Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा खानेपानीको समस्या न्यूनीकरण गर्न सर्दुखोलामा झन्डै ६ करोडको रिजर्भ ट्याङ्की बन्दै, यसपटक हिउँदमा पनि पानी अभाव नहुने आशा

हाम्रो कोशी आवाज
मंसिर ४ २०८१, मंगलबार
धरानमा खानेपानीको समस्या न्यूनीकरण गर्न सर्दुखोलामा झन्डै ६ करोडको रिजर्भ ट्याङ्की बन्दै, यसपटक हिउँदमा पनि पानी अभाव नहुने आशा

धरानः धरानमा खानेपानीको सुधार कार्यक्रम अन्तर्गत धरान–२० मा रिजर्भ ट्याङ्कीको निर्माण कार्य शुरु भएको छ ।
धरान खानेपानी व्यवस्थापन बोर्डले सर्दु खोलाको पानी आउन्जेलसम्म रिजर्भ गर्नका लागि त्यहाँ ट्याङ्की निर्माण थालिएको जनाएको छ । ‘हामीसँग धरानमा गतिलो खानेपानीको ट्याङ्की छैन, भएका पनि कम नै छन्, रिजर्भ क्षमता कम भएका छन्, त्यसैले त्यहाँ रिजर्भ ट्याङ्की निर्माण गरिएको हो’, खानेपानी व्यवस्थापन बोर्डका निर्देशक राजुश पोख्रेलले भने । २७ लाख लिटर क्षमताको ट्याङ्की निर्माण भएको हो ।
बोर्डको अफिसमा ३० लाख लिटर र नयाँ बनाएको २० लाख गरेर ५० लाख लिटर रिजर्भ गर्न सक्ने क्षमता रहेको हुनाले यसले केही राहत पुग्ने उनको भनाइ छ । उनले यसले मुहान समेत संरक्षण हुने दावी गरे ।
उनका अनुसार धरानमा वर्षेनी हिँउद याममा खानेपानीको अभाव भइरहने हुनाले त्यहाँ जम्मा गर्न सके केही राहत पुग्ने हिसाबले सो ट्याङ्की निर्माण गरिएको हो । सर्दु खोलाको पानी सो ट्याङ्कीमा खसाइनेछ र रिजर्भ गरेर राखिनेछ । ‘रिजर्भ पोखरी पनि पुनर्भरण (रिचार्ज) पोखरी जस्तै हो’, उनी भन्छन्, ‘यो निर्माण भइसकेपछि धरानबासीले केही भएपनि राहत महसुस गर्छन् ।’
मङ्गलबार धरान उपमहानगरपालिकाका मेयर तथा बोर्डका अध्यक्ष हर्कराज राईले नरिवल फुटाउँदै विधिवतरुपमा शिलान्यास गरेका छन् । सो ट्याङ्कीको निर्माण कार्य भने यसअघि नै शुरुवात भइसकेको थियो । ट्याङ्की निर्माणका लागि खन्ने, सम्याउने साथै सोलिङको काम समेत अघि बढिसकेको छ ।
शिलान्यासपछि बोल्दै मेयर साम्पाङले ठूलो साइजको ट्याङ्की बनाएर धराने जनताको प्यास मेटाउन आफू लागिपरेको बताए । उनले श्रमदानमार्फत् शुरु गरेपनि प्राविधिक प्रोजेक्ट भएको र श्रमदानमार्फत् निर्माण सम्पन्न गर्न कठिनाइ भएको कारणले निर्माण व्यवसायीमार्फत् काम अघि बढाइएको बताए । ट्याङ्की वैशाख महिनासम्ममा सक्ने लक्ष्यका साथ काम भइरहेको निर्देशक तथा इन्जिनियर पोख्रेलले जानकारी दिए ।
यसअघि त्यहाँ जनश्रमदान पनि आयोजना भएको थियो । जनश्रमदान कटाएर ५ करोड ७५ लाख ४४ हजार ९ सय १६ रुपैयाँको लागतमा सो रिजर्भ ट्याङ्की निर्माण थालिएको उनले जानकारी दिए । उनका अनुसार यति बजेटले ट्याङ्की निर्माणसहित ट्याङ्की बचाउन सर्दु खोलातर्फ रिटेनिङ वाल उठाइने समेत बताए ।
बढ्दो जनसंख्यासँगै खानेपानीको मुहान समेत सुक्दै गएकाले काकाकुल हुन नपरोस् भनेर रिजर्भ ट्याङकी निर्माण गरिएको मेयर साम्पाङको दावी छ । सर्दु खोलाको पानीलाई प्रशोधन गरेर शुद्धीकरण गरी पिउनका लागि योग्य बनाउने उद्देश्यले धरानमा खानेपानी सुधार आयोजनाको काम शुरु गरिएको उनको भनाइ छ ।
‘खानेपानीको मुहान सुक्नबाट बचाउन तथा सुकेका मुहानहरुलाई पुनःजीवित गर्न पनि यसले सहयाग पुग्छ’, उनी भन्छन्, ‘वर्षातको पानी जम्मा गर्ने रिचार्ज गर्न सकिए धरानको खानेपानी आपूर्तिमा केही सुधार हुन्छ भन्ने अपेक्षा मात्रै हो ।’
धरानमा विशेषतः फागुनदेखि जेठ महिनासम्म खानेपानीको अभाव रहन्छ । मेयर साम्पाङ आएपछि खोलाखाल्सा चहार्दै पानी सुधार कार्यक्रमलाई व्यापकता दिएपछि केही सुधार भने भएको छ तर यो पर्याप्त भने होइन, वर्षेनी बढ्ने जनघनत्वसँगै पिउने पानीको अभाव हुन थालिहाल्छ ।
यसपटक कोशी प्रदेशका सांसदहरू रमेश बस्नेत र सांसद विजयकुमार राईको पहलमा प्रदेश सरकारले ४ करोड बजेट दिएपछि धरान–१७ को कुम्भी आहालका साथै चारकोशे जंगल क्षेत्रमा दुईवटा डिप बोरिङमार्फत् पानी निकालिसकेका छन् । धरानको खानेपानी समस्या न्युनीकरण गर्न यसले पनि धेरै राहत हुने हुनाले यसपटक हिउँदमा पनि पानी अभाव नहुने आशा गर्न सकिन्छ ।
तस्वीरहरूः हाम्रो कोशी आवाज

प्रकाशित मिति: मंसिर ४ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend