धरान एक्स्पो–२०८१ मा ग्राहकहरूको उत्साह दिनप्रतिदिन बढ्दै गएको छ । विशेषगरी दिउँसोको समयमा ग्राहकहरूले किनमेलका लागि समय छुट्याउने भएकाले स्टलहरूमा भीड लाग्ने गरेको छ । स्टल संयोजक विष्णु बरालका अनुसार दिउँसोको समयमा किनमेल गर्न आउनेहरूको चाप बढी छ, जसले एक्सपोमा झन् उत्साह थपेको छ । उनका अनुसार अफरहरूको कारणले ग्राहकहरूलाई आकर्षित गर्न सजिलो भएको छ, र यसले एक्सपोको माहोललाई झन् उत्सवमय बनाएको छ ।
एक्स्पोमा रहेको नेपालकै प्रख्यात ब्रान्ड क्यालिबर सुजको स्टलमा भने विशेष अफरले सबैको ध्यान खिचेको छ । यहाँ एक हजार रुपैयाँदेखि दुई हजार रुपैयाँसम्म जुत्ता किन्न पाइने अफर छ । स्टक क्लियरेन्सको उद्देश्यले राखिएको यो अफर सीमित समयका लागि भएकाले ग्राहकहरू उत्साहित छन् । क्यालिबरका प्रतिनिधिले यो अफरले ग्राहकहरूको अपेक्षालाई पूरा गर्दै गुणस्तरीय जुत्ता कम मूल्यमा उपलब्ध गराएको बताए ।
संखुवासभाको शुद्ध सख्खरको स्टलमा पनि ग्राहकहरूको उल्लेखनीय चहलपहल देखिन्छ । यहाँ जैविक उत्पादन रुचाउने ग्राहकहरूको उत्साहले स्टललाई व्यस्त बनाएको छ । त्यस्तै, सुपर जुमको साबुज सरफमा पनि बम्पर अफरको कारणले ग्राहकहरू आकर्षित भएका छन् । स्टलहरूमा उपलब्ध अफर र उत्पादनको गुणस्तरका कारण धेरैले आफ्नो आवश्यकता अनुसार सामान किन्न पाएको अनुभव बाँडेका छन् ।
ग्राहकहरूका लागि यो एक्सपो एउटा विशेष अवसर बनेको छ । विभिन्न उत्पादनमा राखिएका अफरहरूले मात्र होइन, स्टलहरूमा प्रदर्शन गरिएका उत्पादनहरूको विविधताले पनि उनीहरूलाई उत्साहित बनाएको छ । बाहिरी बजारभन्दा सस्तो मूल्यमा गुणस्तरीय सामान किन्न पाउँदा ग्राहकहरू अत्यन्तै सन्तुष्ट छन् ।
पुस २५ गतेदेखि सुरु भएको यो एक्स्पो माघ ५ गतेसम्म चल्नेछ । १४२ वटा स्टलमा नेपाल, भारत, बंगलादेश, र पाकिस्तानका उत्पादनहरू प्रदर्शनमा छन् । आयोजकका अनुसार, यसपटक एक्सपोमा १० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ । स्थानीय उत्पादन प्रवद्र्धन गर्न र ग्राहकलाई सबै सेवा तथा सामान एकै ठाउँमा उपलब्ध गराउन यो एक्सपोले महत्वपूर्ण भूमिका खेलेको आयोजकहरूले बताएका छन् । यसले स्थानीय व्यवसायलाई सक्रिय बनाउनुका साथै ग्राहकलाई सुविधा दिने माध्यम बनेर सबैको प्रशंसा कमाइरहेको छ ।
धरान एक्स्पोले अफर र मनोरञ्जनको मिश्रणमार्फत् ग्राहकहरूको मन जित्न सफल भएको छ । साँझपख २ सय तिरेपछि चलेका कलाकारमार्फत भरपुर मनोरन्जन लिन सकिन्छ । यसअघि पनि चर्चित कलाकारहरू धरान आइसकेका छन् । अझै चर्चित कलाकारहरु ल्याइने आयोजकले जनाएको छ ।