इटहरीः इटहरी उपमहानगरपालिका–१० खनारस्थित रिलाइन्स कम्पनीनजिकै भएको बस दुर्घटना हुँदा सुरटका टोल बस्ने १५ वर्षीया सम्झना यादवको मृत्यु भएपछि प्रहरीले छानविन समिति गठन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार प्रहरीले छानबिन समिति बनाएपछि घटना साम्य भएको जानकारी दिए । घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको उनले जानकारी दिए । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक महेन्द्र पराजुलीको नेतृत्वमा छानविन समिति गठन गरिएको उनले जानकारी दिए ।
आइतबार दिउँसो करिब साढे ४ बजेतिर झापाको काकडभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४५७४ नम्बरको बसले स्कुलबाट साइकलमा घरतर्फ जाँदै गरेकी सम्झनालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
बसले छात्रा सम्झनालाई ठक्कर दिएपछि केहीबेर घटनास्थल तनावग्रस्त बनेको थियो । आक्रोशित स्थानीयबासीले ठक्कर दिने बस पूर्णरूपमा जलाएका थिए ।
बसले ठक्कर दिनेवित्तिकै उनी सडकमा लडेकी थिइन् । ठक्करबाट घाइते भएकी उनलाई बसले ‘ब्याक’ गरी गरी किचेर मारेको स्थानीयबासीले बताएका छन् । ‘ठक्कर दिनेवित्तिकै ती छात्रा चिच्याइन्, मलाई नमार्नुहोस् भन्दै थिइन्’ प्रत्यक्षदर्शी स्थानीयबासी भन्छन्, ‘तर बसले ब्याक गरेर किच्यो अनि मारेर भाग्यो । भाग्दै जाँदा सवारी साधनमै पछ्याउँदै पुगेका स्थानीयबासीले बसमाथि पहिला ढुंगामुढा गरे, त्यसपछि आगजनी ।’
सम्झनाको मृत्युपछि ‘ब्याक गरेर मारेको’ भन्दै आक्रोशित स्थानीयबासीले बस जलाएका थिए । स्थिति नियन्त्रणबाहिर गएपछि प्रहरीले हवाई फायरसमेत गरेको थियो । बाक्लो संख्यामा भेला भएका स्थानीयबासीले बस जलाउनुका प्रहरीमाथि समेत जाइलाग्दै ढुंगामुढासमेत गर्न थालेपछि प्रहरीले भीड नियन्त्रणमा लिनका लागि हवाई फायर, अश्रुग्याँस साथै लाठीचार्ज समेत गर्नुपरेको प्रहरी प्रमुख तिम्सिनाले जानकारी दिए ।
जनता माध्यमिक विद्यालयमा कक्षा–९ मा अध्ययनरत रहेकी सम्झनाको मृत्युपछि उनका परिवार विक्षिप्त बनेका छन् । मृतक बालिकाको शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पतालमा राखिएको छ । मृतकका आमाबुबा रिलायन्स फ्याक्ट्रीमा ज्याला, मजदुरी गर्दै आएका थिए ।
बुबा श्यामलाल यादवले बसको गम्भीर लापरवाहीले छोरीको मृत्यु भएको भन्दै कडा कारबाहीको माग गरे । तीब्र गतिका कारण दुर्घटना भएको र छोरीलाई मारेको भन्दै उनले घटनामा चालक उम्किन नहुने बताए ।
बस चालक विराटनगर–१३ बस्ने २७ वर्षीय अमित श्रेष्ठलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

सुनसरीका एसपीसहित २१ प्रहरी घाइते
घटनास्थलमा सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख तिम्सिना, इलाका प्रहरी कार्यालय इटहरी, इलाका प्रहरी कार्यालय धरान, इलाका प्रहरी कार्यालय दुहवी, इलाका प्रहरी कार्यालय पकली र इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट एक सय १८ जनाको सुरक्षा टोली खटिएको थियो ।
‘बसलाई ढुंगामुढा गर्दै बसमा आगजानी गरेकोले बसमा लागेको आगो प्रहरी टोली र दमकलले समेत निभाउन खोज्दा अन्दाजी ५००–६०० जनाको समूहले प्रहरीमाथि नै ढुंगामुढा बर्साएपछि २१ प्रहरी घाइते भएका हुन् ।’ एसपी तिम्सिनाले भने । आक्रोशित स्थानीयबासीले ढुंगामुढा प्रहार गर्दा प्रहरी प्रमुख एसपी तिम्सिनासहित २१ जना प्रहरी घाइते भएका छन् । सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्य पनि घाइते भएका छन् ।
यस्तै घाइते हुनेहरूमा डीएसपी लक्ष्मी भण्डारी, रामप्रसाद तिम्सिना, प्रहरी निरीक्षक सागर तिमल्सिना, प्रहरी सहायक निरीक्षक आनन्द पोख्रेल, प्रहरी हवल्दार गोमा राउत, प्रहरी सहायक निरीक्षक भूपराज पोख्रेल, प्रहरी वरिष्ठ हवल्दार समीर सापकोटा, अयोधी यादव, हवल्दार सरोज पोख्रेल, श्याम नारायण यादव, कल्याणी आचार्य, सहायक प्रहरी हवल्दार राकेश न्यौपाने, दीपक राई, लोकनाथ धमला, अशोक राई, प्रहरी जवान गणेश तिमल्सिना, सुमन खड्का, सन्दीपकुमार मोक्तान र प्रकाश दाहाल घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।