संखुवासभाः संखुवासभाको मकालु गाउँपालिका–५ स्थितमा रहेको प्रहरी चौकी नुमको नव निर्मित कार्यालय भवनको समुद्घाटन भएको छ ।
मंसिर १८ गते आयोजित एक कार्यक्रमका बीच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङको प्रमुख आतिथ्यतामा नव निर्मित प्रहरी चौकी नुमको समुद्घाटन भएको हो । नवनिर्मित भवनको उद्घाटन तथा निरीक्षणपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रहरी प्रमुख खापुङले सुविधा सम्पन्न भवन प्राप्त भएसँगै प्रहरी कर्मचारीहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताउँदै नवनिर्मित संरचना नेपाल प्रहरीको मात्र नभई स्थानीय नागरिकको समेत साझा सम्पत्ति भएको हुँदा यसको उचित संरक्षण, सम्वद्र्धन र विकासमा सबैको साथ र सहयोगको आवश्यक रहेको बताए ।
उनले समाजमा अशान्ति र अराजकता फैलाउने आपराधिक समूह, गैरकानुनी र अनैतिक कार्य गर्ने व्यक्ति वा समूहहरू विरूद्ध खरो रूपमा प्रस्तुत भई कुनै पनि किसिमको दबाव र प्रभावमा नपरी उत्कृष्ट कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिए । कार्यक्रममा प्रमुख अतिथि खापुङले भवन निर्माण कार्यमा सहयोग पुरयाउनु हुने महानुभावहरुलाई सम्मान गर्नुका साथै सम्पूर्णमा धन्यवाद व्यक्त गरे ।
नव निर्मित भवनको उद्घाटन कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर भौतिक पुर्वाधार शाखाका प्रहरी उपरीक्षक आर्किटेक हरि डंगोलले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरे । प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेत, मकालु गाउँपालिकाका अध्यक्ष ओङदीछिरिङ शेर्पा, जिल्ला समन्वय कार्यवाहक प्रमुख वबिता खत्रीले आ–आफ्नो मन्तव्य राखे ।
कार्यक्रममा कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रमुख प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षत्रीलगायत प्रहरी कर्मचारीहरु, विभिन्न राजनैतिक दलका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, नागरिक समाज, स्थानीयबासी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । नव निर्मित अढाइ तल्ले सुविधा सम्पन्न कार्यालय भवन नेपाल सरकारको नियमित बजेट १ करोड ४४ लाख ३० हजार ४३४ रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको हो ।