Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रम ओलीद्वारा दमकमा एक अर्ब ६३ करोड ५४ लाख ४६ हजारको कम्प्लेक्स उद्घाटन

हाम्रो कोशी आवाज
मंसिर २३ २०८१, आइतबार
प्रम ओलीद्वारा दमकमा एक अर्ब ६३ करोड ५४ लाख ४६ हजारको कम्प्लेक्स उद्घाटन

दमकः प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका–३ दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आज उद्घाटन गरेका छन् ।
मुख्य बजार क्षेत्रबाट चार किमी दूरीमा पर्ने सो १८ तले कम्प्लेक्स एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा निर्माण भएको हो ।
कूल चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा छ ।
भव्य जनसहभागितामा भएको उद्घाटन कार्यक्रममा प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत सहभागी थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृहजिल्ला झापाको दमकमा निर्मित व्यापारिक कम्प्लेक्सलाई नयाँ तरिकाको विकासको नमुना भनेका छन्।
एक सय मिटर अग्लो र १८ तले सो कम्प्लेक्सको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो निर्माणले रोजगारी र पर्यटन वृद्धि हुने बताए।
विश्वका अन्य मुलुकमा पनि आर्थिक स्रोत र पहिचानको लागि यस्ता अग्ला भवन बनेको उदाहरण प्रस्तुत गर्दै उनले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा पनि गरे।
यसअघि सहकारी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले यो टावर माइलस्टोन सावित हुने दाबी गरेका थिए। देश-विदेशका पर्यटकका लागि यो प्रमुख पर्यटकीय आकर्षण बन्ने विश्वास पनि उनले व्यक्त गरेका थिए।

सिग्देलका अनुसार, मुख्य बजार क्षेत्रवाट केबल ४ किलोमिटर टाढा र पूर्व-पश्चिम राजमार्गवाट उत्तरतर्फ १० मिनेटको ड्राइभमा पुग्न सकिने दमक नगरपालिकाको वडा नं ३, दापगाछीमा अवस्थित यस टावरले ४ बिघा १६ कट्ठा क्षेत्रफल ओगटेको छ।
‘यो परिसर केवल एक टावर भवन मात्र होइन, यो हाम्रो दमकलाई, झापा जिल्लालाई र समग्र कोसी प्रदेशलाई घरेलु र विदेशी
पर्यटकहरूको लागि प्रमुख पर्यटक गन्तव्यको रूपमा विकास गर्ने हाम्रो दृष्टिकोणको आधार पनि हो,’ उनले भने, ‘यस दमक व्यापारिक कम्लेक्समा व्यावसायिक, व्यापारिक, मनोरञ्जनात्मक र कर्पोरेट कार्यकमहरू एकै स्थानमा समायोजन गर्ने गरी डिजाइन गरिएको छ।
साथै दृश्यावलोकन समेतको प्रावधान राखी बनाइएको छ, जसले हाम्रो भूदृश्यको सुन्दर दृश्यहरू हेर्नको लागि एक उत्कृष्ट बिन्दु सावित हुनेछ। यस टावरले हाम्रो सहरको अर्थतन्त्रमा सकारात्मक योगदान गर्नेछ, पर्यटकहरूलाई आकर्षित गर्नेछ।’
उनले दिएको जानकारी अनुसार, यस टावर परिसरलाई विभिन्न भूउपयोग क्षेत्रहरूमा विभाजन गरिएको छ, जसमा पैदल मार्ग, प्रवेश मार्ग, प्लाजा, टावर, मनोरञ्जनात्मक बगैँचा, बालबालिका खेल क्षेत्र र वनस्पति बगैँचा छन्। यसको बेसमेन्ट पार्किङमा ४० वटा चारपांग्रे र २०० वटा दुईपांग्रे सवारी साधन अट्न सक्नेछन्। कम्प्लेक्सको कुल निर्मित क्षेत्रफल १५ हजार ६११ वर्ग मिटर रहेको छ।

प्रकाशित मिति: मंसिर २३ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend