Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तीब्र गतिका मोटरसाइकल जुध्दा तीनजनाको मृत्यु, धरानमा पनि दुर्घटनाः तीनजना घाइते

हाम्रो कोशी आवाज
मंसिर ७ २०८१, शुक्रबार
तीब्र गतिका मोटरसाइकल जुध्दा तीनजनाको मृत्यु, धरानमा पनि दुर्घटनाः तीनजना घाइते

धरानः मोटरसाइकल एकआपसमा जुध्दा तीनजनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी–३ नाया मंगलबारेमा बिहीबार साँझ मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी बेद जोशीले जानकारी दिए । एकजना गम्भीर घाइते समेत भएका छन् ।
पथरीबाट उर्लाबारीतर्फ जाँदै गरेको प्र १–०२–०५० प ८४०६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा घाइते बनेका थिए ।
घाइतेमध्ये दुईजनालाई अस्पताल पुरयाउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए भने एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेहरूमा कानेपोखरी–४ का २८ वर्षीय अमृत लिम्बू, सोही स्थानका २८ वर्षीय किशोर गुरुङ र पथरीशनिश्चरे–५ का ४२ वर्षीय दीपक धिमाल रहेको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
धिमाललाई अरनिको अस्पताल उर्लाबारी र गुरुङलाई मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारे लगिएको थियो । ती दुवैजनालाई अस्पताल पुरयाउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा गम्भीर घाइते भएका अमृत र ४२ वर्षका विष्णु धिमाललाई थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड झापा लगिएको थियो । उपचारका क्रममा अमृतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उर्लाबारीबाट अन्दाजी ६ किलोमिटर पश्चिम दुर्घटना भएको हो । तीब्र गति र ओभरटेक गर्ने क्रममा दुर्घटना भएको पाइएको प्रहरीले जनाएको छ । ‘तीव्र गतिमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा दुर्घटना भएको हो,’ डीएसपी जोशीले भने, ‘दुर्घटनामा गम्भीर घाइते भएका मोरङकै पथरीशनिश्चरे –५ का ३८ वर्षीय विष्णु धिमालको अहिले झापाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था पनि चिन्ताजनक छ ।’ दुर्घटना बिहीबार साँझ भएको हो ।
धरानमा दुर्घटनाः तीनजना घाइते
धरानमा दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।
धरान–१७ ठकुरी पुल छेऊको भित्री पक्की सडक खण्डमा धरानबाट चतरातर्फ जाँदै गरेको प्र.१–०२–००३ ह १२०६ नम्बरको अटो र विपरीत दिशातर्फबाट आउँदै गरेको को२१प ५९५६ नं.को १५० सिसीको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा दुईजना घाइते बनेका हुन् ।
दुर्घटनामा मोटरसाइकल चालक ४२ वर्षीय पुष्पा परियार र सोही मोटरसाइकलको पछाडि सवार उनकै श्रीमती ४० वर्षीया सपना परियार घाइते बनेको प्रहरीले जनाएको छ । उनीहरूको धरानस्थित बीपी प्रतिष्ठानमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।
अटो चालक बराहक्षेत्र–३ बस्ने ४६ वर्षीय राजकुमार माझी अस्थायी प्रहरी पोष्ट रेल्वेको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
यस्तै, धरान–४ स्थित कोशी लोकमार्गमा धरानबाट भेडेटारतर्फ जाँदै गरेको प्र.१–०२–००२ ख ०२८६ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको प्र.१–०१–१३ प १४८२ नं.को मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा मोरङको बेलबारी–२ बस्ने १९ वर्षीय निश्चल चेम्जोङ लिम्बू घाइते बनेको प्रहरीले जनाएको छ । सोही मोटरसाइकलको पछाडि सवार २० वर्षीय विवश विक समेत घाइते बनेको र उनीहरूको धरानस्थित बीपी प्रतिष्ठानमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।
ट्रक चालक संखुवासभा धर्मदेवी–८ बस्ने ३५ वर्षीय हरिविनोद सुवेदी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंसिर ७ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend