धरानः जङ्गली हात्तीको आक्रमणमा कचनकबल वडा नं ७ की ३४ वर्षीया केलावती राजबंशीको आज मृत्यु भएको छ। स्थानीय दिपज्योति सामुदायिक वनमा गाउँका १५ जना महिलाहरूसँग दाउरा खोज्न गएकी राजबंशी आज दिउँसो १२ बजेतिर एउटा हात्तीले लखेटेपछि जङ्गलमै हराइरहेकी थिइन् ।
हात्तीको लखेटाइमा महिला बेपत्ता भएको खबर पाएपछि नौ किलोमिटर टाढा रहेको इलाका प्रहरी कार्यालय बनियानीबाट प्रहरी नायव निरीक्षक रोहित मगरको नेतृत्वमा प्रहरीको टोलीले जङ्गलमा खोजी गर्दा उनलाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि सुरूमा भद्रपुरको ओमसाई पाथिभरा हस्पिटल पुर्याएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले बताए ।
मरणासन्न अवस्थामा रहेकी घाइतेलाई थप उपचारका लागि भद्रपुरकै प्रादेशिक अस्पतालमा लगिएको थियाे। प्रादेशिक अस्पताल पुर्याउना साथ चिकित्सकहरूले घाइतेलाई मृत भइसकेको घोषणा गरेको चन्दले जानकारी दिए । सूचना अधिकारी चन्दका अनुसार आक्रमणकारी हात्ती अहिले पनि जङ्गलभित्रै रहेको स्थानीयले बताएका छन् । इलाका प्रहरी कार्यालय बनियानीको टोली घटनास्थलमा पुगेको उनले जानकारी दिए ।
मोरङको सुन्दरहरैँचा–५ गुरुङ टोल बस्ने ६१ वर्षीया चन्द्रकुमारी लिम्बूको जङ्गली हात्तीको आक्रमणबाट निधन भएको छ । लिम्बू नमूना सामुदायिक वनमा ज्यालादारी रूपमा काम गर्दै आएकी थिइन् । वनबाट दाउरा काटेर घर फर्कने क्रममा उनलाई हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी प्रमुख कृष्ण खत्रीले जानकारी दिए । वनमा दाउरा काट्न गएकी लिम्बू साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा जङ्गलमा मृत फेला परेकी उनले बताए ।
नमूना सामुदायिक वनमा एक दर्जनभन्दा बढी जङ्गली हात्ती रहेको जनाउँदै स्थानीय रातभर त्रासमा बस्ने बाध्यता रहेको सुन्दरहरैँचा–५ का वडाध्यक्ष गणेश चौधरीले बताए । उनले हात्तीको त्रासका कारण यहाँका स्थानीय रातभर जाग्राम बस्न बाध्य रहेका उल्लेख गरे ।
दुई साताअघि सुन्दरहरैँचा नगरपालिका–७ स्थित सिर्जना सामुदायिक वनमा दाउरा खोज्न गएको बेला ४० वर्षीया गङ्गा श्रेष्ठको हात्तीको आक्रमणबाट निधन भएको थियो । यहाँको पालिकामा जङ्गली हात्तीको आक्रमणबाट विभिन्न समयमा मानवीय क्षति हुने गरेको छ ।
कोशी प्रदेशका झापा, मोरङ र सुनसरीलगायत जिल्लामा जङ्गली हात्तीले मानिसमाथि आक्रमण गर्ने, अन्नबाली नष्ट गर्ने तथा घर भत्काउने गर्दै आएको डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए । उनले मोरङमा एक वर्षमा तीन वटा जङ्गली हात्ती मृत फेला परेका उल्लेख गरे ।
जङ्गली हात्तीको बथानले झापा, मोरङ र सुनसरीलगायत जिल्लामा उपद्रो मच्चाइरहेकाले स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सबैभन्दा बढी झापा र मोरङमा मानवीय एवं भौतिक क्षति गरेको प्रहरीको भनाइ छ । पछिल्लो समय मोरङको बेलबारी र सुन्दरहरैँचामा दैनिकजसो हात्तीको हुल देखिने गरेको स्थानीय बताउँछन् । हात्तीले मान्छे मार्नेदेखि लिएर सर्वसाधारणले लगाएका बालीनालीमा क्षति पुर्याउने गरिरहेको छ । हात्तीको आक्रमणबाट झापा, मोरङ र सुनसरीमा मानवीय क्षति बढेको डिभिजन वन कार्यालयका प्रमुख घिमिरेले उल्लेख गरे ।