धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चोरी घटना बढ्न थालेको छ ।
अझ भन्ने हो भने मोटरसाइकल चोरीको ‘हटस्पट’ बन्दै गएको छ भन्दा फरक नपर्ला । अस्पतालबाट बिरामी कुरुवाको पर्स, मोबाइल चोरी, मोटरसाइकलको पेट्रोल चोरी हुने घटना सामान्य नै हुन् तर मोटरसाइकल समेत चोरी हुन थालेपछि बिरामी कुरूवा आजित बन्न बन्न थालेका छन् ।
यसैबीच सोमबार प्रतिष्ठान हाताभित्र रहेको मेडिसिन वार्ड अगाडि पार्किङ गरिरहेको मोटरसाइकल चोर्न लाग्दै गर्दा एकजना पक्राउ परेका छन् । सुनसरीको बराहश्रेत्र ५ कालाबन्जर बस्ने २४ वर्षीय विशाल नेपालीले पार्किङमा रहेको प्र.१–०२–०४८ प ७४३४ नम्बरको को २२० सिसी भएको पल्सर मोटरसाइकलको तार चुटाई जलाई चोर्ने क्रममा एकजना पक्राउ परेका हुन् ।
सेक्युरिटी गार्डले प्रहरीलाई खबर गरेपछि प्रतिष्ठानस्थित प्रहरी वरिष्ठ हवल्दार भुपेन्द्र खत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले मनिष मगरलाई पक्राउ गरेको उनले जानकारी दिए ।
उपचार गराउन आएका शरणकुमार चौलागाईले प्रतिष्ठानमा मोटरसाइकल हराइरहेको र आफ्नो पनि मोटरसाइकल यसअघि चोरी भएको बताए । चोरीमा संलग्न अझैसम्म पक्राउ नहुँदा मनोबल बढ्दै गएको उनको भनाइ छ । उनले भने, ‘यत्रो प्रतिष्ठानभरी सिसी क्यामेरा नहुनु दुःखद् हो ।’
प्रतिष्ठानमा अहिले सर्वसाधारणले सिसी क्यामेरा जोड्न दबाव समेत दिन थालेका छन् । तर प्रतिष्ठानले यस विषयमा केही सोच्न सकेको छैन । बारम्बार चोरीका घट्ना दोहोरिँदा समेत अस्पताल प्रशासनले खासै ध्यान दिन नसकेको बिरामी कुरुवाहरूले गुनासो राख्ने गरेका छन् । बिरामी कुरुवाको मात्र होइन त्यहा कार्यरत कर्मचारी, चिकित्सकहरुको समेत सवारी साधन चोरी हुने गरेको छ ।