Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान एक्स्पो शुरु, उपप्रधानमन्त्रीसँग धरानका मेयर हर्क साम्पाङले भने– माघ ८ गते थोत्रे गाग्री बोकेर आउँदैछु (३७ तस्वीर र भिडियोसहित)

हाम्रो कोशी आवाज
पुष २५ २०८१, बिहिबार
धरान एक्स्पो शुरु, उपप्रधानमन्त्रीसँग धरानका मेयर हर्क साम्पाङले भने– माघ ८ गते थोत्रे गाग्री बोकेर आउँदैछु (३७ तस्वीर र भिडियोसहित)

धरानः धरान–१६ स्थित धरान रंगशालामा ‘धरान एक्स्पो २०८१’ शुरु भएको छ ।
सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको एक्स्पोको उदघाटन उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले गरेका हुन् ।
उद्घाटन गर्दै प्रमुख अतिथि उपप्रधानमन्त्री सिंहले व्यापारिक प्रदर्शनीहरूले स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने, ‘एक्स्पोले स्थानीय उद्योग–व्यवसायलाई बलियो बनाउन र आर्थिक मन्दी चिर्न महत्वपूर्ण योगदान दिनेछ भन्ने विश्वास लिएको छु । यो पहलले समग्र क्षेत्रको आर्थिक गतिविधिलाई पनि गति दिनेछ भन्ने अपेक्षा छ ।’
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले खानेपानीलगायतका विषयमा केन्द्रीय सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । मेयर साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघाले संयुक्तरुपमा ज्ञापनपत्र बुझाएका हुन् ।
उनले धरानमा खानेपानीको समस्या रहेको बताउँदै आफू खानेपानीको लागि दिनहुँ खटिरहेको तर केन्द्रीय सरकारले खासै चासो नदिएको बताए । उनले उपप्रधानमन्त्रीलाई यसपटक माघ ८ गते थोत्र्रे गाग्री बोकेर आफू सिंहदरबार छिर्ने बताए । ‘खानेपानीको समस्या छ, उपपप्रधानमन्त्रीमार्फत् म केन्द्रीय सरकारलाई सुनाउन चाहन्छु, यसपालि माघ ८ गते म थोत्र्रे गाग्री लिएर आउँदैछु, मन्त्रीज्यूलाई थोत्र्रे गाग्रीसहित भेट्नुपरो अलि प्रभाव पर्छ कि ।’
सप्तकोशीको पानी ल्याउनका लागि आफू लागिपरेको तर अढाइ वर्ष बित्न लागेपनि अध्ययन मात्रै भइरहेको उनको भनाइ थियो । उपप्रधानमन्त्री आफैंले नि यसमा चासो लिएर मागको सम्बोधन गरिनुपर्ने उनको भनाइ थियो । उनले धरानमा हाइवेको मापदण्ड ७२ फुट राख्नुपर्ने र कार्यपालिकाबाट नै पास गराइएको तर केन्द्रीय सरकारले चासो नदिएको उनले बताए ।
उपप्रधानमन्त्री सिंहले भने यसबारेमा केही सम्बोधन गरेनन् ।
मेयर साम्पाङले धरानलाई व्यापारिक केन्द्र बनाउने उद्देश्यले यस्ता मेला र प्रदर्शनीहरूलाई निरन्तरता दिन उपमहानगरपालिकाले सधैं साथ दिने बताएका छन् । ‘आर्थिक चलायमान बनाउन एक्स्पो मात्र नभई विभिन्न कार्यक्रम गर्नुपर्छ, र हामी त्यसमा साथ दिन तयार छौं,’ उनले भने ।
सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले आर्थिक मन्दीको समयमा यस्ता गतिविधिले उद्योग–व्यवसायमा सकारात्मक प्रभाव पार्ने बताए । उनले भने, ‘हामीले एक्स्पो अर्थतन्त्र चलायमान गराउन आयोजना गरेका हौं। बजारमा माग घटेको, उद्योग क्षेत्र धरमराएको अवस्थामा एक्स्पोले आर्थिक सुधारमा टेवा पुरयाउनेछ ।’
निवर्तमान मेयर तिलक राईले एक्स्पोलाई धरानको एक ब्रान्डका रूपमा स्थापित गर्न सफल भएको भन्दै आयोजकलाई बधाई दिए । ‘यो तेस्रो संस्करण हो, र यसले धरानका उद्यमीहरूलाई ठूलो सहयोग पुरयाएको छ,’ उनले भने, ‘यहाँ सस्तोमा गुणस्तरीय सामग्री पाइनुका साथै स्थानीय उत्पादनलाई प्रोत्साहन मिल्छ । सबैले सहभागिता जनाएर सफल बनाउनुपर्छ ।’
एक्स्पोमा करिब एक सय पचासवटा स्टलहरू छन् । यी स्टलहरूमा घरेलु उत्पादन, उपभोग्य सामग्री, लत्ताकपडा, इलेक्ट्रोनिक्स, र स्थानीय उत्पादनहरू बिक्रीका लागि राखिएका छन् भने मनोरञ्जनका लागि विशेषतः रोटेपिङ, ड्रागन ट्रेन, बालबालिकाका खेल सामग्रीहरू, र साँझ सांस्कृतिक कार्यक्रमको व्यवस्था गरिएको छ । दिउँसोको समयमा विद्यार्थीहरूले आफ्नो परिचयपत्र देखाएर रोटेपिङ र अन्य मनोरञ्जनात्मक खेलमा विशेष छुट पाउनेछन् । साँझ ५ बजेपछि प्रवेश शुल्क लाग्ने व्यवस्था गरिएको छ ।
एक्स्पो माघ ५ गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोमा आज राष्ट्रिय कलाकार इन्द्रकला राईको प्रस्तुति रहनेछ । उनले आफ्ना लोकप्रिय गीतहरू बार्दली, उडायो मन लगायतका अन्य थुप्रै हिट गीतहरू प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछिन् ।
तस्वीरहरूः हाम्रो कोशी आवाज

प्रकाशित मिति: पुष २५ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend