Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान रंगशालामा धरान डे पछि आयोजना हुने धरान एक्स्पोका लागि स्टल बुकिङ खुल्ला

हाम्रो कोशी आवाज
पुष १४ २०८१, आइतबार
धरान रंगशालामा धरान डे पछि आयोजना हुने धरान एक्स्पोका लागि स्टल बुकिङ खुल्ला

धरान : धरानः धरान–१६ स्थित धरान रंगशालामा पुस २० गतेदेखि धरान डे अर्थात् धरान उत्सव आयोजना हुँदैछ । उत्सव सकिएलगत्तै २५ गतेदेखि ‘धरान एक्स्पो–२०८१’ आयोजना हुँदैछ । एक्स्पोका लागि स्टल बुकिङ खुला गरिएको छ ।
धरानको रङ्गशाला परिसरमा आयोजना हुने एक्स्पोका लागि स्टल बुकिङ खुला गरिएको आयोजक सुनसरी उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।
मुलुकको विद्यमान आर्थिक शिथिलतालाई चलायमान बनाउने उद्देश्यसहित वाणिज्य संघले एक्स्पो आयोजना गर्न लागेको हो ।
धरानका स्वदेशी उत्पादनहरूसहित कृषि, पर्यटन लगायत अन्य सम्भावित क्षेत्रहरूको प्रवद्र्धन एवं विकासमा जोड दिनुका साथै यस क्षेत्रका आर्थिक गतिविधिहरूलाई गतिशील बनाउने उद्देश्य रहेको संघका अध्यक्ष विजय श्रेष्ठले बताए ।
उनले भने,‘मोरङ, झापा, इलाम, उदयपुर, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरबाट मानिसहरु एक्स्पो अवलोकन एवम् व्यापार गर्न आउने अपेक्षा गरेका छौं ।’
एक्स्पोले धरानको सुस्ताएको बजारलाई सक्रिय बनाएर व्यापार तथा व्यवसायिक क्षेत्रको पुनरुत्थानमा टेवा पुर्याउने विश्वास लिएको उनले बताए ।
एक्स्पो विशेष रूपमा धरानको स्थानीय उत्पादन, कृषि सामाग्री बेसार, कालो बङ्गुर, तिनपाने, अदुवा, अम्लिसोलाई प्रवर्द्धन गर्दै आर्थिक गतिविधि बढाउन आयोजना गरिएको श्रेष्ठले बताए ।
यसपटकको मेलामा डोम हेंगरमा निर्मित करिब एक सय ४५ स्टलहरू रहने छन् । डोमभित्र संवेदनशील वस्तुहरूको करिब एक सय वटा स्टल हुनेछन् । बाहिर थप अन्य स्टलहरू हुनेछन् ।
एक्सपोमा दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्न विभिन्न राष्ट्रिय कलाकारहरूबाट सांगीतिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरू रहेको आयोजकले जनाएको छ । धरान एक्स्पो २०८१ माघ ५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति: पुष १४ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend