । प्रयोगकर्तामध्ये २० प्रतिशतले आफ्नै घरलाई सेवन गर्ने थलो बनाएको र साथीसङ्गीको दबाबमा परेर कुलतमा फसेकाहरू ६८ प्रतिशत रहेका छन् ।

मलद्वारमा लागुऔषध लुकाएर ल्याउने २३ कारोबारी पक्राउ
काँकरभिट्टा नाकाबाट मलद्वारमा लागुऔषध लुकाएर ल्याउने २३ जना कारोबारी पक्राउ परेका छन् ।
मलद्वारमा लुकाएर ल्याउँदा सुरक्षित हुने ठानेर त्यस उपायलाई धेरैले अपनाउन थालेपछि सशस्त्र प्रहरीले शिकारी कुकुरको सहयोगमा त्यस्ता कारोबारीहरुलाई पक्राउ गरेको हो ।
गत साउन १ देखि कात्तिक ३० गतेसम्म मलद्वारमा ब्राउनसुगर लुकाएर ल्याउने २३ जना कारोबारी पक्राउ परेको सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाले जनाएको छ । कारोबारीले प्लाष्टिकमा पोको पारेर मलद्वारमा ३५ ग्रामसम्म ब्राउनसुगर ल्याउने गरेको पाइएको छ ।
गुल्मले चार महिनाको अवधिमा लागुऔषधसहित ३५ जनालाई पक्राउ गरेकोमा २३ जना मलद्वारमा ल्याउनेहरु रहेको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक महेशराज बिष्टले बताए ।
साथमा ल्याउने ७ जना, मुखमा हालेर ल्याउने एकजना, हेल्मेटभित्र लुकाएर ल्याउने एकजना, सूर्तिको प्याकेटभित्र ल्याउने एकजना, झोलामा ल्याउने एकजना र साइकलको हेन्डलभित्र ल्याउने एकजना पक्राउ परेको डीएसपी विष्टले जानकारी दिए ।
चार महिनाको अवधिमा सशस्त्र प्रहरीले १६०.०१० ग्राम ब्राउनसुगर काँकरभिट्टा नाकाबाट बरामद गरेको छ । त्यसमध्ये ११८.०६० ग्राम ब्राउनसुगर मलद्वारबाट बरामद गरिएको डीएसपी विष्टको भनाइ छ ।
सशस्त्र प्रहरीले काँकडभिट्टा नाकामा दुईवटा तालिमप्राप्त कुकुर राखेको छ । जोजो भन्ने कुकुरले सुँघेर लागुऔषध पत्ता लगाउने गरेको छ ।

प्रकाशित मिति: मंसिर २ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend