धरानः धरानबाट हिँडेको स्कारपियो दुर्घटनामा परी घाइते बनेका एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापाको गौरादह–७ का ६६ वर्षीय झम्कबहादुर घले रहेको प्रहरीले जनाएको छ । भोजपुरको बोखिममा स्कारपियो दुर्घटना हुँदा १० जना घाइते भएका थिए । गम्भीर घाइते चारजनामध्ये घलेको अवस्था चिन्ताजनक रहेको थियो ।
पर्यटकीय टेम्केडाँडा भ्रमण गर्न जाने क्रममा स्कारपियो भोजपुर–५ बोखिमको डाडाँटोलमा प्रदेश १–०२–००२ च ६९२३ नम्बरको स्कारपियो सडकबाट खस्न पुगेको थियो । सडकबाट खस्दा १० जना घाइते बनेका थिए । घाइते हुनेहरूमा सुनसरीको स्कारपियोका चालक धरान–८ सुदीप लिम्बू र धरान–२ की इहायाराना सुब्बा, भोजपुर नगरपालिका ५ की लाक्पादिकी शेर्पा, देवीकला घले, जुनुका राई र रामकुमार राई रहेका छन् । यस्तै, इलाम माङ्सेबुङ गाउँपालिका–६, नविनकुमार राई, उनका साढे २ वर्षे छोरा निगेल राई र सोही स्थानकी मेनुका घले रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपककुमार श्रेष्ठले जानकारी दिए ।
घाइतेमध्ये देवीकला घलेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । केही घाइतेलाई काठमाडौं लगिएको र केहीलाई धरान पठाइ सकिएको प्रहरीले जनाएको छ । धरान–२ की इयाराना सुब्बालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत् काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।