Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशी प्रदेशमा पहिचानको आन्दोलन नयाँ चरणमा, तयारीस्वरुप प्रदर्शन, यी नेता ओराल्ने तयारीमा

हाम्रो कोशी आवाज
मंसिर २ २०८१, आइतबार
कोशी प्रदेशमा पहिचानको आन्दोलन नयाँ चरणमा, तयारीस्वरुप प्रदर्शन, यी नेता ओराल्ने तयारीमा

धरानः प्रदेश नं १ संयुक्त सङ्घर्ष समितिले आइतबार ‘नयाँ चरणको आन्दोलन घोषणा तथा कोशी नाम विरुद्ध विरोध प्रदर्शन’ गरेको छ । २०७९ फागुन १७ गते प्रदेश १ को नाम कोशी राखिएपछि सामुदायिक संस्थाहरू किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, नेपाल आदिवासी जनजाति महासङ्घ, नेपाल शेर्पा सङ्घ, पहिचान सहितको प्रदेश नं‍ १ पुन नामकरण अभियान समिति लगायतबाट कोशी नामको विरोध घोषणा भएकै दिनबाट सुरु भएको थियो ।
आन्दोलनरत सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनमुक्ति पार्टी, जसपा नेपाल (हाल दुवै सङ्गठन), माओवादी केन्द्र सम्बद्ध किरात र लिम्बुवान मोर्चाका नेता कार्यकर्ताहरूले आन्दोलन थालेका थिए ।
नागरिक उन्मुक्ति पार्टी, पहिचानवादी मोर्चा, राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ लगायतको सङ्गठनले निरन्तर आन्दोलन गर्दै आएको छ । आन्दोलनको क्रममा ४२ वर्षीय युवा पदम लिम्बू (लाजेहाङ) को मृत्यु भएको छ भने प्रहरीको गोली लागेर गजेन्द्र फागोको खुट्टा जीवनभर काम नलाग्ने गरी घाइते छन् । आन्दोलनमा दीक्षा क्षेत्री, सञ्जय राई लगायत २५० बढी घाइते भएका छन् ।
आइतबार विराटनगरमा विरोध प्रदर्शनसँगै नयाँ चरणको आन्दोलन घोषणा कार्यक्रमको आयोजना गरेको हो ।
विरोध सभालाई सम्बोधन गर्न माओवादी केन्द्रको उपाध्यक्ष पूर्व मन्त्री पम्फा भुसाल, पहिचानवादी मोर्चाका सदस्य सचिव पूर्व मन्त्री गोपाल किराँती, जसपा नेपाल सहअध्यक्ष पूर्व मन्त्री रकम चेम्जोङ, सोही पार्टीको पूर्व प्रदेशमन्त्री जयराम यादव, प्रदेश १ को पूर्व मुख्यमन्त्री राजेन्द्र राई, राष्ट्रिय मुक्ति क्रान्तिका अध्यक्ष पूर्व मन्त्री राजेन्द्र महतो, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेसम चौधरी, वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष विश्वभक्त दुलाल (आहुति), जसपाका केन्द्रीय नेता रमेश राई (अशोक राई नेतृत्व) लगायत आउने सङ्घर्ष समितिको संयोजक प्रेम एक्तेनले बताए ।
विरोध सभामा पहिचान सहितको प्रदेश नं. १ पुन नामकरण अभियान समितिको संयोजक डकेन्द्रसिंह थेगिमबाट नयाँ चरणको आन्दोलनको कार्यक्रम घोषणा हुने तयारी भएको छ ।
पहिचान आन्दोलनको संयोजक किरात याक्थुङ चुम्लुङको अध्यक्ष प्रेम एक्तेनको नेतृत्वमा हुने कार्यक्रममा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन (मिराक), नेपाल जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वा, नेपाल आदिवासी जनजाति महासंघका महासचिव दिवस राई, किरात राई यायोक्खा उपाध्यक्ष तिलकप्रसाद राई, शेर्पा सङ्घका महासचिव लाक्पा शेर्पा लगायत उपस्थितिमा सयौँको सहभागितामा नयाँ चरणको आन्दोलन घोषणा हुने आयोजक पक्षले जनाएको छ ।

प्रकाशित मिति: मंसिर २ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend