Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान उपमहानगरपालिकाको आफ्नै गीतको रचना सार्वजनिक

हाम्रो कोशी आवाज
माघ ४ २०८१, शुक्रबार
धरान उपमहानगरपालिकाको आफ्नै गीतको रचना सार्वजनिक

इटहरीकी टिका आत्रेयको उत्कृष्ट रचना

धरानः धरान उपमहानगरपालिकाले आफ्नो पालिका गान सार्वजनिक गरेको छ ।
उपमहानगरपालिकाको शुक्रबार बिहान बसेको कार्यपालिका बैठकमा लाहाछाप लगाएर पठाइएको रचना सार्वजनिक गरिएको हो । सो गानको संगीत भर्न भने बाँकी छ । गीतमार्फत् सो रचना सार्वजनिक गर्ने तयारी भइरहेको जनाइएको छ ।
चार महिनाअघि बसेको कार्यपालिका बैठकले पालिका गानका लागि विभिन्न सर्जकबाट शब्द रचना माग गरेको थियो । यसरी आवेदन गरिएको मागका आधारमा १८ सर्जकले पालिका गान छनौटका लागि आफ्नो शब्द रचना दर्ता गराएका थिए । विज्ञ समिति बनाएर सो रचनाको छनौट भएको हो ।
छनौटमा परेका रचनामध्ये इटहरीकी टिका आत्रेयले लेखेको शब्द रचना उत्कृष्ट बन्न सफल भएको छ । उनलाई ३५ हजार नगदसहित सम्मान गरिने भएको छ ।
यस्तै, उत्कृष्ट रचनामा मध्यपुर ठिमीका अनिल पौडेल, धरान–१९ का सविन राई, धरान–११ का सञ्जय राई, भक्तपुर चाँगुनारायणका राजकुमार श्रेष्ठलगायतको रचना उत्कृष्ट ५ मा परेको थियो । उनीहरूलाई र विज्ञ समितिलाई क्रमशः ५ हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय भएको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले जानकारी दिए ।
गानका लागि प्रा.डा. टंकप्रसाद न्यौपानेको संयोजकत्वमा पालिका गान छनौट विज्ञ समिति गठन गरिएको थियो ।
पालिका गान यसप्रकार रहेको छः
धरान हो ऐेतिहासिक प्रकृतिकी रानी
शिक्षा, स्वास्थ्य, आवासीय पर्यटनको धनी

श्रमिकको पसिनाले चम्किएको माटो
पहाड र तराईलाई जोड्ने मूल बाटो

सबै जात, भाषा, धर्म–संस्कृतिको घर
एकतामा गाँसिएको विश्वासको भर

व्यापारिक नगर हो सेवा भाव राखी
अतिथिलाई मान्ने गर्छ आफूभन्दा माथि

सर्वधर्म समभाव मानिएको धाम
युगौंयुग फैलिरहोस् धरानको नाम

प्रकाशित मिति: माघ ४ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend