Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान–२० मा शिक्षण पेशा छाडेर अदुवा खेतीमा

हाम्रो कोशी आवाज
मंसिर ३ २०८१, सोमबार
धरान–२० मा शिक्षण पेशा छाडेर अदुवा खेतीमा

धरानः शिक्षण छाडेर व्यावसायिक रूपमा अदुवा खेतीमा लागेका धरान उपमहानगरपालिका २० विष्णुपादुकाका तिलक राईले यसवर्ष अदुवाखेतीबाट आम्दानी गरे । गत वर्षको तुलनामा यसवर्ष उनले आम्दानी गर्न सफल भएका हुन् । ४० वर्षदेखि उनी अदुवा खेतीमै रमाइरहेका छन् ।
राईले वर्षमा सातदेखि १० क्वीन्टलसम्म अदुवा उत्पादन गर्दै आएको बताएका छन् । अहिले खुद्रा प्रतिकेजी रु एक सय ५० देखि दुई सय ८० सम्ममा बिक्री हुने गरेकाले राम्रो आम्दानी हुने गरेको उनी बताउँछन् । ‘अदुवा खेती गर्नका लागि अलि भिरालो ठाउँ, फोस्रो माटो आवश्यक पर्छ, ठाउँअनुसार धरान–२० फिट छ, राम्रो उत्पादन भइरहेको छ ।’
हाल विष्णुपादुकामा अदुवा खेती गर्ने दुई सय बढी किसान रहेका राईले बताए । उनी सो स्थानका सफल व्यवसायी मानिन्छन् । उनले विष्णुपादुकामा रहेर अदुवा खेतीबाहेक अम्लिसो, बेसार, अकबरे खुर्सानीलगायत पनि उत्पादन र तालिम समेत दिँदै आएका छन् ।
व्यावसायिक रूपमा अदुवा खेती गर्दै आएका अर्का किसान पदम राई मौसमले साथ दिँदा अदुवा खेतीबाट मनग्य आम्दानी हुने गरेको बताउँछन् । ‘वार्षिक १० क्विन्टलभन्दा बढी अदुवा उत्पादन गर्दै आएको छु’, उनले भने, ‘विष्णुपादुका क्षेत्रमा मात्र नभएर मोरङको लेटाङमा समेत जग्गा लिजमा लिएर अदुवा खेती गर्दै आएको छु, वार्षिक तीन लाखसम्मको अदुवा बेचेको उनले बताए ।
विगतको तुलनामा यस वर्ष अदुवाको मूल्य बढेको धरान कृषिउपज बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईले बताए । उनले कोशी कोरिडोरका पहाडी जिल्लाका किसानले अत्याधिक मात्रामा अदुवा ल्याउने गरेका तथा सगरमाथा कोरिडोर सिन्धुलीबाट पनि अदुवा बोकेर किसान आउने गरेका बताए । विशेषगरी धेरै अदुवा जेठदेखि भदौसम्म बिक्री हुने गरेको जानकारी उनले दिए ।
दैनिक रूपमा एक सयदेखि दुई सय मेट्रिक टन अदुवा धरान कृषि बजारबाट बिक्री हुने गरेको उनले बताए । विसं २०८० असार मसान्त देखि २०८१ जेठ १० गतेसम्ममा धरान उपमहानगरपालिका १३ कृषिबजारबाट जम्मा सात हजार आठ सय सन्ताउन्न मेट्रिक टन अदुवा बिक्रीबाट रु एक अर्ब ३७ करोड ४९ लाख ७५ हजार आम्दानी भएको अध्यक्ष भट्टराईले जानकारी दिए ।
अदुवा निकासीमा सरकारको सहयोग अपरिहार्य भएको उनी बताउँछन् । बेलाबेलामा धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिन्धुली, पाँचथर, ताप्लेजुङलगायत ठाउँबाट किसानले अदुवा ल्याउने गरेका छन् । भारत मात्र नभएर तेस्रो देश निर्यातको गृहकार्य गर्नुपर्ने अध्यक्ष भट्टराई बताउँछन् । अदुवाको बजार उत्साहजनक भएकाले अधिकभन्दा अधिक उत्पादन गर्नेतर्फ ध्यान दिन जरुरी भएको उनी बताउँछन् ।

प्रकाशित मिति: मंसिर ३ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend