धरानः धरान पहिलादेखि नै सफा सहर भनेर परिचित छ । सहर सफा राख्न यहाँको सरकार र स्थानीयबासी नै यहाँ सचेत मात्रै छैनन्, सक्रियरूपमा अभियान समेत चलाइरहेका छन् ।
यसैबीच विष्णुका विद्यार्थीले पनि फोहोर संकलन र सरसफाइ गरेका छन् । ‘वार्षिक स्पोट्स मिट २०८१’ अन्तर्गत गत पुस १६ देखि १९ गतेसम्म केन्द्रीय प्रविधि क्याम्पस, हात्तिसार धरानको खेल मैदानमा विभिन्न खेलकुद (फुटबल, रिले दौड, डोरी तान्ने) प्रतियोगिताहरू सम्पन्न भएपछि खेल मैदान सरसफाई गरेर केही सक्रियता प्रस्तुत गरेका हुन् ।
यसले पनि ‘क्लिन सिटी’ बनाउने धरानको अभियानलाई सहयोग पुग्ने भन्दै विद्यार्थीले मैदानमा रहेका फोहोरजन्य सामग्री (प्लाष्टिक, प्लाष्टिकका बोतल, चाउचाउका खोल, फोहारजन्य सामग्री) संकलन गरेर व्यवस्थित गरेका थिए । उनीहरुले फोहोर सरसफाइ गरेर वातावरण स्वस्थ राख्ने शिक्षा दिएका हुन् ।
विद्यार्थीहरूले ‘पहिला आफू सफा वन, आफ्नो टोल सफा गर, अनि हुन्छ वातावरण सफा र हराभरा’ भन्ने सन्देशसमेत दिएका छन् । विद्यालयमा वातावरणीय प्रदूषण र यसको असरका बारेमा पढेका विद्यार्थीले खेलकुद सप्ताह सकेर आफैंले प्रयोग गरेको स्थानको सरसफाइ गरेर उदाहरण प्रस्तुत गरेका हुन् ।
‘करिब २ घण्टा लगाएर धरानको रेडक्रस चोकदेखि विजयपुर चोकसम्मको सरसफाइ साथै खेल मैदानमा आफूहरूले खाएका सामग्रीदेखि अन्यले खाएर मिल्काइएका फोहोरसम्म विद्यार्थीले टिपेका छन्’, प्रिन्सिपल निलकुमार श्रेष्ठले जानकारी दिए । सरसफाइ अभियानमा अभिभावकको समेत सहभागिता थियो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरीहरूले समेत साथ दिएका थिए ।
पढाइसँगै विद्यार्थीलाई खेलकुदमा खरो उतार्न साथै मानसिक, शारीरिक विकाससँगै अनुशासनका लागि विष्णु स्कुलले स्पोट्स मिट भव्यताका साथ आयोजना गरेको छ । दौड प्रतियोगिता (१००, २००, ४०० मिटर रेस), क्रिकेट, भलिबल, फुटबल, फुटसल, बास्केटबल, टेबलटेनिस, डोरी तान्ने, स्लो साइक्लिङ रेस, कवड्डी, चेस, पासिङ बल, म्युजिकल चेयर, ब्यान्डिङ बुक, बुक ब्यालेन्सलगायत २५ भन्दा बढी खेल विधाअन्तर्गत मनोरञ्जनात्मक खेलहरुलगायतका खेलहरु समावेश गरी विद्यार्थीबीच प्रतिस्पर्धा गराइएको स्कुलका प्रिन्सिपल श्रेष्ठले जानकारी दिए ।






























