Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

निर्माणाधीन भेडेटार–रवि–राँके सडकमा खान, बस्न समस्या, घरबास सेवा सञ्चालनमा ल्याउने तयारी

हाम्रो कोशी आवाज
पुष २७ २०८१, शनिबार
निर्माणाधीन भेडेटार–रवि–राँके सडकमा खान, बस्न समस्या, घरबास सेवा सञ्चालनमा ल्याउने तयारी

धनकुटा: धनकुटाको चौबिसे गाउँपालिका–२ मुढेवास स्थित मगर जातिको एकल बसोबास भएको लाफा गाउँमा घरबास सेवा (होमस्टे) सञ्चालनमा ल्याउने कुरा चलेको धेरै बर्ष भयो । मगर जातिको बाहुल्य भएको तत्कालीन मुढेवास गाविसअन्तर्गत पर्ने यस लाफा गाउँमा अहिले एकल मगर जातिको मात्र ९५ घरधुरी रहेको छ । स्थानीय तहको पहिलो चुनाव पछि यस स्थान लक्षित गरेर होम स्टे सेवा सञ्चालन गर्ने योजनासँगै प्रदेश सरकारको सहयोगमा यहाँ मगर जातिको कला संस्कृतिको प्रवर्द्धन गर्न मगर जातिको सङ्ग्राहलय बनेको छ।
त्यस समय बनेको होम स्टे सेवाको योजना भने स्थानीयबासीको ब्यस्तताका कारण कुरामा मात्र सीमित हुनपुगेको पालिका अध्यक्ष राजकुमार लिम्बूले जानकारी दिए । उनले भने, ‘गत साल होम स्टे चलाउन तालिमको लागि बजेट छुट्यायौँ तर कसैले नभ्याएकाले काम नै गर्न सकिएन ।’ यस पटक भने जिल्ला घरेलु कार्यालय धनकुटासँग सहकार्य गरेर होम स्टे सेवाको तालिम सञ्चालन गर्न लागिएको लिम्बूले जानकारी दिए। लामो समयदेखि यस मगर बस्तिमा होम स्टे सञ्चालन गर्न खोजे पनि ब्यवसायिकरुपमा सञ्चालनमा आउन नसकेको स्थानीय पुजन मगरले पनि जानकारी दिए ।
निर्माणाधिन भेडेटार–रबी–राँके राजमार्गमा पर्ने यस क्षेत्रमा हुने बिभिन्न कार्यक्रममा खान र बस्न समस्या हुने देखिएकाले निकट भबिष्यमा होम स्टे सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए । यहाँका मगर जाति परम्परागतरुपमा कृषि पेशामा आवद्ध रहिआएको र कृषिबाटै मनग्य आमदानी हुने भएकाले यसतर्फ ध्यान नदिँदा होम स्टे सञ्चालन चर्चामा सीमित रहेको अर्का स्थानीय अमृत देव थापाको भनाइ छ । ‘योजनावद्ध होम स्टे नचलाए पनि यहाँ बस्न आउने पाहुनाहरुलाई सबैले घरमा लगेर राख्ने गरेका छन्’, उनले भने ।
लेकाली क्षेत्रमा पर्ने यस गाउँमा खानेपानी अभाव भएपनि चिस्यान रहिरहने भएकाले बर्खे सिजनमा यहाँ कोपी र आलुको प्रसस्त मात्रमा खेती हुने गरेको छ । मगरका अनुसार यहाँका हरेक परिवारले कम मेहनेतबाट आग्र्यानिक तरकारी खेती गरेर वार्षिक तीनदेखि पाँच लाखसम्म सहजरुपमा कमाउने गरेका छन् । यसका साथै यहाँका प्रत्येक घरले कम्तिमा एकदेखि तीन वटासम्म उन्नत जातको गाईं, भैँसी, साथमा अनिवार्य बाख्रा, सुङ्गुर पाल्ने गरेका छन् । पहिला यहाँका मान्छे आलु लिएर अन्नसँग साट्न बेंसीतिर जाने गर्दथे । तर बिस्तारै सडक सञ्चालले गाउँ जोडिएपछि बजारसम्म किसानहरुको पहुँच पुग्न थाल्यो । चालिस ४० वर्षीया मगरले भनिन्, ‘अहिले त तरकारी बारीसम्म बाटो खनेर लगेको छ, ब्यपारि त्यही गाडी लगेर सब्जी उठाउँछन् ।’
यसरी धेरै दुःखबाट अहिले वार्षिकरुपमा सबैले मनग्य आमन्दानी गर्नेभएकाले यहाँका मगर समुदायमा वैदेशिक रोजगार, ब्यपार साथै घरबास सेवामा पनि तुरुन्त आकर्षित नभएको मगरको भनाइ छ । हिउँदभरी खेतबारी मलिलो बनाउन र बर्खामा खेती गर्न ब्यस्त भएकाले पनि अन्य क्षेत्रको स्वाद पाउन नसक्दा होम स्टे सञ्चालनमा नआएको तर अब भने विस्तारै सबैजना सञ्चालनको तरखरमा रहेको उनको भनाइ छ ।
यस ठाउँमा घरबास सेवा नितान्त आवस्यक भएपनि समुदायका मानिस अत्यन्तै ब्यस्त भएकाले होम स्टे सञ्चालनमा ढिलाई भएको गाउँबासी तथा पालिकाकी उपाध्यक्ष टंकमाया पाङ्मी मगरको पनि भनाइ छ ।होम स्टेमार्फत यहाँको पर्यटन बिकास तथा मगर जातिको संस्कृति प्रवर्द्धन गर्दै उनीहरुलाई आर्थिक उपार्जनको क्षेत्रमा पनि जोड्न सकिने भएकाले यहाँ घरबास सेवा सञ्चालन कार्यान्वयनको तयारीमा रहेको मगरले जानकारी दिइन् ।
‘होम स्टे सञ्चालन गर्न खेती किसानी नछाडि सँगसँगै गर्न सकिन्छ’, उनले भनिन्, ‘बरु त्यो सब्जी, दूध र मासु पनि यही बिक्छन् ।’ यहाँका मगर जातिको उत्थानका लागि सम्भावनाको बाटो देखाउन अति आवश्यक भएकाले अब सामूहिक वा ब्यक्तिगतरुपमा जसरी भए पनि घरबास सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिइन् । होम स्टे सञ्चालनमा आएमा यहाँ उत्पादित आग्र्यानिक कृषि उपज बेचबिखनको बजार थप बढेर जानेछ भन्ने कुरा सबैले बुझ्नुपर्ने उनको सुझाव छ ।

प्रकाशित मिति: पुष २७ २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend