Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीको बराहक्षेत्रमा विदेशबाट फर्केर च्याउ खेतीमा दुई युवा, वार्षिक १२ लाख सजिलै बचत

हाम्रो कोशी आवाज
मंसिर १२ २०८१, बुधबार
सुनसरीको बराहक्षेत्रमा विदेशबाट फर्केर च्याउ खेतीमा दुई युवा, वार्षिक १२ लाख सजिलै बचत

बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजु भाई कृषि फर्म दर्ता गरी गाउँमै सुरु गरेको च्याउ खेतीबाट राम्रो आम्दानी गरिरहेका हुन् ।
सात वर्षसम्म वैदेशिक रोजगारीमा बिताएर स्वदेश फर्किएपछि आफूहरूले व्यावसायिक च्याउखेती सुरु गरेको रोशन गुप्ताले बताए । पहिलो वर्ष केही घाटा भए पनि त्यसपछि भने राम्रो आम्दानी भइरहेको उनले जानकारी दिए ।
उनका अनुसार हाल सबै खर्च कटाएर वार्षिक १२ लाख सजिलै बचत हुने गरेको छ । हाल उनीहरूले पाँच वटा टनेलमा च्याउ खेती गरेका छन् । च्याउ बजारमा थोकमा प्रतिकेजी एक सय ७० र फर्ममै किन्न आउने व्यापारीलाई एक सय ५० मा बिक्री गर्ने गरेको उनले बताए ।
रोशनले भने, ‘च्याउ बिक्रीका लागि बजारको समस्या छैन । उत्पादन भएको च्याउ धरान, इटहरी, इनरुवा, दुहबी, गाईघाट, राजविराज, कल्याणपुर र स्थानीय बजार चक्रघटी, कालाबजार बराहक्षेत्र चतरालगायतमा पुग्ने गरेको छ ।’
तत्कालीन समयमा ५० हजार लगानीमा सुरु गरेको च्याउ खेतीमा अहिले लगानी लाखौँमा पुगेको छ भने यहीबाटै परिवारका छ सदस्यलाई रोजगार पनि मिलेको छ । त्यसबाहेक थप करिब १० जनालाई जागिर पनि प्राप्त भएको छ ।
मासिक तलबमा काम गर्नेले मासिक १५ हजार र दैनिक ज्यालादारीमा काम गर्नेले पाँच सयमा काम गरिरहेका छन् । ‘व्यापार भएकाले सधै एकनास हुँदैन, कम जग्गामा पनि च्याउखेती गर्न सकिन्छ,’ उनले भने, ‘च्याउ खेतीका लागि विशेष खालको स्याहारको आवश्यकता भने पर्छ ।’
च्याउ खेतीका लागि पराल र चुन आवश्यक पर्छ । त्यसबाहेक बास र खरले छाएको टहरासँगै प्लास्टिक पनि चाहिन्छ । विषादीको प्रयोग नहुने भएकाले यो स्वास्थ्यका लागि पनि राम्रो मानिने भएको यसको माग पनि बढ्दो रहेको रोशनले बताए । उनका अनुसार हाल दैनिक तीन सय ५० केजीसम्म च्याउ बिक्री भइरहेको छ ।
साउनदेखि असोजको समय धेरै बिक्री हुने समय भएको उनको अनुभव छ । वर्षमा नौ महिना च्याउको राम्रो उत्पादन हुने उनको भनाइ छ । ‘विदेशमा गएर धेरै दुःख गर्नुभन्दा स्वदेशमै थोरै मेहनत गर्दा पनि राम्रो कमाइ हुने रहेछ । अहिले विदेश जाने कुरा सोच्न पनि सकिन्न’, रोशनले भने ।
उनले च्याउ खेतीका गत वर्ष सुनसरी कृषि ज्ञान केन्द्रबाट एक लाख अनुदान पाएका थिए भने यस वर्ष बराहक्षेत्र नगरपालिकाले ९० हजार अनुदान दिएको थियो । -रासस

प्रकाशित मिति: मंसिर १२ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend