विराटनगरः मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित कोशी लोकमार्गमा सवारी चालक तथा सह–चालकहरुको स्वास्थ्य परीक्षण तथा लागू पदार्थ सेवनाको जाँच गरिएको छ ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आथित्यता तथा जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि सवारी चालक तथा सहचालकहरुको स्वास्थ्य परीक्षण तथा लापसे जाँच गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र बुढिगंगा गाउँपालिका तथा विराट टिचिङ अस्पतालको सहकार्यमा सञ्चालन भएको स्वास्थ्य शिवरमा ५० जना सडक प्रयोगकर्ता ५५ जना चालक तथा सहचालकहरुको स्वास्थ्य परीक्षण गरिएको थियो भने ११ जना सवारीका चालकहरूले लागू पदार्थ सेवन गरेको पाइएकोले आवश्यक कारवाहीको लागि नियन्त्रणमा लिइएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले सवारी साधन हाम्रो दिनचर्यालाई सहज बनाउन अति आवश्यक भएको तर सवारी साधनबाट हुने दुर्घटना हाम्रो सामु ठूलो चुनौतीकोरुपमा रहेको बताए । उनले यस्ता विविध कारणबाट हुने सवारी दुर्घटनाहरु मध्ये सबैभन्दा बढी चालकको लापरवाहीको कारणबाट भएको तथ्याङकले देखाएको समेत बताए । ती मध्ये कतिपय दुर्घटनाहरु चालकहरुको स्वास्थ्य अवस्था कमजोर भएर पनि हुने गरेको कारण एउटा स्वस्थ चालकले मात्र सुरक्षित यात्रा सुनिश्चित गर्न सक्छ भन्ने उद्देश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरिया, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरे, विभिन्न सुरक्षा निकायका प्रमुखहरु स्थानिय जनप्रतिनिधिहरु तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।