धरानः धरान–१२ स्थित श्री पब्लिक हाइस्कुलका कक्षा १२ उत्तीर्ण गरेकी विद्यार्थी सेफाली लिम्बूले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बीएससी नर्सिङको पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएकी छिन् ।
सामुदायिक विद्यालयमा अध्ययन गरेर उच्च प्रतिस्पर्धा पार गर्दै नाम निकाल्न सफल भएकोमा विद्यालयले खुशी व्यक्त गर्दै विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालयमा आयोजित एक बधाई कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक लेखनाथ भट्टराई र साइन्स तथा इलेक्ट्रिकल इन्चार्ज मोहन श्रेष्ठले सेफाली लिम्बूलाई खादा ओढाएर सम्मान प्रदान गरे ।
विद्यालयका प्रधानाध्यापक डा. इन्द्र मोहन झाले विद्यार्थीहरूको कडा मिहिनत र विशेष कक्षाहरूको महत्वलाई जोड्दै भने, ‘विद्यार्थीहरूले पाठ्य पुस्तकसँगै फरदर स्टडीका लागि सञ्चालन गरिएका विशेष कक्षाहरूको सहायताबाट आफ्नो तयारीलाई सहज र प्रभावकारी बनाउन सकेका छन् ।’
साइन्स र इलेक्ट्रिकल विभागका कक्षा १२ का अन्य विद्यार्थीहरूले पनि विभिन्न प्रतिष्ठित क्याम्पसहरूमा छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । विद्यालयका बायोलोजी शिक्षक किशोर चौधरीले जानकारी दिए अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमवीएसमा पूर्ण छात्रवृत्तिमा साहिल शाक्य, केन्द्रीय आयुर्वेदिक क्याम्पसमा आयुर्वेदिक डाक्टरमा जर्मन पाख्रिन, वीपीकेआईएचएसमा बीएससी नर्सिङ पूर्ण छात्रवृत्तिमा समीक्षा नेपाली, वीपीकेआईएचएसमा बीएससी नर्सिङ पूर्ण छात्रवृत्तिमा सेफाली लिम्बू, केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा बीटेकमा छात्रवृत्तिमा क्रियता श्रेष्ठ, मनमोहन इन्जिनियरिङ कलेजमा पूर्ण छात्रवृत्तिमा रहरमान खतिवडा, पूर्व इन्जिनियरिङ क्याम्पस, धरानमा सविन श्रेष्ठ, ऋषि पहाडी, प्रमेश पोखरेल र विमला श्रेष्ठको नाम निकाल्न सफल भएका छन् ।
विद्यालयका साइन्स र इलेक्ट्रिकल विभागका इन्चार्ज मोहन श्रेष्ठले सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई सरकारको विशेष कोटाको व्यवस्था गरिएपनि त्यहाँ रहेका अवसरहरू प्रयोग गर्न विद्यार्थीहरूले कडा मेहनत र विशेष लक्ष्य राख्नुपर्नेमा जोड दिए ।



