Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान रंगशालामा ‘बिजनेश एक्स्पो’ को तयारी

हाम्रो कोशी आवाज
मंसिर २५ २०८१, मंगलबार
धरान रंगशालामा ‘बिजनेश एक्स्पो’ को तयारी

धरानः धरानमा आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले आगामी माघमा १४ दिने ‘बिजनेस एक्स्पो’ आयोजना हुने भएको छ ।
नेपाल उद्योग व्यवसायी महासङ्घ धरान उपमहानगर समितिले स्थानीय रङ्गशालामा माघ २६ देखि फागुन १० गतेसम्म एक्स्पो आयोजना गर्ने महासङ्घका अध्यक्ष शिवराज श्रेष्ठले बताए ।
एक्स्पोमा साना घरेलु, मझौला तथा ठूला उद्योगका उत्पादन, स्थानीय कृषि उपज, तयारी पोसाक, रत्न तथा आभूषण, जुत्ताचप्पल, साजसज्जाका सामग्री, खाना महोत्सव, पुष्प व्यापार, कृषि औजार, विद्युतीय उपकरण, औद्योगिक प्रदर्शनी समावेश गरिनुका साथै ती सामग्रीको खरिद बिक्री हुनेछ । साथै प्याराग्लाइडिङ, ¥याफ्टिङ, साइक्लिङ, साहसिक तथा रोमाञ्चक खेल पनि प्रस्तुत गरिनेछ । एक्पोमा तीन सय ५० प्रदर्शनी कक्ष राखिने छन् ।
धरानमा सुनसरी उद्योग वाणिज्य सङ्घले आयोजना गर्दै आएको एक्स्पो बाहेक यो छुट्टै पहिलो व्यापार मेला हो । एक्स्पोले धरानको आर्थिक गतिविधिमा आएको सुस्ततालाई नयाँ गति दिदैं व्यवसायिक, पर्यटन, उद्योगको क्षेत्रमा लगानीको उपयुक्त वातावरण सिर्जना गर्न भूमिका खेल्ने अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।
एक्स्पोमा आउने सर्वसाधारण उपभोक्ताहरूको मनोरञ्जनका लागि दैनिक राष्ट्रिय कलाकारहरूका साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने छ । बालबालिकाका लागि बाल उद्यान र प्रतिभा प्रस्फुटनका कार्यक्रम सञ्चालन गरिने छ ।
व्यापार मेलाका मूल संयोजक राजेश आग्रवालले एक्स्पोमा दुई साता भरीमा १० लाखको संख्यामा किनमेल, सांस्कृतिक कार्यक्रम हेर्न दर्शकहरू आउने अनुमान गरिएको बताए । एक्स्पोलाई सङ्घीय सरकारका मन्त्रालयहरू, कोशी प्रदेश सरकार, पर्यटन बोर्ड र धरान उपमहानगरपालिकाको सहयोग र प्रवर्द्धन रहने बताइएको छ ।

प्रकाशित मिति: मंसिर २५ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend